प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिविबीच समझदारीपत्रमा हस्ताक्षर

डिसी नेपाल
२१ भदौ २०८१ १९:३०

काठमाडौं। नेपाल प्रहरीमा राजनीतिक शास्त्रमा स्नातकोत्तर तह सञ्चालन सम्बन्धमा सहकार्य गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माले प्रहरी प्रधान कार्यालयमा आज उक्त समझदारीपत्रमा हस्ताक्षर गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले वरिष्ठ प्रहरी अधिकृतको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने उक्त कार्यक्रम तथा यसमा समाहित विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका नवीनतम् परिवेशअनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने अपेक्षा लिइएको बताए।

उनले संगठनको नेतृत्व तहमा पुग्ने क्षमता भएका अधिकृतको क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै विद्यमान बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन सहयोगी हुने बताए। उनले यस समझदारीले नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै निकायले शान्ति, सुरक्षा एवं सुशासनको क्षेत्रमा निर्वाहित उत्तरदायित्वको दायरा अझ फराकिलो बनाएको विश्वास व्यक्त गरे।

त्रिवि, व्यवस्थापन संकायका डीन प्राडा शर्माले समझदारीले प्रहरी अधिकृतको क्षमता विकासमा उल्लेखनीय योगदान पुग्ने चर्चा गरे। उनले आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गरे।

समझदारीपत्रमा अक्षयकोष, एमपिएस कार्यक्रम सञ्चालन, शैक्षिक क्यालेण्डर, विभिन्न शुल्क, विद्यार्थीको विवरण, कोर्षको प्रभाव अध्ययन, शाखा स्थापना एवं विविध कार्य, निरीक्षण र निर्देशन, परीक्षा व्यवस्थापन, परीक्षा केन्द्र, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सुविधा प्रयोगलगायत विषय उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *