सर्वोच्चको फैसला विरुद्ध प्रदर्शन

डिसी नेपाल
१६ भदौ २०८१ १०:३३

काठमाडौं। शनिबार साँझ काठमाडौंको कालिमाटीबाट गैरन्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समिति” को आयोजनामा जनप्रदर्शन गरिएको छ।

केही दिन अगाडि सर्वोच्च अदालतको डिभिजन वेन्चद्वारा पहिलादेखि नै खोलानदिको रहेको २० मीटरको मापदण्डलाई थप २० मिटर बढाएको छ।

जसअनुसार अब बागमती, विष्णुमतीलगायत खोलामा खोलाको छेउबाट दायाँबायाँ ४० मिटरसम्म कुनै पनि संरचना बनाउन नपाउने र भएका घर टहराहरु पनि हटाउनु पर्ने कार्यले लाखौं उपत्यकावासीहरुको उठिवास नै हुने अवस्था भएको भन्दै प्रदर्शन गरिएकाे हाे।

खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन, खोलानदीको मापदण्ड खारेज गर भन्ने नारासहित कालिमाटीबाट शुरु भएको जुलुस शोल्टीमोड हुँदै कुलेश्वर, कालिमाटी चोक हुँदै पुन: कालीमाटी चोकमा पुगी कोणसभामा परिणत भएको थियो।

पीडितहरुको संघर्षलाई ऐक्यबद्धता जनाउन पुगेका राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले यस आन्दोलनमा समर्थन जनाए र निश्कर्शमा नपुगुन्जेल आफूले साथ दिने प्रतिबद्धता जनाए।

काठमाडौं ९(क) का प्रदेश सदस्य नुरज बज्राचार्यले जनतालाई उठिवास गराउने कस्तो सरकार र न्यायालय हो भनेर प्रश्न गरे र आन्दोलनमा ऐक्यबद्धता पनि जनाए। संघर्ष समितिका संयोजक सुमन सायामीले उपत्यावासीलाई उठिवास गराउने राज्यको नीतिलाई आफूहरुले प्रतिकार गर्ने बताए।

सुकुम्बासीहरुको व्यवस्थापनको नाममा लाखौं जनतालाई उठिवास गराउने प्रपन्च स्वीकार नगर्ने उनले बताए। कार्यक्रमको संचालन स्वनिग विशेष ब्युरोका इन्चार्ज रविन्द्र कुमार श्रेष्ठले गरेका थिए।

कार्यक्रममा केशव झा, राजाराम तण्डुकार, बुद्ध छिरिङ मोक्तान , कौशल सिंह, राम किशोर सिंह, जुनतारा पुन मगर, अनिल महासेठ, सुवर्ण श्रेष्ठ , विकास श्रेष्ठ ,कृष्णा थापा लगायतको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *