कविता : छोरालाई उपदेश

राज्यलक्ष्मी खतिवडा
९ भदौ २०८१ ११:४०

जुवा तास र रण्डीबाजीहरुमा लाग्दै नलाग्नु रति

धुम्रपान र जाँड रक्सी मदिरा सेवन नगर्नु कति

संगत सज्जनको गरेर रहनु मिल्ने छ शिक्षा अति

जस्तै मूर्ख भए पनि ज्ञान मिले सुध्रन्छ त्यसको मति

शेखी गर्नु हुँदैन बुझ्नु यी कुरा शान्त स्वभावको हुनु

आमा बुबा र मान्यजन गुरुको अर्ती मनैमा लिनु

विद्या पढ्नु बहुत भएर चतुरो साथमा गुरुको रही

विद्या हाँसिल गर्नु पर्छ दुःख पिर संकष्ट सारा सही

बुद्धि विद्या र सिप जाँगर भए मिल्नेछ इज्जत बरु

बुझ्नु विद्या ठुलो छ आज भवमा अति म धेर के गरुँ ?

धन जनमा रुपमा र सिपहरुमा मै पो ठूलो हुँ भनी

बलको यौवनको देखाउनु रवाफ हुँदैन कहिल्यै पनि

नाम कीर्ति र सुवास तिम्रो यो विश्वमा फैलियोस्

शिरीषको फूल भै शेखी सबै औइलियोस्

पहिलो शत्रु त बुझ्नु मुख्य ऋण हो मान्नु बहुतै डर

मान्यजनसँग सोध काम पर्दा सोचेर गर्ने गर

आमा, बुबा पराई झै सम्झिने डर भर नमान्ने रति

आफै आफ भई घमण्ड गर्दा बिग्रन्छ कुलको गति

सज्जनको उपदेश लिएर गर्नु काम ठूलो गर्नु परे

मर्यादा सब तोडी काम गर्दा मिल्ने छ धोका भरे

अर्कालाई नपार्नु चोट मुटुमा मिठो अमृत घोलनु

लाल्चा गर्न हुँदैन पर स्त्रीहरुमा सद्भावले बोलनु

अर्काको धनमा नगर्नु रति आश लोभ लाल्चा छोडि दिनु

तिम्रो हित हुने म गर्छु उपदेश अर्ति मनैमा लिनु

विद्या, सिप गुण धर्म र जाँगर भए चल्नेछ कीर्ति ठूलो

यो पाँच गुणमा सुसम्पन्न भए हुनेछन् शत्रु धुलो

विवाह गर्दा कन्या हेरि लिनु बेस कुल घरानकी

शिर होस् चन्द्र समान मुख हँसिलो बोली रसिलो अति

घोप्टो शिर रिसाही कर्कशा लोभी बोली र रुखो अति

त्यसता कन्या विवाह नगर्नु गरेमा नासिन्छ धन सम्पत्ति

पहिले हेरि बिचारी गर्नु विवाह ती हुन जीवनकी शखी

यी हुन जानि लिनु जीवन सहचारी हेला नगर्नु पछि

एक रथका दुई पाङ्ग्रा हुन नारी चल्दैन एक्लै घर

त्यसैले बुझी मर्म स्त्री पुरुषले सत्प्रेम गर्ने गर

धेरै दुःख भए पनि बुझी लिनु हुँदैन है आत्तिनु

महिमा सम्पत्ति सुख ऐश्वर्य छ भनि हुँदैन है मात्तिनु

यो जीवन दुई दिनको बुझी लिनु झुटो छ संसार अति

यस्तै हो भवको गति पवन हो वर्णन गरुँ धेर कति?

धेरै खर्च नगर्नु हौसिइ म मा कम छैन केही भनि

दुई दिनको अभिमानले बुझी लिनु नासिन्छ भाग्यै पनि

जसले दिन्छ गुनेर भित्र मनमा जो ज्ञानका छन कुरा

सारा कार्य सफल हुनेछ बुझ्नु पुग्ने छ इच्छा पूरा

फुट्नु हुन्न कदापी भाइ बहिनी फुटे जोरी हाँस्तछन्

आपसमा झगडा यदि भयो भने सारा ती काम नास्तछन

मन मुटाव नराख्नु भाइहरुमा त्रुटी भए केही कुरा

छलफल गर्नु मिलेर आपसमा हुने छ काम पूरा

अहँकारी नबन्नु बाबु कहिल्यै स्वाभिमानी भै रहनु

राख्नु ख्याल पुरुषत्वको जीवभनर कल्याणकारी हुनु

साधु सन्तलाई नगर्नु अपमान सत्कार गर्ने गर

लिनु ज्ञान महात्मासँग किर्ती रहोस अमर

किर्ती फैलिरहोस् विश्व भरिनै ज्ञानी ध्रुवैका सरी

झुटो हो नर देह यो बुझि लिनु जानु छ एक दिन मरी

जे आई पर्छ उ काम फत्ते गर्नु फेर धैर्यशाली बनी

सत्यको विजय त पर्खिरहनु हुनेछ निश्चयै पनि ।

सुन्दरहरैंचा–६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *