राष्ट्रिय महिला तथा पुरुष भलिबल: एपिएफका दुवै टोली फाइनलमा

डिसी नेपाल
२० भदौ २०८१ २१:२१

कास्की। पोखराको लामाचौरमा जारी ‘लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’ को फाइनलमा महिलातर्फ एपिएफ र न्यू डायमण्ड तथा पुरुषतर्फ एपिएफ र पुलिस उपाधिका लागि भिड्ने भएका छन्।

लामाचौरको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा जारी प्रतियोगितामा एपिएफको दुवै टिम फाइनल पुगेको हो। यही भदौ २१ गते हुने फाइनलमा एपिएफले पुरुषतर्फ नेपाल पुलिस र महिला तर्फ टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबको सामना गर्ने भएको हो।

महिलातर्फ भएको लिग चरणको अन्तिम खेलमा आज न्यू डायमण्डले एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो। पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५–२३ र तेस्रो सेट समेत २५–२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो।

डायमण्डले लिगचरणमा गण्डकी र एभरेष्ट भलिबललाई ३–० को सोझो सेटमा हराएको थियो। ‘राउन्ड रोविन लिग’ को आधारमा भएको खेलमा कूल चार टिमको सहभागिता रहेको थियो। हारपश्चात एपिएफ दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको छ। एपिएफको तीन खेलबाट छ अंक रह्यो। एपिएफले लिग चरणमा एभरेष्टलाई ३–० को सोझो सेट र गण्डकीलाई ३–१ को सेटमा हराएको थियो।

यसैगरी पुरुषतर्फ नेपाल पुलिस एक खेल अगावै फाइनल प्रवेश गरे पनि अन्य टिमको टुंगो भने बिहीबारमात्रै लाग्यो। बुधबार निर्धारित समयअनुसार एपिएफ र गण्डकीको खेल खराब प्रकाशका कारण हुन नसकेपछि विहानमात्रै खेल भएको थियो। उक्त खेलमा एपिएफले गण्डकीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो।

एपिएफले गण्डकीमाथि २५–१८, २५–२३ र २५–१६ को हार व्यहोरेको हो । एपिएफको दुई खेलबाट छ अंक भएको छ। यता पुलिसको पनि छ अंक नै छ। दुवै टोलीको ६–६ अंक रहेपनि शीर्षको होडमा लिगचरणको अन्तिम खेल खेलेका पुलिस र एपिएफको खेल समेत प्रकाश अभावका कारण रोकिएको छ। पुलिस र एपिएफले १–१ सेट जिते। पहिलो सेट पुलिसले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा पुलिस १९–२५ ले पछि पर्‍यो।

प्रतिष्ठाको खेलमा गण्डकीले गलकोटलाई ३–२ को सेटमा हरायो। पहिलो सेट २५–२२ ले जितेको गण्डकीले दोस्रो सेट २१–२५ ले गुमायो। तेस्रो सेट २५–१७ जितेपनि पुनः चौथो सेटमा २४–२६ को हार व्यहोर्‍यो। अन्तिम तथा फाइनल सेटमा १५–१३ को जित निकाल्न सफल भएको हो। यससँगै गण्डकीको तीन खेलबाट खेलबाट दुई अंक रहँदा गलकोटको एक अंक रहेको छ।

प्रतियोगिताको महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमशः नगद रु एक लाख ५० हजार एक सय ११, रु एक लाख एक सय ११ र ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नवआदर्श विकास समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *