सहकारीसम्बन्धी संसदीय छानबिन समितिको म्याद १५ दिन थप

डिसी नेपाल
१८ भदौ २०८१ १६:५६

काठमाडौं। सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप गरिएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकले समितिको म्याद थप गर्ने समिति संयोजक सूर्य थापाको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो।

त्यसअघि बैठकमा समिति संयोजक थापाले म्याद थपको प्रस्ताव प्रस्तुत गर्दै समितिले गरेको कामकारवाहीका बारेमा जानकारी गराएका थिए। उनले अहिलेसम्म समितिको ५१ वटा बैठक बसेको र सहकारी दूरुपयोग सम्बन्धी तथ्यमा पुग्ने काम भएको जानकारी दिए।

जरैदेखि समस्याको पहिचान र समाधान गर्ने तर्फ कोशीस गर्नका लागि विभिन्न निकायदेखि आरोपितसँग समेत छलफल गरिएको उनले बताए। उनले तथ्यको पुष्टि र पुनर्पुष्टि गर्न समय नपुगेकाले म्याद थपको प्रस्ताव गर्नुपरेको जिकिर गरे।

समिति संयोजक थापाको प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतीले स्वीकृत भएको थियो।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसदले गत जेठ १५ गते छानबिन समिति गठन गरेको थियो। समितिको तीनमहिनाको समयअवधि भदौँ २३ गते सकिँदै थियो। तर सो समयमा प्रतिवेदन तयार गर्न कठिनाइ हुने भन्दै समितिले १५ दिन म्याद थपका लागि प्रस्ताव गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *