एकीकृत समाजवादीमा अन्तर्घात : ‘अवसरवादी’भुसाल सर्वसम्मत, समर्पित झाक्री अस्वीकृत

शरद रिजाल
१२ भदौ २०८१ १२:४७

काठमाडौं। आज भन्दा करिब तीन वर्ष अघि तत्कालीन एमालेको वरिष्ठ नेता रहेका माधव नेपालको हात समाएर निर्वाचन आयोगमा नयाँ दल गठन गर्न हौसाएकी रामकुमारी झाक्री पार्टी उपाध्यक्षमा पराजित भएकी छिन्।

२०७८ भदौ २ गते निर्वाचन आयोगमा एमालेबाट विभाजित गरी नयाँ दल दर्ता गर्न माधव नेपाललाई हात समाएर भित्र लगेकी झाँक्री अहिले पार्टीमा आफैं अनुमोदित हुन सकिनन्। उनी पार्टीकै केन्द्रीय सदस्यको रोजाइमा नै पर्न सकिनन्।

उनको उतारचढावयुक्त राजनीतिक यात्रामा यो निकै नमिठो क्षणका रुपमा चर्चा गरिएको छ । एमालेबाट विद्रोह गर्दा प्रमुख भूमिका खेलेकी झाँक्री अहिले पार्टी भित्रै अलोकप्रिय बन्न पुगेकी छिन्।

उनलाई मंगलबार भएको पार्टीको आन्तरिक निर्वाचनमा मतदाताका रुपमा रहेका केन्द्रीय सदस्यहरुले नै झाँक्रीलाई अस्वीकृत गर्दै जयन्ती कुमारी राईलाई निर्वाचित गराए। राईको जितमा अध्यक्ष नेपालको प्रमुख भूमिका रहेको बताइन्छ।

हरेक आन्दोलनको समयमा सडक बाघको उपमा पाएकी झाक्री नेपाली राजनीतिमा कठोर वक्ताका रुपमा आफूलाई उभ्याएकी थिइन्। प्रस्ट ढंगले आक्रामक शैलीमा आफ्ना विषय सार्वजनिक रुपमा प्रकट गर्ने झाक्री एमाले निकट विद्यार्थी संगठनको अध्यक्ष समेत भएकी हुन्।

सो समयमा युवा विद्यार्थी माझ चर्चामा रहेकी उनी दोस्रो जनआन्दोलन ताका सडकमा प्रहरीसँग भिड्न अग्रमोर्चामा उपस्थित हुने गर्दथिन्।अहिले उनै झाँक्री विद्यार्थीकालीन राजनीतिक विरासत भने धान्न सकेकी छैनन्। तत्कालीन उनको प्रभाव पार्टी विभाजित भएर एकीकृत समाजवादीमा लागेपछि राजनीतिक व्यक्तित्व विस्तारै धुमिलिँदै गएको छ।

नेपालको राजनीतिमा एक समय चर्चामा रहेका नेताहरु समयक्रममै किनाराकृत हुँदै गएका छन् । सोही नियति झाक्रीको हकमा पनि दोहोरिएको छ।

एमाले विभाजित भएर नयाँ दल बनाएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। मन्त्रीको पूर्वनिर्धारित पदावधि अनुरुप उनले छोटो समयमै मन्त्री पद छाड्नु परेको थियो। तर पद छाड्दा भने उनले रुवाबासी नै गरिन।

त्यस बखत अश्रुधारा बगाएर मन्त्रालयबाट बाहिरिएकी उनमा व्याप्त पदमोहको निकै आलोचना भएको थियो। म्यादी मन्त्रीबाट बाहिरिँदाको पीडा भावुक भएर अश्रुधारा बगाएकी उनलाई पदप्रतिको आशक्तिका रुपमा चित्रण गर्दै आलोचित बनेकी थिइन्।

उनै झाक्रीलाई महाधिवेशन सकिएको दुई महिना पछि पार्टीको पदाधिकारी चयन गर्न मंगलबार गरिएको आन्तरिक निर्वाचनमा  अन्तरघात गरेर हराइएको छ।

तर, यही पार्टीमा अर्को रोचक पक्ष के देखिएको छ भने पार्टी निर्माणमा प्रमुख भूमिका खेलेकी झाक्रीलाई पार्टी नेतृत्वले योजनाबद्धरुपमा हराएर पार्टी विभाजनको समयमा माधव नेपालको आलोचना गर्दै एमालेमा बसेका घनश्याम भुसाललाई भने सबैले महासचिवमा स्वीकार गरेका छन्।

भुसाल एमाले विभाजनको समयमा पार्टी विभाजन गर्नु उचित नभएको भन्दै एमालेमै रहेका थिए। माधव नेपाल पक्षीय उनी लगायत दश जना नेताहरुलाई एमाले भित्र दशभाइका नामले परिचित समेत थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दशबुँदे सहमति गरेर बसेका दशभाइ मध्ये भीम रावल भूमिकाविहीन भएका छन् भने त्यस मध्ये भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

उनको एकीकृत समाजवादीमा प्रवेश पनि निकै अवसरवादी तवरले भएको थियो।प्रवेश लगत्तै उनलाई महासचिवको जिम्मेवारी दिइएको थियो।

त्यतिमात्रै होइन, भर्खरै सम्पन्न दशौं महाधिवेशनबाट समेत उनलाई सर्वसम्मत महासचिव बनाइएको छ। महासचिव भुसाल सहित तीन पदाधिकारी मात्रै चयन गर्न सफल भएको उक्त महाधिवेशनले मंगलबारमात्रै अन्य पदाधिकारी निर्वाचनको माध्यमबाट चयन गरेको हो।

यही पार्टीको आन्तरिक निर्वाचनमा झाँक्रीले ११२ मत लिएर केन्द्रीय सदस्यबाट उपाध्यक्षका लागि अस्वीकृत हुन पुगिन् भने उनलाई पार्टी नेतृ जयन्ती कुमारी राईले १९९ मतसहित पराजित गरिन्।

झाक्रीको पराजयमा अध्यक्ष नेपालले प्रमुख भूमिका खेलेको पार्टीका नेता कार्यकर्ताहरुले आरोप लगाएका छन्। उनले झाक्रीलाई हराउन मतदाताका रुपमा रहेका केन्द्रीय सदस्यहरुलाई लिखित सर्कुलर नै जारी गरेको पार्टी सम्बद्ध स्रोत बताउँछ।

पार्टीको आन्तरिक निर्वाचनमा पराजित हुनु भनेको नेता कार्यकर्ताबाट अस्वीकृत हुनु हो । नेपालमा टिके प्रणाली नभएर पार्टीभित्र स्वस्थकर आन्तरिक लोकतन्त्र हुने हो भने यसरी पराजित नेताले चुनावमा टिकट समेत पाउँदैनन्, पाउनु हुँदैन।

झाक्री गत निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनको साथ पाएर गुल्मी २ बाट आफ्नै पूर्वसहकर्मी गोकण बिष्टसँग पराजित भएकी उनी पार्टीको आन्तरिक निर्वाचनमा पनि पराजिय व्यहोरेकी छिन्।

यस पटक पार्टी विभाजित गर्न प्रमुख भूमिका खेलेकी झाँक्री पार्टीका केन्द्रीय सदस्यबाटै अस्वीकृत हुँदा पार्टी विभाजनलाई दुत्कार्ने भुसाल भने सर्वसम्मत रुपमा महासचिवमा पुनः अनुमोदित भए।

अझैं भुसाल त झन् पार्टी अध्यक्षकै आकांक्षी थिए। एमालेको राजनीतिक स्वामित्व लिँदै एकीकृत समाजवादीले हालै सम्पन्न गरेको दशौं महाधिवेशनमा अध्यक्षको दाबी गरेका थिए।

यद्यपि महत्वकांक्षी स्वभावका भुसाल अध्यक्ष बन्न निकै लालायित भएर अधिक कसरतका बाबजुद पनि उनी अध्यक्ष बन्न सफल नभए पनि महासचिवमा भने निरन्तरता पाएका छन्।

गत निर्वाचनमा एमालेबाट टिकट नपाएर रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएका उनलाई तत्कालीन कांग्रेस माओवादी गठबन्धनको समर्थन थियो। गठबन्धनको समर्थन पाएर पनि आफ्नै सहकर्मी छविलाल विश्वकर्मासँग भुसाल पराजित भएका हुन्।

एमाले भएर पार्टीकै उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका उनी पराजित भएपछि माधव नेपालको एकीकृत समाजवादीमा प्रवशे गरेका हुन्। प्रवेश लगत्तै पुरस्कृत गर्दै उनलाई कम्युनिष्ट पार्टीको महत्वपूर्ण र कार्यकारी भूमिका सहितको महासचिव पद दिइएको थियो।

तर, यही पार्टी निर्माणमा प्रमुख भूमिका खेलेकी झाक्री भने आफ्नै पार्टीका अध्यक्षको योजनाबद्ध  अन्तर्घातले पराजित भएर उपाध्यक्ष बन्न असमर्थ भएकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *