खार्पा चेलीबेटी : माइतीका गौरव

नेपालको इतिहासको कालखण्डमा महिलाहरूले विविध क्षेत्रमा उल्लेखनीय तथा अनुकरणीय भूमिका निर्वाह गरेका अनेकौँ दृष्टान्त पाइन्छन्। राजमहिषीहरूले राजनैतिक क्षेत्रमा पनि आआफ्ना पहिचान कायम गरेका छन्।

ती महिलाहरूलाई शासकलाई आफ्नो प्रभावमा पार्दा परेको सकारात्मक र नकारात्मक नतिजा र उपलब्धिका विषयमा प्रशस्तै चर्चा परिचर्चा भएको पाइन्छ। राजनैतिक क्षेत्रको अपेक्षामा सामाजिक क्षेत्रमा महिलाहरूको योगदान र कार्यको स्मरण लोकले सदैव गर्ने गर्दछ।

विवाहित महिलाले माइतीको छवि नै उजागर गरेका प्रसंग नेपालको इतिहासमा पाइन्छन्। भृकुटी तथा सीता जस्ता नेपाली राजकुमारीहरूले नेपालको प्रसिद्धि भोट–चीन तथा हिन्दुस्तानसम्म पुर्‍याएका थिए। स्पष्ट भन्ने हो भने चेलीबेटीको माइतीप्रतिको प्रेम सदैव निस्वार्थ रहेको हुन्छ।

नेपालको गौरवपूर्ण अतीतमा चेलीबेटीले निर्वाह गरेका भूमिकालाई भावनात्मक परिवेशमा यथार्थमा नै परिणत गर्न खार्पाका चेलीबेटी सक्षम छन्। यही प्रशंसनीय प्रयासहरूको दस्तावेज हो, स्मारिका ‘खार्पा चेलीबेटी’।

यसको सार्वजनिकीकरण २०८१ साल भाद्र १५ गते काठमाडौँमा एक समारोहका बीच गरियो। सोही स्मारिकाले प्रवाह गरेका सूचनाका विषयमा संक्षिप्त रूपमा परिक्रमा गर्दा यो आलेख जन्मन गयो।

‘खार्पा चेलीबेटी पुराण तथा महोत्सव स्मारिका, २०८१’ खार्पाको इतिहास हो। भूगोल हो। स्थानीय समाजको सामाजिक र आर्थिक पक्षको ऐना हो तथा सबैभन्दा बढी चेलीबेटीको माइतीप्रतिको प्रेम, श्रद्धा र कृतज्ञताको प्रामाणिक दस्तावेज हो।

नेपालको पूर्वक्षेत्र हालको खोटाङ जिल्लाको खार्पा आत्रेय गोत्रीय पानी पोखरेलको एक ऐतिहासिक थलो हो। यहाँका पोखरेलहरूले नेपालका विविध क्षेत्रमा आफ्नो सार्थक उपस्थिति जनाउन सफल भएका छन्।

यी पोखरेलहरूको बसोबास खार्पामा कहिले भएको हो ? यकिन नभए तापनि पश्चिम सिन्जा, दुल्लु, खिदिने (अर्घाखाँची), पोखरा, छोप्राक (गोरखा) हुँदै खार्पा पुगेका थिए (सीताराम पोखरेल, खार्पाको ऐतिहासिकता र पोखरेल परिवार, खार्पा चेलीबेटी पृ. १)।

पाल्पाली सेन राज्यबाट विभक्त चौदण्डी राज्य सिर्जना भएपछि राजाबाटै बिर्ता पाई विसं १७०० ताका पण्डित हरिकृष्ण पोखरेल खार्पामा बसोबास गर्न थाले। यिनै पोखरेलका सन्तति हरिनन्दन पोखरेलले पृथ्वीनारायण शाहलाई चौदण्डी आक्रमण गर्न आमन्त्रण गरे र ११,०५१ रुपियाँ आर्थिक सहयोग प्रदान गरे।

उनै हरिनारायणकै मन्त्रणा र आर्थिक सहयोगबाट चौदण्डी (माझकिरात) गोर्खालीको अधीन हुन पुगेको थियो (उही, पृ २)। सेन राजाबाट सम्मानित भई बिर्ता पाउने राजगुरु खानदानका हरिनन्दनले गोर्खालीलाई सहयोग गर्नाको र आर्थिक रूपले सम्पन्न हुनुका कारणहरू पनि चर्चा गरिएको छ (उही, पृ २) तर तीे कारणको सम्परीक्षण भने हुन सकेको छैन।

