बीसीसीआई सचिव जय शाह आईसीसीको अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा निर्वाचित भएका छन् । यस पदमा जय शाह निर्विरोध निर्वाचित भएका हुन् ।
आईसीसी अध्यक्षको रूपमा जय शाहको कार्यकाल डिसेम्बर १, २०२४ देखि सुरु हुनेछ। न्यूजिल्याण्डका वर्तमान आईसीसी अध्यक्ष ग्रेग बार्कलेको कार्यकाल नोभेम्बर ३० मा सकिँदैछ ।
बार्कलेले यो पद लगातार दोस्रो पटक सम्हालेका हुन् । तर भर्खरै उनले तेस्रो कार्यकालका लागि दौडमा सहभागी नहुने बताएका थिए । ३५ वर्षीय जय शाह आईसीसीको सबैभन्दा कान्छो अध्यक्ष बन्ने भएका छन् ।
जय शाहले एक विज्ञप्तिमा भनेका छन्, “म आईसीसी टोली र सदस्य राष्ट्रहरूसँग क्रिकेटलाई विश्वभर फैलाउन प्रतिबद्ध छु।” जय शाह आईसीसीको शीर्ष स्थानमा पुग्ने पाँचौं भारतीय हुन्।
यसअघि जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरले पनि यो पदमा काम गरिसकेका छन्।
जय शाह अक्टोबर २०१९ मा बीसीसीआईको सचिव बने । उनी २०२२ मा फेरि यो पदमा निर्वाचित भएका थिए। उनको कार्यकाल २०२५ सम्मको छ तर आईसीसीको जिम्मेवारी सम्हाल्ने बित्तिकै उनले बीसीसीआईको पद छोड्नुपर्नेछ ।
Facebook Comment