ताप्लेजुङ गोल्डकपः सिरहा फाइनलमा

फुङलिङ। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको आज भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश फुटबल क्लब सिरहा फाइनलमा प्रवेश गरेको छ। चार–दुई गोलअन्तरले बिर्तामोड फुटबल क्लब झापालाई पछि पार्दै सिरहा फाइनलमा प्रवेश गरेको हो।
खेलको १८औँ मिनेटमा सहलेश फुटबल क्लबका खेलाडी जुना ग्लोरीले पहिलो गोल गरेका थिए । त्यस्तै प्रतिरक्षाका लागि खेल सुरु भएको ५६औँ मिनेटमा बिर्तामोड क्लबका खेलाडी सञ्जय सुब्बाले गोल गरेसँगै खेल बराबर भएको थियो।
निर्धारित समयमा बराबर भएपछि १५ मिनेट समय थप गरिएको थियो। थप समयमा पनि गोल हुन नसकेपछि पेनाल्टीमा ४–२ गोलअन्तरले सिरहा फाइनलमा प्रवेश गरेको हो। सिराहाका खेलाडी जय गुरुङ, आदित्य शाक्य, सन्तोष खत्री र प्रवेश दनुवारले गोल गरेका थिए। त्यस्तै झापाका खेलाडी प्रदीप भण्डारी र रोहन कार्कीले मात्र गोल गर्दा खेल सिरहाको पक्षमा भएको थियो।
झापाले विभागीय टिम त्रिभुवन आर्मीलाई र सिरहाले पाँचथरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्। शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ। सोमबार मोरङसँग फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन्।
विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
Facebook Comment