पृथ्वीनारायण शाह र उनका सन्तति नेपाल राज्यका अधिपति हुँदा पनि त्यत्रो सार्थक सहयोग गर्ने हरिनन्दन र उनका सन्तानले उल्लेख्य कदर मानपदवी कुनै पाएको देखिँदैन। यसको कारण सोधखोजकै विषय बन्न पुगेको छ।

सेन राजाबाटै सप्तरीमा प्रशस्त जग्गाजमिन बिर्ता पाएका हुँदा यी पोखरेल सन्ततिहरू बिर्तावाल जमिन्दार हुन पुगेका थिए। तत्कालीन राजनैतिको प्रतिपक्षमा रहनैपर्ने यी पोखरेलहरूको बाध्यता थियो वा आवश्यकता त्यो त प्रस्ट छैन तर उनीहरू राणा शासनको प्रारम्भदेखि नै विरोधी भए।

श्री ३ वीरशमशेरको राज्यकालमा जङ्गबहादुरका छोरा रणवीरजंगको विद्रोहमा साथ दिएबापत बिर्ता नै हरण हुन पुग्यो। भीमसेन थापाको ६२ हरण (बिर्ताहरण)को मारमा नपरेका पोखरेलहरूको राणाकालमा बिर्ता हरण हुनपुग्यो।

उक्त वीरता कालान्तरमा केहीले फिर्ता पाए, केहीले पाएनन् तर पुनः कोसीले धार परिवर्तन गर्दा सप्तरीका प्रशस्त जग्गाजमिन यी पोखरेलले गुमाउनुपर्‍यो। विसं २००७ सालको आन्दोलनमा राणाविरोधी भई खरो उत्रिए। धेरै पोखरेल बन्धुहरू कांग्रेसी हुन पुगे।

संवत् २०१५ सालको निर्वाचनमा खार्पाका मणिराम पोखरेल कांग्रेसबाट सांसद पनि भए। कृष्णप्रसाद कोइराला २००७ सालपूर्व निर्वासित जीवन बिताउँदा खार्पाका पोखरेलले प्रत्यक्ष-परोक्ष सहयोग नै गरेका थिए। संवत् २०१७ साल पौष १ गतेको काण्ड पोखरेलहरूको लागि उत्साहजनक घटना भएन।

धेरै पोखरेलहरू निर्वासित हुन पुगे भने कतिको सर्वस्व हरणसमेत भयो। पञ्चायत विरोधी आन्दोलनमा खार्पाली पोखरेल दत्तचित्त भई लागे। विसं २०३६ सालको जनमत सङ्ग्रहमा नीलोमा लागेबापत कति पोखरेलको त जागिर पनि गयो।

संवत् २०४६ को आन्दोलन सफल बनाउन पनि यी पोखरेलहरूको भूमिका उल्लेख्य नै रह्यो। पञ्चायत व्यवस्थामा पनि एक दुई पोखरेलहरू सक्रिय नै देखिएका थिए। खार्पाली पोखरेल जहाँ भए पनि प्रतिपक्ष र शासनसत्तासँग सन्निकट हुने खासमा कमै देखिए।

देशका सबैजसो राजनैतिक पार्टीहरूमा यी पोखरेल बन्धुहरूको उपस्थिति बाक्लै देखिएको छ। वर्तमानमा पनि। वीरेन्द्रकेशरी पोखरेल र गिरिराजमणि पोखरेल मन्त्री भएर आफ्नो पहिचान कायम गर्न सफल पनि भएका छन्।

खार्पाली पोखरेलहरूले राजनैतिक क्षेत्रमा अपेक्षाकृत उपलब्धि हासिल नगरे पनि उनीहरू अन्य क्षेत्रमा भने उदाहरणीय बन्न पुगेका छन्। खार्पालीहरू जहाँ जहाँ पुगे त्यस स्थानमा स्कुल पाठशाला खोली सभ्य र सुसंस्कृत समाज बनाउन सक्रिय रहे। खार्पाका पोखरेलहरू सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा जहाँ पुगे पनि खार्पाको सम्मान र आत्मासम्मान कायमै राखे। प्रस्तुत स्मारिकाले यसै भन्छ।

नेपालको शैक्षिक र प्रशासनिक क्षेत्रमा कार्यपालिकाहरूले सर्वाधिक सफलता पाउन सके। डा ईश्वरप्रसाद उपाध्याय (मुख्यसचिव, संसद् सचिवालयको महासचिव), भोजराज पोखरेल (पूर्वनिर्वाचन आयुक्त), पद्मप्रसाद पोखरेल (सचिव), रामकृष्ण पोखरेल (नागरिक लगानी कोषका प्रमुख), यज्ञविनोद पोखरेल (डिआइजी), डाक्टर जीवराम पोखरेल (उपकुलपति नास्ट), डा विहारीविनोद पोखरेल (व्यवस्थापन विज्ञ), मुरारीविनोद पोखरेल (नेपाल पुस्तकालय समाजका संस्थापक अध्यक्ष) आदिले उच्च सम्मान पाएकोमा खार्पाको चेलीबेटीले आफ्नो माइतीको गर्व गरेको दृष्टान्त स्मारिकामा यत्रतत्र सर्वत्र पाइन्छ।

चेलीबेटी माइतीका भार (लियाबिलिटी) होइनन्, गहना हुन् भन्ने विचार प्रवाह गर्न स्मारिका सफल भएको छ। खार्पाबासीलाई अतीतको गौरव, छवि, संस्कृति र पहिचान भावी पुस्तामा जानकारी गराउन चेलीबेटीको सत्प्रयासको सरहना वा प्रशंसा गर्नैपर्ने हुन्छ।

नेपालको संस्कृतिमा सामाजिक सद्भाव सामूहिक भावना र स्थानीय विकासका लागि पुराण महोत्सव जस्ता सांस्कृतिक कार्यक्रम उपलब्धिमूलक भएको तथ्यलाई आत्मासाथ गर्ने चेलीबेटीहरूको चेत र जागरको प्रशंसा गर्नैपर्छ।

भागवत पुराण र खार्पा महोत्सव आयोजना गरी चेलीबेटीले आफ्ना माइतीहरू सबैलाई एकै स्थानमा भेला गर्ने गरेको कार्य नेपालमा त के संसारकै इतिहासमा पनि बिरलै पाइन्छ। खार्पाका चेलीबेटीहरू नेपाल मात्र होइन विदेशका विभिन्न मुलुकमा छन् तर जहाँ भने पनि उनीहरूको प्रेम खार्पासँगै छ।

कहिल्यै खानपान नदेखेका नपुगेका चेलीबेटीहरूले आफ्नो पुख्र्यौली थलोको गौरव गरी माइतीलाई एकत्र गर्ने कार्यको प्रशंसा गर्ने शब्द नै शब्दकोशमा छैन। संयुक्त राज्य अमेरिका रहेकी गीता पोखरेल खनाल यस महान् कार्यकी मियो हुन् कि जस्तो प्रतीत हुन्छ।

उनको भावना र चाहनालाई मूर्त स्वरूप दिने उनकी दिदी विमला र खार्पाली चेलीहरू वास्तवमा नै धन्यवादका पात्र हुन्। चेलीहरूको प्रेम माइतीप्रति निस्वार्थ हुन्छ भन्ने तथ्यलाई साबित गर्ने यी पोखरेलका चेलीबेटी जन्माउने ती मातापितालाई सबैले आदर गर्नैपर्छ। सम्मान गर्नैपर्छ। आफ्नो पुर्खाहरूको उद्गमस्थलको माटोलाई विनाराजनैतिक पूर्वाग्रह कृतज्ञ हुनैपर्छ भन्ने सन्देश प्रवाह गर्न स्मारिका पूर्णतया सफल देखिन्छ।

आजको नेपाल धर्म, लिङ्ग, जात जस्ता संकीर्ण भावना पृथक् गराउनुको साटो आफ्नो राजनैतिक स्वार्थ सिद्धिका लागि द्वन्द्व सिर्जना गर्ने परिपाटी विकास हुँदै गएको सन्दर्भमा खार्पाली चेलीबेटीहरूले आफ्ना माइतीलाई सचेत गराएका छन्।

खार्पामा रहेका सबै जातजातिहरूलाई एकै सूत्रमा बाँधी नेपाल सबै जातको फूलबारी हो भन्ने ऐतिहासिक तथ्यलाई स्मरण गराउन स्मारिका सफल भएको छ। खार्पा पोखरेलहरूको मात्र होइन सबैको हो भन्ने चेत जगाउन सफल भएको तथ्य स्मारिकामा समेटिएका लेखरचना र विचारले प्रमाणित गरेको छ।

स्मारिकाको परिक्रमा गर्दा यस कृतिको खार्पाका माइती खलकहरूलाई ठूलो चुनौती दिएको भान हुन्छ। हामी चेलीहरू आफ्नो जन्मस्थान पुर्खाको थलोलाई तिमी माइतीले केही गर्न सकेनौ हामीले देखायौँ। अब तिमीहरू यस चुनौतीलाई अवसरको रूपमा लिन ढिला नगर भन्ने सन्देश परोक्ष रूपमा प्रकट गरेको छ।

पुस्तकको लोकार्पण कार्यक्रममा चेलीबेटीहरूले आफ्ना घरपरिवारभन्दा माइती खलकलाई नै सर्वाधिक प्राथमिकता दिए, यो ठीकै पनि हो। तर, ती चेलीबेटीहरूले आफ्ना घरपरिवारबाट पाएको समर्थन सहयोगप्रति गर्व गर्न कन्जुस्याइँ गरेको हो कि भन्ने टीकाटिप्पणी भएकै थियो। यी पोखरेल चेलीबेटीलाई समर्थन गर्ने सबै कुटुम्बलाई सबैले प्रत्यक्ष प्रकट नगरे पनि अन्तरआत्माले सराहना गरेकै हुनुपर्दछ।

आज हाम्रो समाज आफ्नो माटो पुख्र्यौली थलोबाट विमुख हुँदै छ, धर्म, संस्कृति र पहिचान गुमाउँदै छ। अतिशय राजनैतिक स्वार्थका कारण दाजुभाइ, समाज र मुलुक नै आक्रान्त छ। सदरमुकामीकरण, राजधानीकरण र विदेश पलायन हुनेहरूको संख्या ज्यामितीय ढङ्गले वृद्धि भइरहेको छ।

यस परिवेशमा सबै विदेश रहने, राजधानी वा अन्य सुविधासम्पन्न स्थानमा रहनेहरूले आफ्ना पुर्खालाई सम्मान गरेमा सो क्षेत्रको विकास हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्न खार्पाका चेलीबेटी पूर्णतया सफल देखिन्छन्।

खार्पाली चेलीबेटीका सन्ततिले आफ्नो मातृसत्ताप्रति गौरव गरेका दृष्टान्त पाइन्छन्। मातृकाप्रसाद कोइरालाले आफ्नो परिवारलाई सुसंस्कृत बनाउने हजुरआमा खार्पाली पोखरेलकी छोरी भएको स्मरण गरेका छन्।

सूर्यप्रसाद उपाध्याय (ढुङ्गेल), पं भीमशंकर वाग्ले, पं रामनाथ मिश्र, श्रीकृष्ण भट्टराई आदि यसका केही उदाहरणीय पात्र हुन्। कृष्णप्रसाद पोखरेलले तयार गरेको वंशावलीमा पोखरेलका छोरीका सन्ततिहरूको वंशावली पनि उल्लेख भएको पाइन्छ। यो कार्य सराहनीय पनि रहेको छ।

सबैले आफ्नो जन्मथलो तथा पुख्र्यौली थलोका लागि केही चिन्तन गरिदिएमा तत् तत् स्थान स्वर्ग हुने थिए। नत्र खोला तर्‍यो लठ्ठी बिर्सियो भन्ने आहान चरितार्थ हुने निश्चित छ।

खार्पाली चेलीबेटीको सार्थक प्रयासलाई माइतीले चुनौतीका रूपमा लिऊन्। यस तथ्यलाई आत्मसाथ गरेमा चेलीबेटीहरू आत्मविभोर हुनेछन् भन्ने विचार प्रवाह गर्ने उद्देश्य स्मारिकाको रहेको प्रतीत हुन्छ।

खार्पाका पोखरेलका हालका सबै सन्ततिले जनही एक हजार उठाएपछि अक्षय कोषको स्थापना गरेका छन्। यसको ब्याजबाट खार्पा गाउँका सबैलाई निःशुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन सकिने आँकलन स्मारिका अध्ययन गर्दा प्रस्ट हुन्छ।

वर्षको एकपटक दुई दिनका लागि भए पनि खार्पा पुग्न सके खार्पाको रौनक बढ्नेछ। समाजमा पुनर्जागरण हुनेछ। यस्तै गरेमा नै आफ्ना पितृ र पुर्खाप्रति हार्दिक श्रद्धाञ्जली हुनेछ। पुर्खाको वार्षिक श्राद्ध पनि त्यही नै हुनेछ।

खार्पालीलाई आफ्नो माटो नबिर्सन पुर्खाप्रति कृतज्ञ हुन र आफ्नो शक्तिअनुसार मातृभूमिप्रति केही गर्नैपर्छ भन्ने सामूहिक भावना र प्रतिबद्धता जगाउन स्मारिका सफल भएको छ। भावी पुस्तालाई खार्पाको गौरवपूर्ण अतीत देखाएको छ।

यस्तो महत्त्वपूर्ण कार्य गरी चेलीबेटीले चाहेका सकारात्मक कार्य गर्न सक्छन् भन्ने अनुकरणीय उदाहरण प्रस्तुत गर्ने खार्पाली चेलीबेटीको उत्साह जाँगर र माइतीप्रतिको प्रेमलाई हार्दिक नमन। खार्पाका चेलीबेटीसँग सम्बन्धित सबैले यो प्रकाशनको सराहना गरेका छन्। मेरो त झन् कुरै भएन। खार्पाका चेलीबेटीहरूको जय होस्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *