कथा : चेतावनी

प्रकाशचन्द्र खतिवडा
१५ भदौ २०८१ ६:४१

“किन रोएको भाइ? के पीर पर्‍यो तिमीलाई?” मेरो आवाज सुनेर ऊ सतर्क हुन्छ। पुलुक्क मेरो मुख तिर हेर्छ। ओठ कमाउँदै केही भन्न खोज्छ। तर भन्न सक्दैन र हिक्क हिक्क गर्छ।

करिब १०/११ वर्षको केटा हो उ। म उसको अनुहारलाई नियालेर हेर्छु। अनुहार नियास्रो छ। आखाँका डीलहरु सुन्निएका छन्। ओठ लगलग काँपी रहेका छन्। आँखीभुइँ पुरै खुम्चिएको छ। ऊ आतंकित र शसंकित देखिन्छ।

उसको अनुहार भरि डर त्रास र शंकाका रेखाहरु दौडिरहेका छन्। मानौँ ऊ यन्त्रवत मानिस हो र बोल्नै सक्दैन।
“भनन, भन। के भयो ? मसँग त डराउनु पर्दैन नि। सर्प गरुडसँग डराए जस्तो। म पनि तिम्रो दु ःखमा साथ दिन सक्छु कि? हेर मलाई त मान्छे रोएको पटक्कै मन पर्दैन।” भन्दै म मेरा हातहरुले उसको टाउको सुम्सुम्याउँछु।

उ लामो सास फेर्छ र हिक्क हिक्क गर्दै बोल्ने क्रम अगाडि बढाउदैँ भन्छ, “दा……..दा, दाइ।” “बोल बोल।”म सान्त्वना दिँदै बोल्छु। “मलाई वकिलले कुट्यो।” “वकिल! को हो त्यो वकिल?” मैले प्रश्न गरें। “अंँ वकिल। ऊ मेरो मालिक हो। उसले मलाई कुट्यो। घरबाट निकाल्यो। मेरा थोत्रे थात्री लुगा कपडा सबै फालि दियो। बिहानदेखि भोकै छु। यसैले म …………………।” भन्दै भक्कानियो।

“भोकै?” मैले भने। म भित्रको आस्था र पीडाले छटपटाउन थाल्छु। मुटु चिसो हुन्छ। सम्पूर्ण शरीरलाई एउटा अदृष्य शक्तिले किचे जस्तो महसुस हुन्छ। आकाश तिर हेर्छु। आकाश मौन छ। वरिपरि हेर्छु। डाँडाकाँडा सुनसान छन्। उसलाई हेर्छु। ऊ रोइरहेकै छ। र मलाई अनुभव हुन्छ। एउटा असह्य पीडा दुःखी रहेको छ। जहाँ वकिलको कुकृत्यको स्पष्ट दुर्गती झल्की रहेको छ।

ऊ आँटमा टुक्रुक्क बसेको छ। म आँगनमा ठिंग उभ्भिएको छु। मेरा नजर सामु विभिन्न दृष्य झुल्कन्छन्। र एउटा अनौठो दृष्यले मलाई पिरोल्छ। एउटा सिंह मस्तसँग घुरिरहेको छ। जंगल पातलै भएपनि क्षेत्र फराकिलो नै देखिन्छ। जंगलमा विभिन्न जनावरहरु पनि देखिन्छन्। केही जनावरहरु सिंहका डरले भयभित छन्।

एउटा मृग आफ्ना बच्चालाई ओडारमा छाडेर चर्नको लागि निस्कन्छ। सिंह जुरुक्क उठ्छ। ङुर,ङुर एक्कासी मृग माथि झम्टन्छ नङ्ग्राउँछ। चिथोर्छ। लुच्छ र रगत पिएर फर्कन्छ। एउटा मृगको विभत्स मृत्यु देखेपछि दृष्य बन्द हुन्छ। म झस्कन्छु। यताउति हेर्छु। ऊ टुक्रुक्क बसिरहेकै हुन्छ।

यो उसको गाउँ, ठाउँ हैन। ऊ बसिरहेको आँट उसको हैन। म उसको चिन जान मान्छे पनि हैन। घट्ना घटेछ। ऊ रुँदै आयो। रोइरहेछ। म देखिरहेछु। म घटना कोट्याइ्हेछु। र उसको विषयमा वकालत गर्ने दृढ विश्वास लिएको छु। न कि म वकिल। तर बेला मैकामा वकालत गर्न बाध्य हुनु पर्दो रहेछ। म अनुसन्धान सुरु गर्छु।

“भाइ” म उसलाई बोलाउँछु। ऊ झसंग झस्कन्छ र बोल्छ “हजुर।” “ वकिलले किन कुट्यो त तिमीलाई?” म उसको शारीरिक तथा मानसिक पीडालाई घच्घच्याउँछु। ऊ निराश हुँदै भन्छ “विन्ती छ दाइ! वकिलको कुरा नसोध्नोस्। यसरी सुनाएको थाहा पायो भने मलाई खोजी खोजी पिट्ने छ।” उसको स्वर काँपेको हुन्छ।

म ढाडस दिँदै भन्छु ,“भाइ यसरी कुरा लुकाएर हुँदैन। कतिन्जेल लुकाउँछौ? न कुट्नु कुटी हाल्यो। अब डराएर के हुन्छ र? घरबाट निकाली त हाल्यो। उसको चरित्र जोगाएर तिमीलाई फाइदा नै के छ र? जे जे भएको हो फटाफट भन। अब डराउनु पर्दैन। तिम्रो लागि म छु। तिमीले पिटाइ खानु पर्दैन। को आउँछ कुट्न, पिट्न र धुत्न? म तह लगाइदिन्छु बुझेउ। आज त्यो घटना भनेनौ भने तिमी जवान भएपछि पश्चातापमा पर्ने छौ। मेरो मतलव तिमीले त्यो घटना भन्नै पर्छ। अनि सोच्न सकिन्छ। के गर्ने? के नगर्ने? मनमा कुरा नराख भाइ।’’

ऊ शान्त्वनाका शब्दहरु सुनेर फेरि एकपटक लामो सास फेर्छ र थ्याच्च बस्छ। “साँच्चै भनूँ त दाइ तर …………….।” “के तर?” “तर यो कुरा अरु कसैलाई पनि नसुनाउनु होला ल दाइ।” “किन नसुनाउनु?” “मलाई धेरै डर लागेको छ अनि। ” म सम्झन्छु। डर साँचिकै अनौठो बस्तु रहेछ। डरले गर्दा आफ्नो घर पनि छोड्नु पर्छ भन्थे, हो कि के हो? तर त्यसो होइन। हामी डर छेरुवा छौं र त यस्तो दुर्गती भोग्नु परिरहेको छ। त्यस माथि पनि यी गरिब केटाहरुको मनस्थिति नै डरले संकुचित बनाइएको हुन्छ।

दुर्वल मानसिकता को परीणाम आफूलाई लुटाएर खोक्रो बाँचेका हुन्छन्। उनीहरुलाई के थाहा? हामी रित्तिएका छौं र खोक्रिएका छौं। एक गाँस खान पाउनु नै उनीहरु अहोभाग्य सम्झन्छन। त्यही एक गाँस पनि टुटेको दिन के हुन्छ? बिचरा गरिब केटाहरु के हुन्छन्? मृत्यु वा अर्को कुनै विकल्प? यी गरिब केटाहरु को भाग्य चोइटिँदै र उछिट्टिँदै गरिरहेछन्। अहो! यो स्थिति कहिलेसम्म टाँगिदै जाने हो? समय तिमीले बताउन सक्दैनौं?

“दाइ किन टोलाउनु भएको?” मेरो सोचाइ भताभुंग हुन्छ। “मलाई पनि डर लाग्दैछ त्यसैले।” “यत्रो लाठे मान्छेलाई पनि डर लाग्छ र?” उ हेलचेक्र्याँइ तथा आश्चर्य चकित भएर बोल्छ। “लाग्छ नि भाइ! हेर म आफू आफै बाँच्ने अभ्यासमा डराइरहेको छु। तिमी तिम्रै बाँच्ने अभ्यासमा डराइ रहेका छौ। मुसो पनि बाँच्ने अभ्यासमा बिरालोदेखि डराइ रहेछ। परेवा पनि बाँच्ने अभ्यासमा बाजदेखि डराइ रहेछ। सर्पदेखि भ्यागुतो पनि डराइ रहेछ। जीवन डर र संघर्षका परीणाम हो भाइ। जो कोही पनि एकदेखि अर्काेसँग डराइरहेछन्।’’ मैले उसलाई बेलिविस्तार लगाएँ।

उसले मेरो कुरा बुझ्यो या बुझेन। तर मुन्टो हल्लाउन भने छोडेन। यसको मतलव उसले केही बुझ्यो र केही बुझेन। बुझेरै पनि ऊ के गर्न सक्छ र? ऊ यहाँ असहाय छ। उसको गुनासो कसले सुन्छ? उसको दु :खेसो कस्ले बुझ्छ? “दाइ!” म झस्कन्छ्ु “किन? डर लाग्दै छ तिमीलाई?” म उसको अनुहारमा हेरेर बोेल्छु। “हैन, अब भनूँ है त।” ऊ जुरुक्क उठ्छ। “भन, भन।” म उसको हात समात्न पुग्छु। ऊ एक चोटी ख्वाक्क खोक्छ र घाँटी खुकुलो पार्दै स्वर निकाल्छ। म घटना सुन्न उत्सुक हुन्छु।

ऊ घटना विवरण यसरी सुनाउँछ:  “भोजपुर बजारमा प्रत्येक शनिबार हाट लाग्ने गर्छ। वरपरका मान्छेहरु चामल, मकै, कोदो र साग–सब्जी बेच्न लिएर आउँछन्। बजारका पसलेहरु र जागिरेहरु हप्ता भरिलाई पुग्ने सामान किन्ने गर्छन्। म पनि साग–सब्जी किन्न यो हाट आउने जाने गर्छु। दाइलाई थाहा नै छैन। मेरो घर यहाँ हैन। मेरी आमा पनि छैनन्। म टुहुरो हूँ। मेरा बाबु पैसा कमाउन काम खोज्दै धरान तिर गएका छन्। मलाई पढ्ने रहर छ दाइ। मलाई पढाउने लोभ देखाएर लगियो। तर त्यहाँ त म जस्ता थुप्रै केटाहरु यसरी नै लोभिएर जाँदा रहेछन् र पछि कुटाइ खाएर निक्लिँदा रहेछन्। म पनि त्यस्तै भएँ दाइ। आज शनिबार। मलाइ टमाटर किन्न पठाइयो। म बजार आएँ। धेरै ठाउँ घुमे। तर कहीँ पनि टमाटर फेला पार्न सकिन। बल्ल बल्ल एक ठाउँमा भेटेँ। तर ज्यादै महंगो। हिँड्ने बेलाको बाक्य सम्झेँ, ए! टमाटर लिएर मात्रै आउनु। नत्र। म महँगै भए पनि टमाटर लिएर आदेश बमोजिम फर्किए। तर …………….। तर म उल्टै त्यहाँबाट निकालिएँ। मेरो गाँस खोसियो। मेरो बास खोसियो। म भोकै छु दाइ भोकै। टमाटर महंगो भयो रे। कुहिएको भयो रे। मेरो बाउले कमाएको सम्पति हैन रे। अर्काको बाउको श्राद्ध खान बसेको रे। अचानक मेरो गालामा थप्पडहरु बर्से। मैले खप्न सकिनँ। म चिच्याउँन थालें। आमा, आमा। तर मेरी आमा आउनु भएन र झन् झन् आमालाई सम्झँदै रुन थाले। रुदाँरुदै मेरो थोत्रे थात्री लुगा कपडा आँगन भरी छरिए। म त्यहाँबाट लखेटिएँ र अहिले गरुँगो मन लिएर यहाँ आइ पुगेको छु दाइ।” उसले आँखाबाट बरबरती आँसु खसाल्दै घटना समाप्त गर्‍यो।

म घोरिएर सोच्छु। यति सानो कुरामा पनि उसको गाँस र बास खोसिएछ। बिचरा के जान्दथ्यो र? एक चोटीलाई माफ दिएकै भए पनि त हुन्थ्यो। कस्तो विवेकहीन मान्छे रहेछ वकिल? अब मलाई अनौठो जोस आएको छ कि यी गरिब केटाहरु भेला पारेर वकिलको ढोका नेर जाउँ र चिच्याउँ “वकिल साहेव! बाहिर निस्क। तिमीसँग केही हिसाब किताब गर्नु छ। तिम्रो सामन्त्याँई प्रवृत्ति कहिलेसम्म? तिमी मानव कि दानव। तिम्रो न्याय प्रणाली यही हो त? के वकालत गर्छाै वकील साहेब? जाबो एउटा बच्चालाई न्याय दिन नसक्नेले।”

सुन्दरहरैंचा-६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *