शंकरप्रसाद रिजालका तीन कविता
जमाना
जमाना तरंग जस्तै, छाल झैं घोप्टी आउँछ
भत्केको मनमा फेरि, ठूलो क्षति पुर्याउँछ
सुखको चालमा रम्ने, जवानीको तरंगमा
दुखको अग्निमा जल्ने, भित्रैदेखि रुवाउने
हरेक पल मनमा, इच्छा फेरिन्छ दिन्दिन
हरेक चोटिनै फेरि, मन मर्छ किन किन
मन गुलाबको फूल, भुईंँमा झर्दछन् छिन
त्यही गुलाबको पात, फेरि पलाउँछन् किन
त्यही बिरुवा बन्दै, अगाडि माथि उठ्ने
फेरि लिई सासको प्राण, जमानासँग भिड्ने
उद्देश्य के लिन्छु, म मन भित्र ठूलो
आखिर लुकिहाल्छ, खोज्दछु कुन हो दुलो
सहारा छैन केही साथमा, एक्लै हिँड्ने मेरो गति
कहाँ हो कहाँ हो, त्यो मेरो मनको मति
कहाँ हो कहाँ मेरो जीवनको सहारा
नजरबाट गिर्दै जाने, जमानाको इशारा
तड्पी आँखमा आँसु, खसी झर्दछ भुईंमा
कहाँ गइ विलीन हुन्छ, यो आजको जमानामा
जमाना दिलको हाँसो, दुखको सुख सागर
अड्किन्छ घाँटीमा पासो, बन्दै जीवन जर्जर
प्रेम बालको जन्म, मनमै हराउने
जलेर प्रेमको जीवन, फेरि खरानी भैजाने
जमाना मन त यो पर्छ, छैन यसको डर
प्रेमको धमनीमा बस्दा पनि यसको के भर
जमाना जीतको होइन, होइन हारको पनि
जित हार नफा हानि, हो यो मेलको पनि
जमाना भाग्यको होइन, यो होइन अल्छिको पनि
जे छ कर्ममा नै छ जीवनको, फेरबदल हुने पनि
तृष्णा मनको प्यासी, यो सधैं छटपटाउँछ
तर मृत्युदेखि डराइ, उ सधैं हड्बडाउँछ
जमाना गोजीमा हुन्न, जमाना मनमा पनि
जमाना समय नै हो, यो हुन्छ कर्मको मुनि
जमानामा सबै डुबेका छन्, दुवै दुःख र सुखमा
तर म आफ्नै शरीरको रगत पिइ बसेको छु
आफ्नै जमानाको तरंगमा, आफ्नै जमानाको तरंगमा ।
सन्तोष
सन्तोष लिई मनमा को हिँडेको छ र?
दया, माया र ममता कसको दिलमा छ र?
प्रेम बन्धनको गाँठो कसले फुकाउँन सक्छ र?
लिएर मनमा द्वेषको सन्तोषी बन्न सक्छ र?
सूर्यको तापले होइन मानिस सन्तोषी बन्ने
शितल चन्द्रमाको छायाँमा नै मानिस संन्तोषी बनिने
सन्तोष शितको थोपा मुहार झल्ल देखिने
रिस राग नाफा हानि अनुहार तुच्छ देखिने
मायामा लागनु राम्रो मोहमा अलिकति
सन्तोष मनमा धेरै रिस थोरै नभएजति
लोभको दहमा सन्तोष रहँदैन कदापि नै
ईश्वरको मनमा बास बस्छ सन्तोषी झैं बनी
रिस मनको ज्वाला बल्छ आगो उठी उठी
सन्तोष मनको दियो बल्छ बत्ती बलेसरी
मनमा छैन केही द्वेष रिस राग केही पनि
त्यो पुजिन्छ लोकमा सधैं सन्तोषी बनी बनी
ईश्वर हाँसे जस्तो उही हाँस्छ जो सन्तोषी बनी
हेर लोकमा तिनको पूजा गरिन्छ गनी गनी
हेर लोकमा तिनको पूजा गरिन्छ गनी
देश परदेश, वितृष्णा र बिरानो
बगैंचामा फूल ओइलिए झैं नेपाली सब ओइलिए
भ्रमको शासनमा बल्झी सारा जनता बिदेसिए
रोजगार छैन यो देशमा नेताकै भर पोषण
भुईंमान्छे बनेका छन् झन् झनै कुपोषण
गाउँ रित्तिन थाल्यो है मलामी जाने छैन कोही
बिरामी कोही पर्दामा सहयोग गर्ने छैन कोही
गाउँ पहाड बाँजो भयो रित्तियो धानको खलो
बाढी पहिरो र कम्पले भो गाउँ स्यालको थलो
पचासौं बर्षदेखिको नेताको भ्रमको खेती
बिते कति पिता पुर्खा यिनैको आशमा बसी
लाज खोइ देशमा बस्ने नेताहरुको यो गति
सुध्रिएनन् कहिले नै सबै नेताहरुको मति
जनता सुखले बाच्ने त्यो समय कहाँ गयो
बनाउँछु भन्दा भन्दै सबैतिर भत्कियो
बिबेक मनमा छैन नेता कुनैमा पनि
बिकास गर्छु भनी हिँड्छन् भेटे जत्ति जुनै पनि
छैन जनको माया छ त आफ्नै परिवारको
के सुधार हुन्छ र यहाँ सबै बिकासको
तस्करै तस्करको देश बन्न गयो हरे शिव
नेता नेताकै जुधायीमा जनता बने कठैबर
सुनै सुनको काण्डले देश बन्ने भो सुनको खोर
त्यही खोरमा जाकिन्छन् एकदिन नपत्त्याउँदा चोर
यो देखेर आमा रुन्छिन आँसु बगाई धर धर
आँसु पुछ्ने कोही छैन च्याती चादर चर चर
रोकिन्न आँसु अब कसैको रोकिन्न पाइला पनि
देशप्रेमीको छातीमाथि जत्ति जाई लागेपनि
भ्रष्टाचार बन्यो देशको हात्ती जस्तो हुने गरी
नेतामा बुद्धिको खाँचो बिबेक शून्य भयो सधैं
गुतेका छन् नयाँ फेटा सधैं नयाँ अनुहार बनी
आगो भनी हिंड्दा धुँवा मुस्लो उठ्यो जसै
आँखा चिम्ली कता जाउँ सबैतिर धुँवा उतै
रोकिन्न मनको बेग सबैतिर फर्कँदा
रोकिन्न आँखको आँसु बगाइकन बस्दा
जुठो रछ्यानमा सबै नाक गनाउने
के गर्नु देशका नेता सबै धाक जमाउने
फूल झैं देश हाम्रो यो सारा उजाड भइसक्यो
यिनैको आशमा आज देश रित्तो बनिसक्यो
Facebook Comment