पशुपतिनाथ मन्दिरमा तीजको सम्पूर्ण तयारी पूरा
काठमाडाैं। यस वर्ष शुक्रबार परेको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको छ।
पशुपति क्षेत्र विकास कोषले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो।
मन्दिरको दर्शनका लागि पहिलो लाइन गुह्येश्वरी-गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन जयवागेश्वरी-भुवनेश्वरी-शंकराचार्य मठ हुँदै फलामेपुल-पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए।
यसैगरी तेस्रो लाइन पिंगलास्थान-वनकाली-चार शिवालय हुँदै पञ्चदेवल पूर्व-बज्रघर-दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली-गौशालातर्फबाट पिंगलास्थान-वनकाली-चार शिवालय हुँदै पञ्चदेवल पूर्व-बज्रघर-दक्षिण ढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने व्यवस्था मिलाइएको उनले बताए।
दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरि बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोल्ने सदस्यसचिव थापाले जानकारी दिए।
उनले मेलामा चोरी र लुटपाटको हुन नदिन भक्तजनलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म साना बालबालिका साथमा लिएर नआउन अनुरोध गरे। नेपाल प्रहरीसँगको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिने उनको भनाइ छ।
यसैगरी भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको कोषले बताएको छ।
कोषले जुत्ता-चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मतीपारि राममन्दिरको मुनि लगायतका स्थानहरु छुट्याइएको पनि जानकारी दिएको छ।
Facebook Comment