तीज पर्वको सांस्कृतिक र धार्मिक महत्व
नेपाली हिन्दू महिलाले मनाउने हरितालिका तीज यतिबेला घर आँगनमा आइपुगेको छ। तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ।
अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ। तीजका दिन व्रत बसिन्छ। चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन्।
अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ। पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ। यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ।
तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ। धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ। तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ।
रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ। पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो। हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ।
तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ। एक प्रकारले हेर्दा यसले महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजेजस्तै देखिन्छ। पुरुषभक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमान्को दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ।
केही वर्षयतादेखि व्रतको अघिल्लो दिन खाइने दरको स्वरूपमा परिवर्तन हुँदै गएको छ। कतिपय मध्यम वर्गीय घरमा सामाजिक संस्कार फेरिएका छन्। विवाह भएको पहिलो वर्ष छोरीको घरमा दर पठाउनुपर्ने चलन बढ्न थालेको छ।
यसले माइती पक्षलाई छोरीका निम्ति थप आर्थिक भार बेहोर्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ। दर पठाउने क्रममा माइतीबाट छोरीको घरमा सम्धिनीलाई मात्र नभएर जेठानी, नन्द,आमाजूसमेतलाई गरगहना, पहिरन, जुत्ता, शृंगार सामग्री आदिका साथै ११ किसिमका परिकार पठाउनुपर्ने चलनको थालनी भएको छ।
यस्तो सामाजिक व्यवहारले तीजको वास्तविक उद्देश्यलाई ओझेलमा पारेको छ। यो चलनको दुष्प्रभावस्वरूप धेरै बुहारी भएको घरमा कसले कति ल्याउने भन्ने अनावश्यक टिप्पणी हुने गर्छ।
कम ल्याउने बुहारीलाई होच्याउने, अपमान गर्ने र बढी ल्याउने बुहारीलाई बढी सम्मान दिने गलत र अनावश्यक प्रतिस्पर्धाले हाम्रो सामाजिक सद्भाव र मेलमिलापमै असर पार्न सक्छ। यस्ता गलत प्रवृत्ति हटाउने हो भने तीजको सामाजिक महत्व अत्यन्त ठूलो छ।
तीजमा के गर्ने के नगर्ने ?
पवित्र उद्देश्य र दृढ संकल्पका साथ सम्पन्न गरिने अनुष्ठानमा दरका नाममा अभक्ष, अखाद्य एवम् आफ्नो स्वास्थ्यलाई प्रतिकुल असर गर्ने भोजन नगर्ने। हामीले सुन्दै र पढ्दै आइरहेका छौं कि कहीँ अखाद्य भोजनका कारण गाउँ नै बिरामी पर्यो।
कहीँ इनारको पानी प्रयोग गरि दर पकाएका कारण वडाका सबै महिला बिरामी परे। कहीँ दर खाएर घर फर्कदै गरेकी युवती दुर्घटनामा परिन्। यी र यस्ता समामचार थुप्रै छन्। अतः आफ्नो इष्टमित्र, अत्यन्त निकट छिमेकी तथा साथीभाइबीच सम्बन्ध सुमधुर बनाउनु सुखद् विषय हो। सम्बन्ध दर खाएर र खुवाएर मात्र सुदृढ हुने होइन। यो त व्यवहार, आदर्श र भावनाले हुने विषय हो।
यो वर्ष जे गर्यौं गर्यौं आगामी दिनमा अनुत्पादक दर र अनुत्पादक तीजलाई टाढैबाट नमस्कार गरौं। मौलिक संस्कृति अनुरुप हरितालिका पर्व मनाउने संकल्प यही तीजबाट लिन सक्यौं भने मात्र व्रतको र हरितालिकाको मुख्य फल प्राप्त होला।
हामी सामाजिक प्राणी, कतिपय मानिस एक पत्ता जीवन जल र एउटा गोली सिटामोल नपाएर मृत्युवरण गर्न वध्य छन्। कतियप हामी नवसंभ्रान्त भनिनेहरु दैनिक दरका नाममा फजुल खर्च गरिरहेका छौं।
के हामीले दर नखाएर दिनहिनहरुको सेवा गर्न सक्दैनौं? अनुत्पादक खर्चलाई उत्पादनमुखी बनाउन सक्दैनौं? सोचौं ‘हरितालिका तीजको उपहार विपन्न बालबालिकाहरुलाई पुरस्कार’ भन्ने सोच पनि बनाउन सक्छौं। यो तीजले नकारात्मक भावनाहरुको अन्त्य गरी सकारात्मक सोच र भावनाको विकास गर्न सक्नु पर्दछ।
हामी व्रतालुहरु व्रतको दिन मन्दिर जन्छौं, गहना तीजको संस्कृती नै हो। हामी तीजमा विशेष श्रृंगार गर्छौं, गच्छे अनुसारको पहिरन लगाउँछौं। सोचौं गहना दुर्घटनाको कारण नबनोस्। भड्किलो श्रृंगार र पोशाक बलात्कारको समाचार नबनोस्। तसर्थ ठीक गरगहना र मन्दिर जाँदाको होसियारीप्रति सबैको ध्यान पुग्नु जरुरी छ।
श्रृंगार तथा गरगहना उत्ताउलो होइन शालिन र भद्र होस्। तीज संस्कार र संस्कृतिले पूर्ण बन्नु सक्नु पर्दछ। यसैमा छ तीजको महत्व। धर्मका नाममा जबर्जस्ती व्रत पनि बस्नु हुँदैन्। जबर्जस्ती व्रत स्वयंमा प्रत्युत्पादक हुन्छ।
मान्छे जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन। नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ।
तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन्। कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्काे विशेषता बन्दैछ।
तीजमा गीत-संगीतको विशेष महत्व रहन्छ। महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन्। तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दुःख, ईर्ष्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन्।
सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँछन्। चुल्हो–चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन्।
अहिले सबै नेपाली नारीको घरमा यस्तो अवस्था छैन। टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गरिन्छन्। कतिपय संघसंस्थाले तीज प्रतियोगिता पनि आयोजना गर्छन्।
यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ। यद्यपि तीजको संस्कृति अन्य जात वा समुदायका महिलामा पनि प्रवेश गर्नु राम्रो कुरा हो।
तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ। शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ। तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन।
आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजित गर्छन् र लठ्ठिने गरी मदिरामा डुब्छन्। तीजका नाममा भित्रिएको यो सबैभन्दा दुर्गन्धित पक्ष हो।
इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरुको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ। त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ। यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ। यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ।
Facebook Comment