जनहितलाई सर्वोपरि ठानेर काम गर्न आग्रह

डिसी नेपाल
२२ भदौ २०८१ २१:३४

वीरगञ्ज। जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले जनहितलाई सर्वोपरि ठानेर काम गर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

जसपा पर्सागढी नगर समितिद्वारा आज यहाँ आयोजित विस्तारित बैठकमा उनले समाजवादको मार्गदर्शनअनुसार जनहितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्। उपमहासचिव यादवले पर्सागढीको विकास र समृद्धिका लागि ठोस योजना बनाएर कार्यान्वयनमा दृढतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याए। ‘स्थानीय जनताका समस्यालाई नजिकबाट बुझेर, तिनको समाधान गर्ने दिशामा अगाडि बढ्न हामी प्रतिबद्ध छौँ,’ उनले भने, ‘हामीले पर्सागढीका आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि विशेष प्याकेज लिएर आउँदैछौँ।’

मन्त्री यादवले आफूले यहाँका जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधानका उपायहरूलाई शीघ्र कार्यान्वयनमा ल्याउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

आजै वीरगञ्ज महानगरपालिका–२१ मा आयोजित सम्मान कार्यक्रममा मन्त्री यादवले जनप्रतिनिधि जनताको सशक्तीकरण र सेवामा समर्पित हुनुपर्ने बताए। उनले भने, ‘जनताले देखाएको विश्वास र समर्थनको सम्मान गर्दै हामी वीरगञ्जलाई समृद्ध र विकासको नमूना सहर बनाउने योजना लिएर आएका छौँ। यो सबैको सहयोगबिना सम्भव छैन, त्यसैले सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्नेछ।’

मन्त्री यादवले स्थानीयस्तरको विकासका लागि जनताको इच्छाशक्ति र सरकारको पहल एकसाथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। ‘सहकार्य र समर्पण नै हाम्रो सबल पक्ष हो, यसले मात्र स्थानीय विकासका योजनाहरू सफल हुन सक्छन्। त्यसैले सरकार र जनताको संयुक्त प्रयासबाटै विकास अतिविधि अगाडि बढाउन लागौँ’, उनले भने।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कार्यकर्ताहरूले मन्त्री यादवको नेतृत्वमा स्थानीय विकास योजनाहरू प्रभावकारी ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *