बालकथा : हरितालिका तीज

राधिका दाहाल
१८ भदौ २०८१ १२:४०

‘मामु म पनि यसपाली हजुरहरुसँगै तीजको व्रत लिन्छु है’।

‘हुन्छ, केही फलआहार गरेर व्रत बस्नु राम्रो हुन्छ’।

‘मामु तीज भनेको के हो’?

हरितालिका तीज नेपाली महिलाको मौलिक र महत्वपूर्ण चाड हो। बिबाह गरेर टाढा टाढा गएका छोरीचेलीलाई माइतमा बोलाउने चलन परापूर्वकालदेखि नै चलेको हो। त्यो बेला त टेलिफोन, मोवाइल केही पनि थिएन, त्यसैले दाजुभाइ, बुबा, काका, मामाहरु टाढा टाढा भएका छोरी चेलीलाई लिन जान्थे।

माइतीघर जान पाएका चेलीहरु खुसीले उफ्रिँदै र नाच्दै जान्थे। उनीहरु सबै साथी, दिदीबहिनी जम्मा भएर राति दर ( मिठा मिठा बिभिन्न किसिमका खाना) खाएर राता पहिरन लगाएर मौलिक र दुःख सुखका गीत गाएर नाच्ने गर्दथे र भोलिपल्ट व्रत बस्थे। आजकल पनि त्यसरी नै तीज मनाउने गरिन्छ। आजकल चै सञ्चारको राम्रो सुबिधा भएको हुनाले सबैलाई सजिलो भएको छ।

‘आइपुग्यो तीज लौ ल्याउ चीज खाने र लाउने

नभए धन काढन ऋण मरेर के लाने’?
बाबाको घरमा मनाउँ रमाइलो तीज
खुसी भइ खाने हो आमाले पकाएका चीज।

‘मामु तीजको व्रत चै किन लिइन्छ?’

हिमालय राजाले आफ्नी पुत्री पार्वतीको बिबाह भगवान विष्णुसँग गरिदिन लाग्नु भएको रहेछ।पार्वतीले महादेवलाई मन पराएकी रहिछन्। अनि पार्वतीका साथीहरुले उनलाई हरेर जंगलमा पुर्याएका थिए, पार्वतीले ‘महादेव स्वामी पाउँ’ भनेर निराहार व्रत बसेकी थिइन्। त्यसैले यो व्रतलाई हरितालिका भनिएको हो। यो कथाले छोरीहरुको बिबाह उनीहरुले रोजेकै केटासँग गरिदिनु पर्छ भन्ने सन्देश दिन्छ।

‘अनि हजुरहरुले चै किन व्रत लिनु भएको’?

अबिबाहित युवतीहरुले पनि महादेव जस्तै पति पाउँ भनेर व्रत बस्छन् र बिबाहित महिलाहरुले आफ्नो सौभाग्यको स्थिरताको लागि निराहार बसेर भगवान शिवको पूजा आराधना गर्दछन्।

यसरी सबै खुसी भएर घर, आँगन, मन्दिर, चोकमा धार्मिक र सास्कृतिक कार्यहरु गर्दछन्।

‘मामु किन भगवान शिवकै व्रत लिनु पर्छ’?

भगवान शिवले पार्वतीलाई अति नै माया गर्थे, पार्वतीको चित्त दुखाउँदैनथे। पार्वतीले पनि शिवलाई धेरै नै सम्मान गर्थिन्। त्यसैले महिलाहरुले शिवजी जस्तै असल र विवेकी पतिको कामना गर्नुको साथै आफ्नो बैबाहिक जीवन पनि शिव पार्वतीको जस्तै उदाहरणीय होस् भन्ने तपस्या गर्दछन्।

‘ए, मामु अनि व्रत लिएर कसरी असल श्रीमान पाइन्छ’?

मनिसले असल विचार र भाव राखेर जे काम गरिन्छ नि त्यसको परिणम र प्रभाव पनि राम्रो हुन्छ। व्रत बस्दा शारीरिक र मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ।
त्यसैले हाम्रा मौलिक चाड पर्व जोगाएर राख्नु पर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *