कविता:विक्षिप्त मन
वियोगान्त बिछोडको पाप्राहरु
बिरामी मनको आरनमा
क्षण भरमै जलेर भएको छ खरानी
जलेर खाक भएको
अवर्णित प्रेमको अवशेष
खरानीको भेषमा
बग्दैछ कंचन नदी सँगै
देवघाटलाई किनारमा छोडेर
कोमल मनको अंग-अंग घोपेर पार्दैछ छिया,छिया
अनि हुँदैछ सग्लो जीवन बिरामी
झरी सँग रुझ्दैछ श्रावण
श्रावण सँगै भिज्दैछ आँशुबिनाको नजर
अब सुन्नु पर्ने छैन दोहोरिएर गन-गन
एक्लै टोलाउँदैछ
विक्षिप्त मन!
°°°°°
आउने छन् अरु-अरुहरुको लागि
उमंग र उत्साह बोकेर शरद
तर उनको त्रस्त उजाडिएको मनका लागि
शरद उदास अनुहार बोकेर आउनेछ
अनि फुल्नेछ बगैंचा भरी
शोक मग्न सोकाकुल फूलहरु
अध्यारो रातमा छट्पटी रहेको बेला
निर्जिव भित्ता र नबोल्ने पर्दाले
स्पर्श दिनेछ उनलाई
मानेर साक्षी तारा-जुनलाई
एकलास क्षितिजमा
जुन एक्लै टोलाएर
लाग्छ शोक मनाउँदै छ।
बसन्तको मञ्जरीले अकालमा
मृत्यु वरण गर्नेछ।
खेपेर सलहको मार
खिएर नास्सिँदैछ अधिर तन
विक्षिप्त मन!
°°°°°°
हृदयको शून्यताले आत्मालाई सताउँछ।
गहिरो कल्पनाको महासागरको गहिराइमा डुब्छ
जोडिएर छुटेको सम्बन्धका
छविहरू चकनाचुर भएको कारण
मौलाएको माया हराएको छ।
परिपक्व प्रेम पग्लेको छ।
बिछोडले बिछ्याइएको तातो “लू” ले
जोशहरू नाच्छ छाडेका छन्
भावनाहरू बिचल्ली वियोगान्त पेरुङ्गेमा नियन्त्रीत
हुँदै गर्दा
नियतिको निर्दयी हातले
धाँधली गर्दै गरेको छ अस्पष्ट अठ्याए
मायाका यादहरु बिस्तारै झर्छन् र पलाउँछन्,
अब हुने छैन केही खास
विकलांग स्मृति चिन्ह,
तिम्रो हृदयको शून्यताले
पटकपटक
उनको आत्मालाई सताउँछ।
तिम्रो अनुपस्थितिले दुखाउछ
प्रेमको कालो छांँयाले छोप्दा
मायाको भविष्यका अनुभूति गर्दा
तिम्रो हृदयको शून्यताले उनको आत्मालाई सताउँछ।
र उनको
मन पटकपटक बिक्षिप्त हुन्छ ।
पाँचखाल-११,काभ्रेपलान्चोक
हाल-लिमासोल,साईप्रस
Facebook Comment