निर्मलालाई न्याय, गृहमन्त्रीका गफ मात्रै !

डिसी नेपाल
२१ भदौ २०८१ ८:०१

काठमाडौं। कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भइसकेको छ।

बितेको ६ वर्षमा मुलुकमा पटक-पटक सरकार र गृहमन्त्री बदलिए। सबैले निर्मला पन्तको हत्यारा पत्ता लगाउने आश्वासन पनि दिए तर गृहमन्त्रीहरू ‘गफ’मै सीमित हुँदा निर्मलाका परिवार र आफन्तले न्यायको आस मार्न थालिसकेका छन्।

२०७५ साल साउन १० गते साथीको घर जान्छु भनी हराएकी निर्मलाको शव भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो। त्यसयता निर्मला पन्तका हत्यारा पत्ता लगाउन दर्जनौँ आन्दोलन र अभियान भएका छन्।

हरेक नयाँ गृहमन्त्रीले निर्मलालाई न्याय दिलाउने बताए पनि दोषी अझै पत्ता लागेको छैन । बिहीबार मात्रै गृहमन्त्री रमेश लेखक कञ्चनपुर पुगेर निर्मला प्रकरणको सूक्ष्म अनुसन्धान गरिने प्रतिबद्धता जनाए।

आफ्नै गृहजिल्लाको अनिर्णीत निर्मला प्रकरणलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता गृहमन्त्रीले गर्नु स्वाभाविक भए पनि विगतमा झैँ ‘गृहमन्त्रीले गफ दिने, काम नहुने’ हो भने निर्मलाका परिवारले न्याय नपाउन सक्छन्।

टेलिभिजन पत्रकार छँदा रवि लामिछानेले निर्मला प्रकरणमा ‘चर्को खबरदारी’ गरेकै थिए। यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिका रूपमा दुई पटकसम्म गृहमन्त्री बन्ने अवसर पाउँदा पनि उनले निर्मला प्रकरणमा दोषी पत्ता लगाउन सकेनन्।

काम नगरे पनि गृहमन्त्री रहँदा लामिछानेका गफ कम थिएनन्। उनले पहिलोपटक गृहमन्त्री हुँदा नै पहिलो निर्णय ‘निर्मलालाई न्याय दिलाउन अधिकतम पहल गर्ने’ भनी गरेका थिए। निर्णय गरे पनि काम नगर्दा निर्मला प्रकरणमा न्याय पाउने आशा गरेका परिवारजन पुनः निराश बन्न पुगे।

दोस्रोपटक चार महिना गृहमन्त्री हुँदा पनि उनले निर्मला प्रकरणमा नयाँ काम गर्न सकेनन्। सरकारबाट बाहिरिने बेला उनले निर्मला हत्या प्रकरणको निष्कर्षनजिक रहेको बताएका थिए।

आफूले चुपचाप गरेको कामको नतिजा आउने बेलामा सरकार छाड्नुपरेको भनाइ लामिछानेको थियो। तर, नयाँ सरकार बनेको दुई महिना हुनै लाग्दा पनि निर्मला प्रकरणमा प्रहरीले नयाँ प्रगति देखाउन सकेको छैन।

बितेका दशकहरूमा सबैभन्दा सार्वजनिक चासो, सरोकार र आन्दोलन जोडिएको विषय नै निर्मला हत्याको विषय हो। दर्जनौँ प्रहरी अधिकारीहरू कारबाहीमा पर्नेदेखि विभिन्न छानविन समिति बन्ने सम्मका काम नभएका होइनन्।

यद्यपि, कुनै पनि प्रयत्नले प्रतिफल दिन सकेको छैन। राजनीतिक नेतृत्वले लोकप्रियताका लागि किशोरी बलात्कार जस्तो गम्भीर अपराधलाई उपयोग गर्न खोज्दा अनुसन्धान गिजोलिन पुगेको थियो।

६ वर्षअघि निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा नेकपा नेतृत्वको सरकार थियो। प्रधानमन्त्री थिए, केपी शर्मा ओली। हाल नेकपा एमालेका उपाध्यक्ष रहनुभएका रामबहादुर थापा त्यतिबेला गृहमन्त्री थिए। त्यसपश्चात् शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री थिए।

खाँणले पनि संसद्देखि सार्वजनिक मञ्चहरूमा पटक-पटक निर्मला हत्या प्रकरणको गम्भीर अनुसन्धान भइरहेको ‘गफ’ दिए। काममा नतिजा देखिएन। खाँणपछि रवि लामिछाने दुईपटक, नारायणकाजी श्रेष्ठ एकपटक र अहिले रमेश लेखक गृहमन्त्री बनेका छन्। गृहमन्त्री रहँदा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि बारम्बार निर्मला प्रकरणमा परिणाम दिने दाबी गर्नुभए पनि नतिजामा देखिएन।

अहिले कञ्चनपुरकै कांग्रेस नेता रमेश लेखक गृहमन्त्री हुँदा धेरैले यो प्रकरण टुंगोमा पुग्ने अपेक्षा गरेका छन्। यद्यपि, गृहमन्त्री लेखकले पनि सो प्रकरणको छानविनका लागि प्रभावकारी प्रयत्न गरेको पाइँदैन।

गृहमन्त्री मात्रै होइन यो प्रकरणयता नेपाल प्रहरीमा पाँचजना आइजिपी भइसकेका छन् । सबैजसो आइजिपीले निर्मला प्रकरणलाई प्राथमिकतामा राखेको बताए पनि अहिलेसम्म दोषी को हो ? भन्ने टुंगो लाग्न सकेको छैन।

निमुखाले न्याय पाउने विषय नेपालमा सधैँ जटिल बन्ने गरेको छ। सार्वजनिक खपतका लागि नेताहरूले एजेण्डा बनाउने तर सत्तामा रहँदा परिणाम निकाल्ने गरी काम नगर्ने प्रवृत्ति अझै सुध्रिसकेको छैन ।

यसपटक फेरि गृहमन्त्री लेखक आफैँले कञ्चनपुर पुगेर निर्मला प्रकरणमा सूक्ष्म अनुसन्धान हुने भनेर आशा बढाउने काम गरेका छन्। आफ्नै गृहजिल्लाकी चेलीको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ पत्ता लगाउन गृहमन्त्री लेखक नचुकून्। निर्मलाको न्यायबारे गृहमन्त्रीले गफ होइन काम गरून्।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *