विदेशी हस्तक्षेपले थिलथिलो बनेको बंगलादेशको सत्ता राजनीति

शंकरप्रसाद रिजाल
२१ भदौ २०८१ १०:१०

सन् १९४७ मा भारतको स्वतन्त्रता पश्चात भारत र पाकिस्तानको विभाजन पछि हालको बंगलादेश पूर्वी पाकिस्तानको भागमा रहेका पाकिस्तानका पाँच प्रान्तमध्ये एक रहिबसेको थियो।

यो विभाजन हुँदा भारत र पाकिस्तानका लाखौं मानिसहरु हताहत भएका थिए। पछि यो पाँच प्रान्त मध्येबाट अलग रही सन् १९७१ मा भारतको सम्पूर्ण सहयोगमा यो स्वतन्त्र राज्य बनेर स्वतन्त्र बंगलादेशको नामले यसको उदय भएको हो।

बंगलादेशको राजधानी ढाका भारतदेखि करिव १८०० किलोमिटरको दूरीमा छ। सुरुमा यो भूमि भारतको इष्ट इण्डिया कम्पनीको भूभागमा रहेको थियो। यो त्यसताका रगतको आहालमा पौडी खेलेर स्थापना भएको बंगलादेशका प्रथम प्रधानमन्त्री ताजुद्दीन अहमद थिए।

पछि फेरि बंगलादेशको राष्ट्रिय आन्दोलनले शेख मुजिबुर रहमानलाई अवामी लिगको पार्टीको हैसियतले सन् १९७१-७२ सम्म देशको राष्ट्रपति र १९७२ देखि १९७५ सम्म देशको प्रधानमन्त्री बनायो र उनी “बंग पिता” भन्ने नामले पनि चिनिए।

प्रधानमन्त्री बनेपनि उनीमाथि कैयौं जालझेल र षड्यन्त्रको बादल मडारिएको थियो। देश भित्रका कट्टर जमात ए इस्लामी, अन्य बिरोधीहरु र बाहिरी शक्ति पश्चिम पाकिस्तान अनि अमेरिकाको सीआईएको ठूलो दवाब थियो।

फलस्वरूप देशमा भ्रष्टाचार, बेथिती, अन्याय र निरंकुशता भयो भनी बिभिन्न आरोप लगाए पछि उनलाई बागी सैनिक जत्थाले ठूलो षड्यन्त्र गरी घरमै गइ उनी र उनका दुई छोरीहरु सेख हसीना रहमान र रेहाना मुजिबुर रहमान (जर्मनमा भएको हुनाले) बाहेक सबै १५-१६ जनाको परिवारलाई १५ अगस्त १९७५ मा नृशंस हत्या गरियो।

उनको हत्यापछि देशमा सत्ता सैनिक प्रमुख जियाउर रहमानको हातमा गयो र उनी बंगलादेश राष्ट्रिय जातीय पार्टीका प्रमुख थिए। जियाउर रहमान ती बंग सैनिक थिए जसले सेख मुजिबुर रहमानको निमित्त बनी चट गाउँबाट बंगलादेश आजाद भएको घोषणा गरेका थिए।

सेख मुजिबुर रहमानको हत्यापछि उनैले सैनिक शासकको हैसियतले सत्ता सम्हाले र पछि उनलाई पनि ३० मे १९८१ मा आफ्नो दरबारमा उनकै सैनिक जत्थाले षड्यन्त्र गरी गोली ठोकी हत्या गरिदिए।

उनले देशको लागि ठूलो काम गरेपनि आफ्ना बिपक्षीलाई एक एक गरी मार्ने काम गर्थे। कतिलाई जेल हाले र कतिलाई बाहिर बिदेशमा पठाए।

उनको पालामा पनि बंगलादेशमा निक्कै भ्रष्टाचार भएको र सत्ता राजनीति एकलौटी मनमानी हिसाबले चलाएको भनी आखिर उनलाई पनि चटगाउँको सर्किट घरमा आफ्नै सैनिकद्वारा गोली हानी हत्या गरियो। पछि उनैका श्रीमती बेगम खालिदा जिया बंगलादेश राष्ट्रिय पार्टीको अध्यक्ष भइरहिन्।

दुवै हत्या गरिएका राष्ट्रपतिहरु सेख मुजिबुर रहमान र जियाउर रहमानले देशको लागि धेरै काम गरेका थिए। तर सैनिक बिद्रोह र आन्तरिक कलहले र बाहिरी शक्तिहरुले भित्रभित्रै षड्यन्त्र गरी दुबैलाई हत्या गर्ने काम गरियो।

त्यसपछि फेरि बंगलादेशमा जनरल हुसैन मुहम्मद एर्साद राष्ट्रपति बनेर १९८३ देखि १९९० सम्म चलाए। उनको राज्य कालको सरकार पूर्णतया सैनिक निरंकुश तन्त्रले चलेको थियो। उनको पालामा देशमा कृषिमा र सामाजिक समन्वयमा निक्कै विकास भएको थियो।

उनैले दक्षिण एसियामा सार्क संगठनको अबधारणाको विकास गरे। तर जब देशमा प्रजातन्त्र प्रेमी खालिदा जियाको पार्टी र सेख हसिनाको अवामी लिगको पार्टीले निरंकुश भनेर चर्को बिरोध गरे।

तर त्यो बिरोधले उनी डगेनन् र मार्सल कानुन अन्तर्गत देश चलाई नै रहे र आखिर आफ्नै काल गतिले उनको १४ जुलाई २०१९ मा अस्पतालमा निधन भएको थियो।

सैनिक सरकारपछि भएको निर्वाचनपछि बेगम खालिदा जिया मार्च १९९१ मार्च १९९६ सम्म प्रधानमन्त्री बनिन्। त्यसपछि सेख हसिना १९९६ देखि २००१ र पछि सर्बाधिक भोट हासिल गरी सन् २००९ देखि लगातार २०२४ सम्म देशमा अवामी लिगको पार्टीको हैसियतले देशको प्रधानमन्त्रीको बागडोर सम्हाली रहेकी थिइन्।

तर लामो समयसम्म प्रजातान्त्रिक मुलुकको प्रधानमन्त्री एकै व्यक्ति भई रहनु अन्य पार्टीको लागि एक निरंकुश शासन जस्तै भएको र उनको एकल बिजयको पराकाष्ठा भएको र उनले गर्ने जातीय भेदको नीतिले सबै रुष्ट भएका थिए।

प्रजातान्त्रिक मुलुक र प्रजातान्त्रिक शासन भनेर आफ्ना बिपक्षीलाई अल्पसंख्यक मानी सुबिधाबाट बन्चित गराउने र सरकारले प्रदान गर्ने कोटा प्रणालीमा पनि ब्यापक कटौती गर्ने तथा भारतको पूर्ण सहयोगमा आफ्नै किसिमको शासनशैली अपनाई काम गरेकीले बिपक्षका सारा जनताहरु रुष्ट बनेका थिए।

यिनी बिशेष गरेर भारत र चिनियाँ सरकारसँग साझेदारी गरी आफ्नो देशको आर्थिक उन्नति गरिरहेकी थिइन्। तर आन्तरिक रुपमा भएका पार्टीहरुलाई सधैं प्रतिबन्धित गरी आफूमात्र चुनाबमा उठी एकलौटी जित हासिल गरी त्यत्रो लामो सत्ताराज जमाई बसेकी थिइन्।

यो बिशेष गरेर कट्टरपन्थी जमात ए इस्लाम पार्टी, बंगलादेश नेसनल पार्टीकी खालिदा जियालाई र अन्य अल्पसंख्यक पार्टीहरुलाई असह्य भएको थियो।

यही दबाबलाई अमेरिकाले आफ्नो सैनिक बेडा बंगलादेशमा राख्न नदिएको र इसाइलाई बराबर दबाब दिइ रहेको मौका पारेर पाकिस्तान टुक्रा गराइ सिंगो बंगलादेश निर्माण भएको इतिहासदेखि निहुँ खोजी आखिर सानो कोटा प्रणालीको बाँडफाँटको निहुँमा अल्पसंख्यकलाई कम कोटा निर्धारण गरेको कारणमा सारा बंगलादेशमा कट्टरपन्थी जमात ए इस्लाम र अन्य सारा बिपक्षी जनतालाई उठाइ चौतर्फी आगजनी र हिंसा मच्चाई हिन्दु मुसललमानकको दंगा भड्काइ हिन्दु लखेटने काम भयो। करिब ९० जना व्यक्तिको ज्यान लिइयो।

तर विद्यार्थीको आन्दोलन झन् झन् बढ्दै गयो। हिंसा धेरै हुने डर देखाइ सैनिकले सिधै उनलाई देश छोड्ने निर्देशन दिए र उनी आखिर देश छोडी भारतमा शरण लिन पुगिन्।

उनको ठाउँमा तुरुन्त एक निष्पक्ष तर प्रो-अमेरिकन नोबेल पुरस्कार बिजेता तथा अर्थशास्त्री मोहम्मद युनुसलाई अन्तरिम सरकार चलाउन बागडोर दिइएको छ। हाल बंगलादेश यो अवस्थामा अशान्त नै छ।

कट्टरपन्थी इस्लामदेखि हिन्दुहरु आफ्नो सुरक्षाको लागि थरथर काँपी रहेका छन्। कैयौं भारत पसिसकेका छन् र कैयौं त्यही बसेर आफ्नो देशैमा बसी बाच्नको लागि बिरोध प्रदर्शन गरिरहेका छन्।

बंगलादेशको यो निरन्तर सत्ता पलट र एकपछि अर्को सरकारको परिबर्तनले देशलाई अबको विश्व भूराजनैतिक चपेटाले कहाँ र कस्तो अबस्थामा पुर्‍याउने हो र यसले अब भारतलगायत दक्षिण एसियाका अन्य मुलुकहरु नेपाल, श्रीलंका, माल्दिभ्स, भुटान, पकिस्तानलगायत स्वयम् आजको बंगलादेशलाई कस्तो असर प्रभाव र दवाब खेप्नु पर्ने हो त्यो हेर्न बाँकी नै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *