नबिल बैंकको विशेष साधारणसभा सम्पन्न
काठमाडौं । नबिल बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकको शनिबार सम्पन्न बिशेष साधारणसभाले नेपाल बंगलादेश बैंक लिमिटेडलाई एक्विजेसन (प्राप्ति) गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
नेपाल बंगलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००:४३ लाई उक्त विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले नेपाल बंगलादेश बैंकको १०० कित्ताबराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् ।
साधारणसभाले नेपाल बंगलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मूल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एन्ड कम्पनी, चाटर्ड एकाउन्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन समझदारीपत्र तथा अन्तिम सम्झौतापत्रलगायत सम्पूर्ण काम कारबाहीहरूलाई अनुमोदन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
२०७८ चैत मसान्तको वित्तीय विवरणअनुसार नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम तीन खर्ब नौ अर्ब र निक्षेप रकम तीन खर्ब २० अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ४५ अर्ब रुपैयाँ पुग्नेछ ।
प्राप्तिपश्चात् नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई दुई सय ५४ पुग्नेछ । त्यसैगरी, नौ महिनाको संयुक्त खुद मुनाफा चार अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ । नेपालको बैंकिङ सेवामा अग्रणी स्थानमा रहँदै आएको नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात वाणिज्य बैंकहरू मध्ये नबिल बैंकको निक्षेप, कर्जा, गैर व्याज आम्दानी, गैरकोषमा आधारित व्यबसाय, तथा कुल नाफालगायतका विभिन्न सूचकांकहरूमा अग्रणी स्थानमा सुनिश्चित गर्नेछ । यस प्राप्ति सँगै नबिल बैंकले बजारमा आफ्नो नविन सेवा र थप शाखा सन्जालमार्फत नयाँ रणनीतिअनुसार बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउनेछ ।
Facebook Comment