कविता : पारौं उज्यालो नेपाललाई

राज्यलक्ष्मी खतिवडा
१५ भदौ २०८१ ७:२७

आयो वसन्त फूल फूल्दछ जगमगाई
पारौं उज्यालो अब देश नेपाललाई

बेली, चमेली, करवीर र जाई फूलेको
त्यही फूलका रसमा भमरा झुलेको

ल्यायौं प्रजातन्त्र भनेर ढुक्क
हुँदैन बस्न अब उठ्नु पर्‍याे जुरुक्क

वास्ना दिए फूलहरु सब जगमगाई
पारौं उज्यालो अब देश नेपाललाई

लम्कौं अगाडि अब उन्नति गर्नलाई
गर्ने पर्‍याे पौरख धेर पसिना बगाई

जो गर्छ आफ्नो अरुको नलिएर पक्ष
हुनेछ देश विकासमा सुरक्षा

उठौं नेपाली वीर धर्तीहरु जगमगाई
पारौं उज्यालो अब देश नेपाललाई

नारी पुरुषहरु मिलेर निर्धक्क साथ
विकासको पथमा त मिलाई हात

विन्ती अब म गर्छु दिदी र दाजुभाइ
देखाउ बाटो अब सुमार्गको हामीलाई

आकाश जगमग भयो ताराहरु उदाई
उठाउँ माथि अब देश नेपाललाई

शिक्षा विना कसरी नारी बढ्नु अगाडि
ग्रामिण क्षेत्रहरुमा यही छ दुःख भारी

विद्या पढेर अब बढ्नु पर्‍याे अगाडि
हुँदैन पर्न केही गरी पछाडि

बाँचौं नेपाली वीर शान्तिमा रमाई
बढाउँ माथि अब देश नेपाललाई

हुँदैन बस्न रति अन्धकारमा भुलेर
छमछम गरी अघि बढौं फूल झै फूलेर

रिसराग केही मनमा रतिभर नराखी
निर्धक्क होउ तिमी सदैव विकास माथि

यो शान्तिको फूल गमक्क सधैं फूलाई
उठाउँ माथि अब देश नेपाललाई

उठौं युवा युवती आज खुल्ला छ रस्ता
राखौ विकास तिर ध्यान मिलोस् व्यवस्था

नेपाली वीरहरु हो आज खुल्ला छ छाती
हुँदैन बस्न अब भोलि भनि कदापि

झुल्क्यौ रवि तिमी उषासँग जगमगाई
उठाउँ माथि अब देश नेपाललाई

कालो मैलो रति नराखेर देह आज
होस्टे हैंसे गरी मिलाएर साजबाज

निर्माणको पथमा आज अगाडि लम्की
साना ठूला सब उठौं बस्न हुँदैन गम्की

पाइलाहरु अघि बढाउनु छमछमाई
उठाउँ माथि अब देश नेपाललाई

जुट्नु पर्‍याे सब मिलेर विकासमा
लाग्नु हुँदैन कहिल्यै छलछाममा

नेपाली हो सब मिलेर फुटाउँ मूल
क्षमा म पाउँ कहीँ त्रुटी छ कहीँ भूल

हिमाल भै सब बनौं अब जगमगाई
उठाउँ माथि अब देश नेपाललाई

त्यो ज्यानको बली दिए रगतै बगाइ
कहिल्यै नबिर्स युग युग शहीदलाई

कति मरे जनता आज पिएर गोली
आजै उठौं समय यो पर्खन्न भोलि

विगुलको भ्याली नगराहरु सब बजाई
उठाउँ माथि अब देश नेपाललाई

लिएर अक्षता फूलपातीहरु दुनामा
गाउँ र घरघर घुमेर कुना कुनामा

आएर आज दिनु पर्दछ मूल शिक्षा
हाम्रो छ हाय दिनरात यही प्रतीक्षा

बिन्ती म गर्दछु सधैं गुरुहरुलाई
उठाउँ माथि अव देश नेपाललाई ।

दिदीबहिनी हे दाजुभाइ

नेपालमा प्रजातन्त्र आयो वल्लतल्ल
केहीकुरा बुझिदैन पर्‍याे अलमल्ल

स्वतन्त्रको महत्वनै बुझिँदैन केही
गाउँघर कुनाकानी दुःख लाग्छ यही

दिदीबहिनी हे दाजुभाइ उठौं हामी हातमा हात मिलाइ

जनआन्दोलनले यहाँ ल्यायो प्रजातन्त्र
विकासमा जुट्नु पर्‍याे यही हो मूलमन्त्र

नारी पुरुष सवैको हक हित जानी
मिलिजुली विकासमा बनौं सहभागी

दिदीबहिनी हे दाजुभाइ उठौ हामी विकास गर्नलाई

शहीदका रगतले मुछिएको माटो
दिदीबहिनी दाजुभाइ हिडौं एउटै बाटो

हामी सबै मिले पछि देश जगमाउँछ
यो देशको नामले अनि विश्व मगमगाउँछ

दिदीबहिनी हे दाजुभाइ उठौ हामी हातमा हात मिलाइ

नारी जाती अशिक्षाको कारणले गर्दा
छुटेन यो कहिले पनि अशान्तिको पर्दा

दिन रात डोको नाम्लो दाउरा घाँसको भारी
गर्ने पर्ने ति नारीले आत्मालाई मारी

दिदीबहिनी हे दाजुभाइ उठौ हामी विकास गर्नलाई

आँखा खोल नारी तिमी हेर वरपर
गाँउघर समाजको नमान है डर

घुम्टो ओढी बस्ने बेला छैन हेर आज
लेख्न, पढ्न, बोल्न, हिड्न नमान है लाज

दिदीबहिनी हे दाजुभाइ अघि बढौं विकास गर्नलाई

दाजुभाइ सवै पढदा हामी पनि पढौं
भविष्यको बात संगै अघि अघि बढौं

अन्धकारको पर्दा अव सवै हटाएर
दिदी बहिनी पढौं हामी दीप जलाएर

विन्ती छहै ए दाजु भाई विद्या देउ अशिक्षित हामीलाई

नबसौं है नारी जाति शिर झुकाएर
देशको निम्ति लड्छौं हामी छाती फुकाएर

बल्लतल्ल फूलेको कमलको फूल
कोपिलामै नटिपौ है टिपे हुन्छ भूल

दिदीबहिनी हे दाजुभाइ देशको विकास गरौं है रमाइ

इन्द्रकमल फूलको जस्तै चलाएर बास्ना
नेपालीले दुःखमा नै सिक्नु पर्छ हास्न

शहीदले बाजी जिते जीउज्यान थापी
भुल्नु हुन्न सहिदलाई हामीले कदापी

दिदीबहिनी हे दाजुभाइ भुल्नु हुन्न सहिदको रगतलाई

जंगलकी ए मुनिया बजाइ देउ बाजा
स्वतन्त्रको विगुल फुक्यो नेपालमा आज

सब मिली विकास गरौं खेती र कमाइ
बाँचौं हामी नेपालीहो जीवन भर रमाइ

दिदीबहिनी हे दाजुभाइ उठौ हामी हातमा हात मिलाइ

जनता मिले नेपाल यो हुन्छ छिट्टै भरी
नेपाल यो जगमगाउँछ चन्द्र सूर्य सरी

तारा जस्तै चम्कने छ यो नेपाल हेर
समयलाई विना काममा फाल्नु हुन्न खेर

दिदीबहिनी हे दाजुभाइ उठौ हामी हातमा हात मिलाइ

आश छ यो नेपाल चाडै फलोस् फुलोस्
नेपाल यो विजुलीझै धपधपी बलोस्

विषको घडा तोडीकन अमृत घडा भरौं
दुःखी गरिब किसानको इच्छा पूरा गरौं

दिदीबहिनी हे दाजुभाइ उठौ हामी हातमा हात मिलाइ

ठूलाबडाले बुझ्नु पर्छ गरिवको मर्म
आशा पुगोस् गरिवको यही हो ठूलो धर्म

गरिवलाई गाँस बास दिनु पर्छ शिक्षा
नेपाली भै कोहि पनि नमागौ है भिक्षा

दिदीबहिनी हे दाजुभाइ विकास गरौ दिल हाम्रो मिलाइ

आफ्नो धर्म बचाएर गरौं हामी काम
नेपाली भै नेपालको थाम्नु पर्छ नाम

तिमी हामी एक हौं फुट्नु हुन्न आज
भाइ फुटे विकासमा पर्छ धेरै बाधा

दिदीबहिनी हे दाजुभाइ विकास गरौ हातमा हात मिलाइ

नेपाल हाम्रो सानो देश रमाइलो फूलबारी
गोडीमेलि राखौं हामी लौ चिटिक्क पारी

फूलेकोछ नेपालमा सप्तरंगी फूल
नेपाल आमा ओढी दिन्छिन त्यो शान्तिको झुल

दिदीबहिनी हे दाजुभाइ अघि बढौं विकास गर्नलाई

सानाठूला सबै मिली जोगाएको देश
बैरी आइ लुट्न खोज्छन लिइ जोगीको भेष

गाँउघर जनता सवै बन्नु पर्यो चङ्ख
होहल्लामा नलागेर विकासमा लम्क

दिदीबहिनी हे दाजुभाइ अघि बढौं विकास गर्नलाई

लुटमार कुटपिटको छाडि देउ काम
शान्ति क्षेत्र नेपालमा चलाउँ सुनाम

नदीनाला खोला बग्छन् कलकल गरी
नेपालको वास्ना चलोस् कनकचम्पा सरी

दिदीबहिनी हे दाजुभाइ उठौ हामी हातमा हात मिलाइ

सुन्दरहरैंचा–६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *