सांसद श्रेष्ठको प्रश्न : एकजुट भएर बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू-आफू लडेर बस्ने ?

डिसी नेपाल
२० भदौ २०८१ १२:३७

काठमाडौं। नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सभाका सांसद गंगानारायण श्रेष्ठले जनयुद्धको क्रमममा घाइते तथा अपांगता भएका व्यक्तिहरुको जिम्मेवारी तत्कालीन नेतृत्वले लिनु पर्छ पर्दैन भनेर प्रश्न गरेका छन्।

बिहीबार जनयुद्धका क्रममा २०६१ भाद्र २० गते सिहराको धन्छबारमा सहादत प्राप्त गरेका माओवादीका नेताद्वय शेरमान कुँवर(विशाल) र मोहनचन्द्र गौतम(कुमार)प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले तत्कालिन नेताहरुलाई प्रश्न गरेका हुन्।

उनले जनयुद्धको क्रममा घाइते, अपांगता भएका हजारौं हजार योद्धाहरूले उपचार नपाएर शारीरिक र मानसिक पीडा भोगिरहेका बताए। सहिद र वेपत्ता परिवारका सदस्यहरू न्यूनतम जीविकोपार्जनको व्यवस्था नहुँदा विदेश पलायन हुनु परिरहेको भन्दै उनले देश र जनताका लागि जीवन आहुति दिने सहिदहरूको पनि यथोचित सम्मान हुन नसकेको बताए।

सांसद श्रेष्ठले तत्कालीन माओवादीका नेतृत्व तहका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य(किरण) र डा. बाबुराम भट्टराईलाई सम्बोधन गर्दै सबै समस्याहरुको जिम्मा लिनु पर्छ कि पर्दैन भनेर प्रश्न गरेका छन्। उनले एकजुट भएर प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ? भनेर अर्को प्रश्न नेताहरुलाई तेस्र्याएका छन्।

सांसद श्रेष्ठले सहिदहरु विशाल र कुमारलगायत हजारौं सहिदहरूका सहादतबाट देशमा २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

उनले जनयुद्ध लडेका क्रान्तिकारी नेता, कार्यकर्ताहरू छिन्नभिन्न हुँदा संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्नसक्ने खतरा बढ्दै गइरहेको बताए । प्राप्त उपलब्धिको जगमा टेकेर मात्रै बाँकी उपलब्धि हासिल गर्न सम्भव भएको उनको भनाइ छ ।

यसै सन्दर्भमा बागमती प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका श्रेष्ठले आफु मन्त्री छँदा सहिदहरूको सम्मान र सम्झनामा प्रदेशभर योजनाहरु पारेको जानकारी दिए।

उनले ४१ किलोमिटर लामो डाँडी-खहरे-सहान-बखबर सडकलाई शेरमान मार्ग, ३७ किलोमिटर लामो पिपलभञ्ज्याङ-हायुटार-रामपुर सडकलाई मोहनचन्द्र मार्ग र सिलामे-बेल्टार-बडिमुहान सडकलाई टीका श्रेष्ठ मार्ग नामाकरण गरिएको बताए। सांसद श्रेष्ठले सिन्धुलीका विभिन्न स्थानहरूमा सहिद स्मृति शान्ति पार्क निर्माणका लागि १ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए ।

त्यस्तै सहिद र बेपत्ता परिवार, घाइते अपाङ्गहरूलाई उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउन ‘द्वन्द्वपीडित सवलीकरण कार्यक्रम’ सञ्चालन गरिएको बताए। त्यसैगरी युद्धमा अङ्ग गुमाएकाहरूलाई कृत्रिम अंग प्रदान गर्न बजेट विनियोजन गरिएको र बागमती प्रदेशअन्तर्गत रहेका सहिद परिवारका एक-एक जना सदस्यलाई स्वास्थ्य बिमा कार्यक्रम राखिएको उनले उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *