पूर्व जिल्ला सचिवद्वारा जिल्ला संयोजकमाथि जनयुद्धकालीन हत्यामा सुराकी गरेको आरोप
काठमाडौं। माओवादी केन्द्रका सिन्धुलीका पूर्व सचिव तथा बागमती प्रदेश सदस्य पुकार न्यौपानेले जिल्ला संयोजक पानीराज बम्जनमाथि जनयुद्धकालमा सुराकी गरेको र एक जनाको हत्या गरेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै बम्जनलाई जनयुद्धका क्रममा सुराकी गरेर आफ्नै सहकर्मीको हत्या गराएको गम्भीर आरोप लगाएका हुन्।
न्यौपानेले फेसबुकमा लेखेका छन्, ‘कमरेड राते! तिम्रो हत्या गर्ने तिम्रो सुराकी मेरो नेता छ, माफ गर!’, उनले थप लेखेका छन्, ‘पानीराजको सीआईडीमा रातेको हत्या भएको हो।’
यो गम्भीर आरोपपछि जिल्ला नेतृत्वमात्रै होइन बागमती प्रदेश कार्यालय नै दबाबमा परेको छ। बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले यसबारेआफूले केही गर्न नसक्ने भन्दै निरीहता प्रकट गरेका छन्। उनले यो मुद्दालाई पार्टी हेडक्वार्टरमा उठाउनु पर्ने बताए।
माओवादी केन्द्र सिन्धुलीका जिल्ला इन्चार्ज बुद्धिमान माझीले पुकारको आरोपलाई तथ्यहीन, भ्रामक र कपोलकल्पित दुष्प्रचारको संज्ञा दिएका छन्। उनले विज्ञप्तिमार्फत् जिल्ला पार्टी र संयोजकलाई लाञ्छना लगाएर सामाजिक सञ्जालबाट भ्रम छर्दै जिल्ला नेतृत्व त्याग गर्न लगाउने दुराशय रहेको बताएका छन्। साथै यस्ता भ्रामक सूचना सम्प्रेषण नगर्न समेत सचेत गराएका छन्।
‘हाम्रै पार्टीको बागमती प्रदेश कमिटी सदस्य क. ज्वालाप्रसाद न्यौपाने पुकारले आफ्नो फेसबुक अकाउण्ट र विभिन्न सामाजिक सञ्जालको माध्यमबाट सिन्धुली जिल्ला पार्टी संयोजक क.पानीराज बम्जनको नाम जोडी तथ्यहीन, भ्रामक, कपोलकल्पित दुष्प्र्रचार गर्ने मनशायका बोकी लाञ्छना र आरोप लगाइ सामाजिक सञ्जालमार्फत जनतामा भ्रम छर्दै जिल्ला पार्टी, संयोजक स्वयम्को चरित्रहत्या गर्ने र जिल्ला नेतृत्व त्याग गरी मार्गप्रशस्त गर्न निरन्तर सामाजिक सञ्जामार्फत अनावश्यक दबाब सिर्जना गर्ने जुन प्रयत्न गरिएको छ, सो कुरा पार्टी विधान विपरीत भएको जानकारी गराउँछौं।’, इन्चार्ज माझीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
पुकार जिल्लामा सिन्धुली २ का संघीय सांसद राजन दाहाल र केन्द्रमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसँग प्रत्यक्ष राजनीतिक सम्बन्ध भएका नेता हुन्। नारायण दाहाललाई भेटेर भलाकुसारी गरेको केही दिनमा नै पुकारले जिल्ला नेतृत्वमाथि यस्तो गम्भीर आरोप लगाएका छन्।
यसैबीच माओवादी केन्द्रले गत वर्ष चार महिने अभियान चलाउँदा पनि पुकारको उदण्डताका कारण माओवादीको मरिण गाउँपालिकाले उनलाई कारबाहीको माग गरेको थियो । न्यौपानेसँगै राजन दाहालकी पत्नी दीपा बोहोरालाई समेत पालिकाले कारबाही गर्न प्रदेशमा सिफारिस गरेको थियो । यस घटनामा पनि प्रदेशले हेडक्वार्टरसँग जोडिएको भन्दै निरीहता प्रकट गर्दै आएको छ ।
पार्टीभित्र बागमती प्रदेश सदस्य तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाका विरूद्ध पनि विभिन्न आरोप लागेका छन्। उनले वैदेशिक रोजगारीमा गएको पत्नी लगेको, विदेशबाट कमाएर पठाएको पैसा हिनामिना गरिदिएको, पीडितलाई उल्टै घरमा पुगेर मरणासन्न हुने गरी कुटेको लगायतका घटनाहरूका कारण उनीमाथि छानबिन समित बनेको थियो ।
छानबिन समितिले वाइबालाई दोषी देखाए पनि ‘माथि’ को दबाबका कारण ओैपचारिक प्रतिवेदन ल्याउन नसकेको प्रदेशका एक पदाधिकारीले नाम नबताउने शर्तमा जानकारी दिएका छन् । बज्रध्वज र भुइँमान्छेकी पत्नीबीच भएको अश्लील सम्वाद केही महिनाअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
सिन्धुलीमा पार्टीभित्रका विवादहरू बारम्बार उठ्दै आएका छन्, तर हेडक्वार्टरको संरक्षणमा यस्ता घटनाहरूमा जोगाउने प्रयास भइरहेको छ ।
Facebook Comment