संग्रह गर्ने बानीदेखि पुँजीवादसम्म

कृष्ण बोहरा
१३ भदौ २०८१ १०:१७

संग्रह या बचत मानिसको जिन्दगीको ज्यादै राम्रो पक्ष हो। यो भविष्यको आधार पनि हो। जो संग्रह गर्न जान्दैन उसको जीवन पनि सुरक्षित छैन भन्न सकिन्छ। मानिसले मुद्राको आबिष्कार हुनुअघि कुनैबेला पशुहरूको संग्रह गर्दथे।

यो पशुपालन युगको कुरा थियो। खेतिपातीको युग सुरु भइसकेपछि अन्नको संग्रह गर्ने चलन चल्यो। बेदमा पनि व्यापार व्यवसायको कुरा उल्लेख छ। जसअनुसार मानिसहरु त्यतिबेला धान, चामल, भेडा, बाख्रा, गाई, गधा, सुन आदिको सट्टापट्टा गर्थे। यसबाट बुझ्न सकिन्छ की त्यसबेला यी चिजहरुको संग्रह हुन्थ्यो।

जोसँग पशुहरु धेरै छ, जोसँग अन्न धेरै छ, जोसँग जमिन धेरै छ, जोसँंग सुन धेरै छ, उही धनी कहलिन्थ्यो। धनीको समाजमा इज्जत प्रतिष्ठा पनि धेरै हुने भयो। यसले गर्दा मानिसहरुले कसरी धनी बन्ने भन्ने कुरा मात्र सोच्न थाले।

सामान्य परिश्रमबाट मात्र यो सम्भव छैन भन्ने मानिसले बुझ्न थाले। यसको लागि सोझा साझालाई ठग्न पनि थाले। सोझो औँलाले घिउ आउँदैन भन्ने उखान सायद त्यसैबेला बनेको हो। जमिन र अन्य सम्पत्ति हडप्नेदेखि सोझालाई सित्तैमा काम लगाउँनेसम्म गर्न थाले। बाठाहरूले जमिनमा काम गर्न दासहरु पनि राख्न थाले।

यसरी संंग्रह गर्ने मानिसको बानीसँगै शोषण प्रधान समाजको सुरुवात र बर्गीय समाजको आरम्भ पनि सँगसँगै भएको देखिन्छ। हामीले अफ्रिकी देशहरूबाट काला जातिहरूलाई अमेरिकनहरुले जबरजस्ती समातेर काममा लगाउने गरेको इतिहास पढ्न पाउँछौं।

त्यतिखेर भीषण युद्ध पनि हुन्थ्यो। युद्धमा हार्ने पक्षलाई पनि यसैगरी दासको रूपमा काममा लगाइन्थ्यो। संसारका ठूला आश्चर्य मध्येको चीनको ठूलो पर्खाल, भारतको ताजमहल, मिश्रको पिरामिडहरु त्यसैबेला बनेका हुन्। यस्तै त्यस्तै अरुले सजिलै नसक्ने कामहरु दासहरूलाई कोर्रा हानि हानि लगाइन्थ्यो।

त्यसो भएता पनि दास व्यवस्थाले नै मानव श्रमलाई समाजको आधार बनायो। मानव सभ्यताको सम्पूर्ण आधारको जग नै दास व्यवस्थाले हालेको थियो भन्न सकिन्छ। यसैको जगमा उभिएर नै मानव सभ्यताको विकास हुन सुरु गरेको हो। युनानी सभ्यता, कला र बिज्ञान दास व्यवस्थाकै कारण सम्भव भएको हो।

रोमन साम्राज्यको अस्थित्व पनि दास व्यवस्थाकै कारण हो। रोमन साम्राज्यले यसको जग नहालेको भए आधुनिक युरोप पनि हुने कुरै थिएन। जसरी पनि दासहरूले गह्रुँगा र अत्यधिक बल प्रयोग गर्नुपर्ने काम सम्पन्न गर्नै पर्दथ्यो। यसै गरी विश्वभरी दास प्रथा लामो समयसम्म चल्यो।

यस्तो प्रथाको उन्मुलन सजिलैसँग भएको हैन। संसारमा दास बिद्रोहका भयानक कथाहरु छन्। मानिसमा आएको सचेतना र बिद्रोह नै दासहरूको मुक्तिको कसी बनेको कुरा विश्वको इतिहासबाट प्रष्ट हुन्छ। हाम्रै मूलुकमा पनि दास प्रथा धेरै पछिसम्म थियो। राणा शासक चन्द्र समशेरकाे पालामा दास प्रथाको उन्मुलन भएको हो।

यो एउटा युग परिवर्तनको सुरुवात मात्र हो। मान्छेले मान्छेको सोषण गर्ने चलनको अन्त्य भएको भने होइन। कुलिन तथा सामन्तहरूको जमिनमा निरीह मानिसहरुले भोकभोकै काम गर्नुपर्ने बाध्यता आउन थाल्यो। मानिसहरु कसैका निजी दास त हुनु परेन अब।

तर, बाच्न र खानको लागि जमिन्दारकोमा आश्रित हुनुपर्‍याे। किनकी जमिन काम गर्नेसँग हुँदैनथ्यो। जमिनमा काम गर्नेको अबस्था दयनीय थियो। उसले काम गरिदिएको सट्टा पाउने अन्नले उसको परिवार र बालबच्चाको प्राण बचाउन धौ धौ हुन्थ्यो।

काम गरिखाने र उसका जहान बालबच्चा सधै ख्याउटे र मरनच्यासे हुनुपर्ने अवस्था कायमै थियो। यही बृहत सामन्तबादी समाजमा सिद्धार्थ गौतमको पनि जन्म भएको हो। त्यतिखेर उनका मावलाका खेतमा हजार हल गोरुले एकै दिन खेत जोत्दथे। राजा शुद्धोधन पनि कुनै कमी हुने कुरा भएन। राजा शुद्धोधनको ससुरालीसँग द्वेष थियो। यो कुरा बालक सिद्धार्थलाई मन परेको थिएन।

बुवाको तौर तरिका र मावलीसँगको द्वेषले पनि उनी जीबनदेखि बिरक्तिएर ज्ञानको खोजीमा हिँडेका हुन्। एकातिर धनी बन्ने प्रतिष्प्रधा र लडाई कलह झगडा अर्कातिर गरीबिको दूरावस्था देखेर नै सिद्धार्थमा प्रश्न माथि प्रश्न उब्जिएको थियो।

मानिसले कसरी सुख पाउन सक्छ? दुःखका कारण के के हुन? दुःखबाट मुक्ति मिल्न सक्छ की वा सक्दैन? उनीसँग गम्भीर र अहम महत्वका प्रश्नहरु थिए। जे होस् मानिसले यो युगमा आएर बढीभन्दा बढी जमिन बटुली जग्गा जोडेर जमिन्दार र भूमिपति भै अरूमाथि हैकम जमाउने सोख पालेको देखिन्छ।

यसको लागि भूमीपतिले जेसुकै कर्म गर्न पनि पछि पर्दैन थिए। मानिस सबै एउटै प्रकृति र स्वभावका भने हुँदैनन्। समाजका बेथिती र बिकृति अनि गरी खानेहरूका अवस्थामा परिवर्तन ल्याउन के के गर्न सकिन्छ भनेर बेला-बेला कतिपय मानिसहरूले सोच्ने र प्रयत्न गर्ने पनि गर्दै आएको इतिहासहरु छन्।

यसैलाई पछिका मानिसहरूले धर्मको रूपमा ब्याख्या गरेका हुन्। त्यसो त धर्म आफैं पनि त्यसबेलाको समाजलाई व्यवस्थित बनाउन बनेका नीति नियमहरु हुन्। समाज वर्गिय भएका कारणले यसले कुनै एउटा वर्गको अत्यधिक बढी हित हुने नियमहरु बन्नु स्वभाविक पनि हो।

जे जसो भएता पनि सामन्तबादी सामाजिक व्यवस्थाले सामाजिक कामको प्रकृतिलाई त्पादन बढाउन भूमिका खेलेको थियो। अनेक पेशाका मानिसहरूलाई विविध नाम र जातमा वर्गीकरण गरी काममा दक्षता र गुणस्तरीयता ल्याउन जोड दिएको पाइन्छ। जस्तै, जुत्ता सिलाउने सार्की, कपडा सिलाउने दमाई, कर्मकाण्ड गर्ने ब्राहम्ण, युद्ध मैदानमा खट्ने क्षेत्री, लोहाको काम गर्ने लोहार आदि।

यस्तै नेवारी समाजमा पनि यो अझै परिष्कृत र विभिन्न वर्गीकृत रुपमा भएको पाइन्छ। जस्तै खेतीको काम गर्ने ज्यापू, चित्र लेख्ने चित्रकार, मासुको काम गर्ने कसाई, लुगा धुने धोबी, छालाको काम गर्ने चर्मकार आदि। काठमाडौं उपत्यकामा विविध व्यवसायाका मानिसहरु बस्ने गर्दथे।

कुटिर उद्योग र व्यापार पनि यहाँ निकै फस्टाएको थियो त्यतीबेला। यसैले हुनुपर्छ पेशा र जातको विविधता हुने गरी राजा जयस्थिति मल्लले समाजलाई वर्गीकरण गरेको कुरा इतिहासबाट प्रष्टिन्छ। सुरुमा यो पेशा अनुसारको नाम दिएको भएता पनि कालान्तरमा यो जातको रुपमा रूपान्तरण भएको हो। यस ब्यबस्थाले समाजलाई उन्नत र ब्यबसायिक बनाउन निकै मद्दत गरेको थियो।

बिस्तारै मानब समाजमा खेतीपातीको साथसाथै उद्योग धन्दातिर पनि दिलचस्पी बढ्दै गयो। यसको कारण हो मानिसलाई खाएर मात्र पुग्दैन। शरीर ढाक्ने पोशाकको पनि आवश्यकता पर्‍याे।

पकाउन खानकालागि भाडाकुँडाको आवश्यकता पर्‍याे। यस्तै घर बनाउन चाहिने सामाग्रीहरुको आवश्यकता भयो। यी कुराहरूमा पनि विभिन्न डिजाइन र रूपको सामानको सोख बढ्दै जान थालेपछि त्यही रूपमा उत्पादन गर्ने उद्योगहरु स्थापना हुन थाले।

सुरुमा घरेलु र कुटिर उद्योगको रुपमा यो उत्पादन हुन सुरु भएको हो। समयको माग अनुुसार यो आधुनिक रूपमा विकास हुँदै गएको देखिन्छ। सबैभन्दा मूख्य कुरो त मानिसको धन कमाउने चिन्तन र बचत या संग्रह गर्ने बानीको विकासँंगै यी सब हुदै आएको कुरा प्रष्ट हुन्छ।

मुद्राको आबिष्कार हुनु अघि पनि हाम्रो बैदिक समाजमा भने निष्क नाम गरेको सुनको टुक्राबाट काम चलाइन्थ्यो। बिश्वमा उद्याेग धन्दाको विकास हुनु पूर्व मूद्राको आविष्कार पनि भइसकेकै थियो।

सबैभन्दा पहिले औद्योेगिक क्रान्ति भएको मुलुक बेलायत हो। सत्रौ शताब्दीबाट यो शुरु भयो। सुरुमा जनशक्ति वा बायु शक्तिबाट पनि मेसिनहरु चलाइन्थ्यो। पछि १७६९ इ.स.मा जेम्स वाटले बाष्प शक्तिबाट मेसिन चलाउने बिधि पत्ता लगाए। यसैगरी बिजुलीको आविष्कारले त औद्योगिक क्रान्तीलाई ज्यादै बल पुग्न गयो।

मालसामानहरु प्रशस्त उत्पादन हुन थाले। स्थानीयको मागभन्दा अत्याधिक र सस्तो रूपमा मालहरु उत्पादन हुन थाल्यो। यसपछि विभिन्न देशमा बजारको खोजी हुन सुरु भयो। सामान ढुवानी गर्न मोटर बाटोले मात्र धान्न सकेन। यसले गर्दा रेल यातायात र जल यातायातको विकास भयो। बेलायतको सामान संसार भर पुग्न थाल्यो।

यसपछि अमेरिका र फ्रान्स जस्ता देशहरुले पनि यसको सिको गरे। पुँजी प्रसस्त मात्रामा जम्मा भयो। ठूलो पुँजी जम्मा भएकाले एकातीर पुँजीपति वर्गको जन्म भयो भने अर्कोतिर मजदुर वर्गको जन्म भयो। दुई सम्पन्न र विपन्न वर्गमा समाज रूपान्तरण भयो। मजदूरहरुको अबस्था ज्यादै नाजुक थियो। पहिलेका कालिगढ र कुटिर उध्योग चलाउनेहरु विस्थापित भइसकेका थिए।

कृषि मजदुर र ससाना उद्योगीहरु बेरोजगार भएका कारण पुँजीपतिको मिलमा काम गर्न जानुको विकल्प थिएन। मजदुरहरूलाई कसरी हुन्छ कम ज्याला दिएर बढीभन्दा बढी काम लगाउनु पुँजीपतीहरूको दैनिकी थियो। यसो गर्दा बढीभन्दा बढी नाफा निस्कने उसको हिसाव हुन्थ्यो।

यसैले कामदारहरूको दूरावस्थामा पुँजीपतिको मन पग्लदैनथ्यो। मजदुर र मिल दुबै पुँजीपतिका निजी सम्पति भएका थिए। तर, मजदुर वर्गको उत्थानको लागि कुनै सिद्धान्त प्रतिबादन भएको थिएन। तैपनि मजदुर वर्गको समस्याका खातिर विरोध हड्ताल र बिद्रोह बेलाबखत भइरहेकै थिए। यसमा उद्धार दिलका पुँजीपतीहरूको पनि समर्थन रहेको थियो।

माल्थस नामका पुँजीबादी अर्थशास्त्रीले भनेका छन्। पुँजीपतीले धेरै धन कमाएर मजदुर वर्ग गरिब भएका हैनन्। प्राकृतिक नियम अनुसार जती जीविकाको साधन बढ्छ त्योभन्दा बढी जनसंख्या बढ्दै जान्छ।

मजदुरहरूको नराम्रो अवस्थाको दोषी उनीहरु आफैं हुन्। किनकी उनीहरु पनि किन बढी सन्तान जन्माउने गर्छन त? त्यस बखतका संसद सरकार सबै मजदुरको हैन पुँजीपतीका पक्षेपोषण गर्दथे।

यो समयमा पुँजीपतीहरूमा पुँजीजम्मा गर्ने सोख यती बढ्यो की संसार भरका मानिसहरूको शोषण दमन गर्दा पनि यो पुँजी भोगको लालसा र तृष्णाले पुँजीपति वर्ग तृप्त हुन सकेन।

तर, मजदुर वर्ग बहुसंख्यक जनता चाहेर पनि पुँजी संकलन गर्न सक्तैन थिए। कारण एउटै थियो उत्पादन गर्ने साधनहरु उनीहरुको स्वामित्वमा थिएन। यसका बावजुद भित्र भित्रै पुँजीपती वर्ग कमजाेर र मजदुर वर्ग बलशाली रूपमा अगाडि आइरहेको थियो।

यसको कारण हो पुँजीपती वर्ग संख्याको हिसाबले ज्यादै सानो घेरामा साँघुरिरहेको थियो। मजदुर बर्गको भने घेरा ज्यादै ठुलो बनीरहेको थियो। ठुला औद्योगिक शहरहरूमा गाँउ गाउँबाट कामको खोजीमा मानिसहरु थुप्रिइरहेका थिए।

मजदुर वर्गलाई शोषण गरेर थुपारेको धन या मार्क्सको भाषामा भन्ने हो भने मजदुरहरूलाई बढी काम लगाएर जम्मा भएको अतिरिक्त मूल्यकै कारण पुँजीपती वर्गको आयु छोटिइरहेको थियो।

यसरी जंगली युगबाट मानिसहरु खेतीपातीको युगमा प्रवेश नगर्दैदेखि बध्यताले मानिसहरुले सिकेको संग्रह गर्ने बानीले विविध वर्गमा समाजलाई विभाजन गर्दै समाज आधुनिक रूपमा आइपुगेको देखिन्छ। बाठा टाठा या धनीमानीको स्वामित्वमा उत्पादनका सारा सामानहरु थुप्रिएको देखिन्छ।

उत्पादनका साधनहरु धनी र पुँजीपतीहरूको हातमा भएपनि त्यो सबै जुटाइदिने श्रेय चाहिँ श्रमिक वर्गकै देन हो। यसैले उत्पादक शक्तिको रूपमा सधैं श्रमिक वर्ग नै देखा पर्दै आएका छन्।

यसैले उत्पादन सम्बन्धको रूपमा देखा परेका धनीमानी या पुँजीपती र उत्पादक शक्तिको रूपमा श्रमिक वर्गको संघर्षको कथानै आजसम्मको संसारको ज्ञानवर्धक इतिहास पनि हो। यसैले संग्रह या बचत मानिसले कती गर्ने? यसले समाजलाई के दियो भन्ने कुराको ख्याल नगरी गरिएको असिमित संग्रह नै समश्याका कारण पनि हुन्।

यसको व्यवस्थापनका लागि संसारमा निकै ठूला ठूला क्रान्ति पनि भए। तर पनि क्रान्तिले उचित सामाधान दिन सफल नभएको देखिन्छ। यसैले यस विषयमा मानिसले धेरै सोच बिचार र सामाजिक अनुसन्धान तथा प्रयोग गर्नुपर्ने आवश्यकता अझै खड्केको महसुस हुन आएको छ। वास्तवमा श्रम सम्पति र सत्ताको सन्तुलन नहुनु आज सम्म संसारमा हुँदै आएको समस्या र संघर्षपूर्ण इतिहासको कारक हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *