क्यानडाले विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार उनको सरकारले देशमा कम पारिश्रमिक लिने र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउने घोषणा गरेका छन् ।
उनले अब क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय भएको बताए ।
जस्टिन ट्रुडोले सामाजिक सञ्जाल पोस्टमार्फत यो जानकारी दिएका हुन् । अहिले श्रम बजारमा परिवर्तन आएको उनको भनाइ छ ।
“हामी क्यानाडामा आउने कम ज्याला, अस्थायी विदेशी कामदारहरूको संख्या घटाउँदैछौं। श्रम बजार परिवर्तन भएको छ। अब हाम्रो व्यवसायहरूले क्यानाडाली कामदार र युवाहरूमा लगानी गर्ने समय हो,” ट्रूडोले ट्विटरमा पोस्ट गरे।
क्यानडा बढ्दो जनसंख्याको समस्यासँग जुधिरहेको बेला यो कदम चालिएको हो । यो समस्याले आवास र स्वास्थ्य सेवा जस्ता सार्वजनिक सेवामा दबाब परेको अर्थविद्हरू बताउँछन् ।
संघीय तथ्याङ्कका अनुसार गत वर्ष क्यानाडाको जनसंख्या बृद्धि हुनुको सबैभन्दा ठूलो कारण अध्यागमन थियो।
ट्रुडो र उनको सरकार देशमा सेवा र आवास निर्माण जस्ता सुविधाहरू नबढाई अध्यागमनलाई बढावा दिएकोमा आलोचना भइरहेको छ।
जबकि पछिल्लो दुई महिनामा क्यानडाको बेरोजगारी दर बढेर ६.४ प्रतिशत पुगेको छ । यसको अर्थ देशभर करिब १४ लाख मानिस बेरोजगार छन् ।
Facebook Comment