कविता : छोरी-बुहारीलाई अर्ती

राज्यलक्ष्मी खतिवडा
२२ भदौ २०८१ ७:००

अर्ती दिन्छु म आज सुनी लेउ छोरी बुहारीहरु
यस्तै हुन्छ भनेर यो पृथ्वीको वर्णन कहाँ तक गरुँ

रुखो बोली नबोल्नु चोट पर्ने आत्मा रुवाउने गरी
बोल्नु अमृत सरी मिठो र मसिनो हित हुन्छ जीवन भरी

कहिल्यै शिर नझुकाउनु दु ःख मा जस्तै परेता पनि
हाँसी हाँसी बिताउनु दिनहरु झुटो छ संसार भनी

दुःख सुख भोग्नु स्वभाविकै छ नरमा घुम्दो छ चक्रै सरी
रिस राग राख्न हुँदैन छलकपट केही जानु छ एक दिन मरी

अल्छी गर्नु हुंदैन नानीहरु हो बन्नु अति पौरखी
हिम्मत सिप र जोश लिएर भवमा बन्नु सधैँ गौरवी

यी हुन् छोरी पराइका भनी सोच्दै नसोच्नु रति
एक दिन छोरी भइ बुहारी पनि त पर्ने छ हुनु पछि

छोरी भइ जन्म्यौ जसैै पृथ्वीमा यस्तै सबैको गतिको गति
नन्द भाउजू हुनु दिदी बहिनी सम्मान भेदभाव नहोस रति

सासूलाई आमा भनि दूलहीले मिठो बोलि बोल्नु
आफ्नै ठानी तिता मिठा सब कुरा हित भावले बोल्नु

आमाजू, बुहारी दिदी बहिनी समान बोल्नु बडो प्रेमले
लेख्नु पत्र पनि बेला बखतमा माया र स्नेहले

सेखी गर्नु हुँदैन नारी नरले ठूलो धनी छ भनी
हँसिलो, रसिलो स्वभाव हुन गए पग्लिन्छ पत्थर पनि

धोका मिल्छ जीवन भरी बुझिलिनु ज्यादा घमण्डी गरे
जसले सान्त्वना दिन्छ दुःखीहरुमा सुख मिल्छ त्यसलाई भरे

मान्यजनहरुको शिक्षा लिइ रहनु साँचो यी भन्छन भनि
नारीको चतु¥याइँमा र गुणमा झुक्छन् ती तारा पनि

पर्नु हुन्न पछाडि नारीहरुले शिक्षाहरुमा पनि
विद्या वुद्धि दिनु बाबा र आमाले छोरीहरुलाई पनि

धर्ममैमा पनि सोच गरेर रहनु भक्ति शीला झै बनि
आफ्नै पौरखमा जीवन विताउने गर्नु प्रतिज्ञा अनि

यति अर्ती सुनेर काम गर्नु दुःख हुन्न कहिल्यै रति
नाम कृति सुवास चलाई भवमा हुन्छन् ती नारी सति

शेखी तोडी दिनु घमण्डीहरुको अमृत रुपि बोलिले
छेडछाड गर्नु हुन्न कसै कन पनि बाग बाणीको गोलीले

मान गर्दा पनि मान तोडी रहने ती हुन अधम निर्घिणी
त्यस्ताको रति साथ नगर्नु बुझी लेउ पापी तिनै हुन खुनी

आफ्नालाई पराई ठानी रहने भेदभाव गर्ने अति
वृद्धा अवस्थामा त सम्झिरहनु होला बडो दुर्गती

घरकी लक्ष्मी समान हुन् कुल बधू हेला नगर्नु कबै
एकै सम्झनु पर्छ सासू ससुराले छोरी बुहारी सबै

बुहारीहरुले पनि सम्झी लिनु आमा बाबु हुन भनि
गर्नु हेर विचार काम घरको साह्रै चतुरी बनि

मान्यजनहरुलाई मानि रहनु सेवा टहलमा रही
गर्नु हेर्नु विचार बालकहरु शान्त स्वभावको भइ

दिनु पर्दछ  ध्यान नारीहरुले सुग्घर सफामा पनि
भोलि पर्सि गरौंला नि भनी अल्छी गर्दै नगर्नु अनि

जहाँ हुन्छ सुग्घर सफा त्यो गृहमा बास हुन्छ लक्ष्मीजीको
पुगोस् आस सबै इष्टमित्रहरुको मान्छन् सबैले निको

प्रेम सद्भाव होस् सदा जीवन भर नारी पुरुषको पनि
बुझ्नु मर्म दुवै स्त्री पुरुषले एक अंग हाम्रो भनि

पुरुष विष्णु समान हुन बुझी लिनु नारी ती लक्ष्मी समान
बितोस् जीवन विष्णु लक्ष्मी सरी भई धेरै गरुँ के बयान?

जेठानी, देउरानी पराइहरुका छोरी भएता पनि
गर्नु काम मिलिजुली दिदी बहिनी एक आँतका झैं बनी

यो घर खेती र सम्पत्ति जहान सबै आफ्नै भनी जान्नु
आफ्नै हित हुने छ सासूज्यूको अर्ती पनि मान्नु

जस्तै दु :ख परे पनि सही रहू भागि नहिँड्नु कबै
कस्ती रहिछ अलच्छिनी बधू भनि हस्सी उडाउँछन् सबै

घरको कुरा नगर्नु गाउँघरमा चोरी नगर्नु कति
माइतीको कुलमा र इज्जतमा ख्याल राख्नु पर्छ अति

चेली हुन कुलका मुहार हँसिलो बोली छ अमृत सरी
लक्ष्मीको त्यही बास हुन्छ बुझी लेउ घर हुन्छ दरबार सरी

एकै बातमा झनक्क झन्की छोडेर हिँड्ने घर
स्वामीको ससुरा र सासू ज्यूको केही नमान्ने डर

ती हुन कुल बिहीन कन्या बुझ्नु चण्डाल कुलंगार भनी
श्रीमानको शिर झुक्छ हाँस्छ दुनियाँ नासिन्छ भाग्यै पनि

अर्ती ज्ञान उपदेश दिँदा नसहने दिन रात उठ्ने रिस
काम गर्नु पर्दा त झुण्डी मर्नु पिएर मर्ने विष

अग्निमा जल्ने फाल तोडी मर्ने कोही त धस्ने चुपी
समाजमा मिल्ने र काम गर्ने हुँदैन जसमा खुबी

त्यही गर्दछ आत्मा हत्या बुझी लेउ त्यागेर धर्ती धरा
हिसां गर्छन् समाज विश्व भरि नै भन्दैन कोही बरा

घुर्की लाउनु हुन्न हिँड्छु मर्छु भनी सानो कुरामा पनि
बस्नु पर्छ सती भएर घरमा आदर्श नारी बनी

जसले राख्दछ ख्याल इज्जतमा हुनेछ त्यसको गति
जस्मा जाँगर, गुण सिप छ भने नारी तिनै हुन सती

पाहुनाहरुको आदर गरी सत्कार गर्नु अति
यही हो धर्म गृहस्थीको बुझी लिनु झर्को नमान्नु रति

यति अर्ती लिएर काम गर्नु छोरी बुहारीहरु
बिसाएँ यतिमै यथार्थ बुझ्नु धेरै बयान के गरुँ?

सुन्दरहरैचा-६




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *