सार्वजनिक सेवा प्रवाहमा प्रविधिलाई आत्मसात गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे

डिसी नेपाल
२२ भदौ २०८१ १८:४२

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सेवा प्रवाहमा राष्ट्रसेवक कर्मचारीले प्रविधिलाई आत्मसात गर्नुपर्ने बताएका छन्।

निजामति सेवा दिवस मूल समारोह समिति गण्डकी प्रदेशद्वारा निजामति सेवा दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेवा प्रवालाई समयसापेक्ष चुस्तदुरुस्त बनाउनका लागि नविनतम प्रविधिको प्रयोगमा अभ्यस्त हुनुपर्नेमा जोड दिए।

जनताका कामप्रति सरकार सकारात्मक तवरले प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उनले नहुने भएमा के कारणले नहुने हो त्यसबारे स्पष्ट पार्नुपर्ने बताए। उनले तल्लो तहमा काम गर्नेदेखि उच्च पदस्थ पदमा रही काम गर्ने कर्मचारी र राजनीतिक नेतृत्व सबै जनताको पक्षमा भएकाले एकापसमा दोषारोपण नगरीकन जनताको सेवामा समर्पित हुनुपर्ने बताए।

संघीय निजामति ऐन नआउँदा कतिपय चाहेर गर्नुपर्ने काम पनि गर्न नसकिएको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेशतर्फबाट गर्न सकिने सबै किसिमका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।

कार्यक्रमका सभापति एवं गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले सुशासन, समृद्धि र विकास आजको आवश्यकता भएको उल्लेख गर्दै सार्वजनिक सेवामा जनताको पहुँच बढाउनेगरी काम गर्नुपर्नेमा जोड दिइन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नेपालको निजामति प्रशासन राज्यका हरेक परिवर्तनलाई आत्मसात गर्दै अघि बढिरहेको बताए। पछिल्लो समयमा निजामति प्रशासनलाई नकारत्मक तबरबाट हेर्ने क्रम बढिरहेको बताउँदै उनले जनताको मन जित्ने गरी काम गर्नुुपर्ने आवश्यकता औँल्याए।

कर्मचारी मिलन केन्द्र कास्किका अध्यक्ष लोकनाथ आचार्यले चुस्तदुरुस्त प्रशासनका माध्यमबाट निजामति कर्मचारीप्रति बढ्दै गएको नकारात्मक धारणा हटाउनुपर्नेमा जोड दिए। निजामति सेवा दिवसका अवसरमा केन्द्रका तर्फबाट मानव सेवा आश्रम छोरेपाटनमा आश्रित दिदीबहिनीलाई तीजको दरखाने दिनमा दरभोज खुवाउनुका साथै सरसफाई जस्ता कार्यक्रम सम्पन्न गरिएको उनले बताए।

कार्यक्रममा पूर्वकर्मचारी परिषद्का तर्फबाट स्वास्थ्य सेवातर्फबाट निवृत्त भएकी नानु थापालगायतलाई सम्मान गर्नुका साथै परिषद्ले प्रकाशन गरेको गोधुलिको सन्देश लोकार्पण गरिएको थियो। त्यस्तै कर्मचारी सम्बद्ध विभिन्न संघ संगठनका तर्फबाट निजामति सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमका विजयी तथा सहभागीलाई पुरस्कार एवं सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा कर्मचारी संघ संगठनका नेताले सेवाग्राहीमैत्री सेवाप्रवाहमा जोड दिँदै राजनीतिज्ञ र कर्मचारीबीचको असलसम्बन्ध आवश्यक भएकोमा जोड दिए। संघीय निजामति ऐन चाँडो ल्याएर विद्यमान समस्याको समाधान गर्नुपर्नेमा उनीहरूको जोड छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *