महामन्त्रीद्वयको प्रतिवेदनले तनावमा देउवा
काठमाडौं। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवदेनले तनावमा परेका कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग आज छलफल गर्दैछन्।
पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले थापा र शर्मालाई आज बुढानीलकण्ठमा बोलाएका हुन्।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने प्रस्ताव राखेका थिए। गठबन्धन गर्दा कांग्रेस कमजोर हुँदै गएको उनको दाबी थियो।
थापाको प्रस्तावमा गठबन्धनको विषय उल्लेख नभए पनि देउवा पक्षीय नेताहरूले चुनावी तालमेल रणनीतिक विषय भएकाले अहिले निर्णय गर्न आवश्यक नरहेको अडान लिँदै आएका छन्।
अर्का महामन्त्री शर्माले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेका थिए।
महामन्त्रीद्वयको प्रस्तावमा पार्टी केन्द्रीय समितिमा ब्यापक छलफल भइरहेको छ। देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणाले केन्द्रीय समितिमा महामन्त्री शर्माको प्रस्तावमाथि ठाडो आलोचना गरेकी थिइन्।
महामन्त्री शर्माले अगाडि सारेको एक्जिट पोलिसी लागू भएका पार्टी सभापति देउवा अब प्रधानमन्त्री बन्न पाउने छैनन्। यसअघि पाँचौ पटक प्रधानमन्त्री भइसकेका देउवा अब २३ महिनापछि प्रधानमन्त्री बन्ने लाइनमा छन्।
एमाले र कांग्रेसबीच भएको पाँच बुँदे सहमतिमा २ वर्षपछि देउवालाई प्रधानमन्त्री बनाउने उल्लेख छ।
१५औं महाधिवेशन कार्यतालिका बनाएर जाने र चुनावअघि कसैसँग पनि गठबन्धन नगर्ने विषय महामन्त्री थापाको प्रतिवेदनमा समावेश छ।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिमा पहिलो दुई वर्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने सहमति छ।
कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो। विधानअनुसार चार वर्षमा अर्को महाधिवेशन गर्नुपर्ने हुन्छ। महामन्त्री थापाले २०८२ मंसिरमा १५औं महाधिवेशन गर्ने प्रस्ताव गत फागुनमा भएको महासमिति बैठकमै पेस गरेका थिए।
कांग्रेस विधानअनुसार १५औँ महाधिवेशनमा देउवा सभापति उठ्न पाउने छैनन्। कांग्रेसको विधानले दुईपटक मात्रै सभापति बन्न मिल्ने व्यवस्था गरेको छ। कांग्रेसको १५औँ महाधिवेशनले शेरबहादुर देउवा बाहेकलाई सभापति बनाउने निश्चित छ।
आफूबाहेक अर्कै व्यक्ति पार्टी सभापति भएको खण्डमा २०८३ असार ३० गतेपछि आफूलाई प्रधानमन्त्री बनाउने हो कि होइन भन्नेमा देउवा नै द्विविधामा रहने हुँदा प्रधानमन्त्री नबनुन्जेल महाधिवेशन नगराउने संस्थापनइतर समूहको बुझाइ छ। कांग्रेस सभापति देउवा पाँचपटक प्रधानमन्त्री भइसक्नु भएको छ। छैटौँ पटकका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेका छन्।
आज बुढानिलकण्डमा हुने छलफलमा महामन्त्रीद्वयसहित उपसभापति धनराज गुरुङ र पूर्णबहादुर खड्कालाई पनि बोलाइएको छ।
तर सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्माले महासमिति हुँदै केन्द्रीय समितिमा पेस गरेका प्रस्तावका कतिपय विषयहरूमा मध्यमार्गी बाटो खोजेर सहमतिमै केन्द्रीय समितिबाट पारित गर्ने तयारी गरेका छन्।
केन्द्रीय समिति बैठकमा महासमितिबाट आएका प्रस्तावहरू अनुमोदन गर्ने एजेण्डा राखिएको थियो। महामन्त्रीद्वय थापा र शर्माका प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन्। पार्टी पदाधिकारीहरूले भने प्रस्तावमाथि बोल्न बाँकी छ।
केन्द्रीय समितिको बैठक यही भदौ १२ गते बुधबार अपराहृन ३ बजेका लागि बोलाइएको छ। उक्त बैठकअघि नै सभापति देउवा महामन्त्रीद्वयका प्रस्तावका कतिपय विषयमा मध्यमार्गी बाटो खोजेर केन्द्रीय समितिबाट सर्वसम्मत पारित गर्ने प्रयासमा लागेका छन्।
दुई महामन्त्रीले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित गर्ने गरी छलफल गर्न देउवाले बैठक बोलाएको निकट स्रोतको भनाइ छ।
Facebook Comment