मलयालम फिल्म उद्योगमा हलचल, अध्यक्ष सुपरस्टार मोहनलालको राजीनामा, संघ विघटन

डिसी नेपाल
१३ भदौ २०८१ १५:४१

काठमाडौं । यतिबेला मलयालम फिल्म उद्योगमा महिलामाथि हुने यौन उत्पीडन र शोषणका घटनाका कारण हलचल मच्चिएको छ । उद्योगमा महिलाका समस्याबारे गठित हेमा समितिको प्रतिवेदन बाहिर आएपछि मलयालम सिनेमासँग आवद्ध महिला कलाकारहरू अगाडि आएर आफूसँग भएका घटनालाई सेयर गर्न थालेका छन् ।

यसै सन्दर्भमा चर्चामा आएकी अभिनेत्री मीनु कुरियनको मुद्दा अहिले ठूलो बनेको छ । एक फेसबुक पोस्टमा, मीनुले मलयालम उद्योगका केही कलाकार र प्राविधिकहरूलाई शारीरिक र मौखिक दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। अब उनले यस विषयमा कानुनी कारबाही पनि सुरु गरेकी छिन् ।

जानकारीका अनुसार मीनुले आफ्नो फेसबुक पोस्टमा आरोप लगाएका ७ जना विरुद्ध इमेलमार्फत यौन दुर्व्यवहारको उजुरी दिएकी छिन् । मलयालम अभिनेता-सीपीआईएम विधायक मुकेश, अभिनेता जयसूर्या र इदवेला बाबुको नाम पनि यसमा समावेश छ।

मलयालम सिनेमामा चलिरहेको हलचलसँगै मलयालम चलचित्र कलाकार संघ (एएमए) का सबै सदस्यहरूले राजीनामा दिएका छन्। जानकारीका अनुसार हेमा समितिको प्रतिवेदनपछि सञ्चालक समितिका केही सदस्यमाथि लागेका यौन दुर्व्यवहारको आरोपको नैतिक जिम्मेवारी लिँदै संघको सम्पूर्ण सञ्चालक समितिले राजीनामा दिएको छ । मलयालम सिनेमाका आइकन मोहनलाल यस संघका अध्यक्ष थिए र यसको १७ सदस्यीय कार्यकारी समिति थियो।

२ महिनाभित्र संघको महासमितिको बैठक बसेर नयाँ सञ्चालक चयन गरिने संघले जनाएको छ । एक विज्ञप्तिमा भनिएको छ, ‘हामी आशावादी छौं कि एएमएमएले नयाँ नेतृत्व पाउनेछ, जसले एएमएमएको गुमेको विश्वास पुनर्स्थापित गर्न र यसलाई बलियो बनाउन सक्ने क्षमता दिनेछ। आलोचना र मार्गदर्शनको लागि सबैलाई धन्यवाद।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *