चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च

डिसी नेपाल
१८ भदौ २०८१ ८:५०

महोत्तरी। महोत्तरीसहित मधेसमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् ।

चौरचन पर्वका अवसरमा चन्द्रमालाई केरा चढाइने चलन रही आएको छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्रमाको आराधना गरिने यो पर्व आगामी शुक्रबार साँझ मनाइँदैछ ।

मिथिलामा चौरचन पर्व महत्वपूर्ण पर्वमध्ये मानिन्छ । अहिले पर्वका लागि आफ्ना उत्पादित कृषि उपज बजार पुर्याउने किसान र व्यापारी तथा सामान किन्न पुग्ने उपभोक्ताको सघन जमघटले पर्वका बजार बिहानैदेखि जम्ने गरेका छन् ।

चौरचन पर्व केराखेती गर्ने किसानलाई खास अवसर बन्ने गरेको छ । अहिले चौरचन पर्वको मुखमा बेचिएको केराबाट रु दुई लाख प्राप्त भइसकेको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बताए। उनले १० कठ्ठा क्षेत्रफलमा केराखेती लगाएका छन् । जिल्लाभरिमा चौरचन पर्वमा रु ५० लाख हाराहारीको केरा किनबेच हुने महोत्तरी उद्योग वाणिज्य सङ्घको अड्कल छ ।

पर्वका लागि छिप्पी नसकेका कलिला कोसाका केरा पनि प्रशस्तै देखिएको छ । यसैगरी पर्वको बजार भोलिसम्म मात्र हुँदा कलिला केरा कार्वाइड हालेर पकाइएका छन् । पर्वमा भीडभाडका बेला पारेर अन्य कमसल गुणस्तरका सामान पनि बिक्री भइरहेको हुँदा स्थानीय प्रहरी प्रशासन, उद्योग वाणिज्य सङ्घ र सामाजिक सङ्घसंस्थाले बजार अनुगमन बढाउनुपर्ने उपभोक्ता हकहित संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष दीपेन्द्र पराजुली बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *