संविधान संशोधन, निर्वाचन प्रणाली र कांग्रेस-एमाले

पूर्ण ओली
२५ भदौ २०८१ ७:०४

जनआक्रोश बढाउँदै संविधान संशोधनमा ढिलाइ केही महत्वपूर्ण विषयमा संविधानमा संशोधन गर्न भनी कांग्रेस र एमाले एक भएर सरकार चलाएको अवधि पनि १०० दिनतर्फ लम्किँदैछ।

तर संविधान संशोधनका प्रस्ताव संसदमा पेश गर्न नसकिरहेको अवस्थामा जनताको आक्रोश चुलिँदैछ। त्यसैले जनताले चाहेजस्तो संसदमा प्रतिनिधित्व हुने सांसद प्रत्यक्ष निर्वाचित मात्र हुनु आवश्यक छ। जसले गर्दा कुनै एक दलको बहुमत आउन सक्छ र देशमा स्थिर सरकार कायम हुनेछ।

समानुपातिक सदस्य नेताको खल्तीबाट नगरी चुनाव क्षेत्र तोकेर जनजाति, दलित, आदिवासी, महिला तथा मधेशीको कोटा छुुट्याउनु उपयुक्त हुन्छ। ९० प्रतिशत भन्दा बढी हिन्दु, बौद्ध, किराँत भएको सनातन संस्कृतिको सम्पूर्ण मान्यता र परम्परालाई शिरोधार्य गर्ने देवभूमिमा धर्म निरपेक्षता लादिनु सर्वथा गलत भएको छ।

यसलाई हटाएर स्वतन्त्र धार्मिक आस्था सहितको सनातन हिन्दु धर्म सापेक्षता कायम गर्ने गरी संविधानमा संशोधन गरियोस्। हालका प्रधानमन्त्री केपी ओली स्वयं बाहिरबाट जे बोलेपनि उहाँमा सनातन हिन्दु धर्म प्रति गहिरो सम्बन्ध र आस्था रहेको कुरा उहाँले हिन्दुधर्म सम्बन्धमा ब्यक्त गर्नु भएका बिचारबाट पनि अबगत गर्न सकिन्छ।

यसबाट संसारभरका एक अरब भन्दा बढी हिन्दु धर्मालम्बीहरुको हितको रक्षा गर्नेछ। यसबाट नेपालमा धार्मिक पर्यटन पनि बढ्नेछ। नेपाल जस्तो सानो देशमा संघीयताको कुनै मतलब थिएन। केवल मिलेर बसेका नेपालीबीच फुट ल्याउन जातीयताको आधारमा प्रदेश बनाउन कोसिस गरियो।

तर अन्तिममा मधेश प्रदेश मात्र एउटा जातीय प्रदेश बनाउन सफल भएपनि संघीयताको कारण देशको खर्च अत्यधिक बढी भएर विकासमा बाधा परिरहेको छ। त्यस्तै गरेर संघ र प्रदेशका बीचमा खर्चको बाँडफाँडमा तानातान भएर धेरै कार्यमा बाधा परिरहेको छ।

त्यही भएर केन्द्र र स्थानीय तह मात्र कायम राखेर बिचका प्रदेशहरु हटाउन अनिवार्य भइसकेको छ। नेपाल धेरै बर्षदेखि राजसंस्था कायम भएको देश हो। राजाबाट देश र जनताका हितमा धेरै राम्रा काम भएका थिए।

नेपाललाई एकीकरण गरेर मेचीदेखि महाकालीसम्मको विशाल नेपाल बनाउने राजा पृथ्वीनारायण शाहको महत्वपूर्ण कार्य र योगदानलाई नेपाल र नेपाली जनताले कहिल्यै पनि बिर्सन सक्तैनन्।

पृथ्वीनारायणले नेपालको सबै जातजातिको सनातनदेखिको धर्म संस्कृतिलाई आज नजोगाएको भए नेपालमा आज आफ्नो सनातानदेखिको धर्म संस्कृति रहने थिएन।

जसरी आज अंग्रेजले भारतको उत्तर पूर्वका राज्यहरु मिजोरम, नागाल्याण्ड, त्रिपुरा लगायत कतिपय राज्यहरुलाई पूरै इसाइ बनाइएका छन्। त्यस्तै अफ्रिकाका धेरै देशहरु आज आफ्नो परम्परा संस्कृति पूरै हराएर केवल इसाइ या मुस्लिम मात्र भएका छन्।

कतिपय देशहरुमा धार्मिक युद्ध भएर देश टुक्रिएका छन्। यो इतिहास मनन गर्ने हो भने हामी आफैले आफ्नो गल्ती महसुस गरी देशलाई हिन्दुराष्ट्र सहित संवैधानिक राजतन्त्र बनाएर देशलाई एकतामा बाँध्न सकिन्छ। यसबाट देशको स्वाभीमानमा पनि वृद्धि हुनेछ।

साथै विदेशीको हस्तक्षेप र दवाव धेरै नियन्त्रण हुनेछ। जसरी राजतन्त्र हुँदा नेपालका विदेशमा निकै राम्रो इज्जत कायम रहेको तथ्य हामी सबैलाई अबगत नै छ। यी माथिका सबै विषय राप्रपाले चाहेका कुरा हुन्।

राप्रपाका नेताले यस्ता बिषयमा आवाज जोडतोडले उठाउनु पर्ने हो तर सुनिएको छैन। आफ्ना नीति र सिद्धान्त मिल्नेसँग संगै बसेर वार्ता गरी कार्यगत एकता गर्न सकिन्छ। अहिले लोकप्रिय आवाज सहित सडकमा आन्दोलनमा सँगै उत्रिन किन हिम्मत गर्दैनन् राजेन्द्र लिङदेनहरु।

ठूला दल भनिएका नेताहरुले जनहितमा कार्य गर्न नसकेपछि अब यी साना दलको लागि सुवर्ण अवसर हुनसक्छ। यी साना दलले पनि ठूला दललाई विश्वासमा लिएर संविधानलाई जनहितमा संशोधन गर्न आवश्यक छ। भ्रष्टचार र कुशासनले गाँजेको देशमा किसान मात्र पीडित छैनन्।

बेरोजगार युवा, व्यवसायी, विद्यार्थी तथा इमान्दार कर्मचारी सबै सरकारप्रति आक्रोश भएकाले जनताको आक्रोश कम गर्नपनि केही गतिला निर्णय सरकारले गर्न थालेमा जनताको आक्रोश केही कम हुनसक्छ।

तर सरकार केवल विपक्षी दलसँगको टकरावमा अलमलिएको छ। या विपक्षी दलले सरकारलाई काम गर्न डिस्टर्ब गरिरहेको छ, जसको जनताले निगरानी गरिरहेका छन्। ठूला भ्रष्टहरुको फाइल अघि बढाउन कुन कारणले रोकियो यस्को पुष्ट्याइँ सरकारले दिनुपर्छ।

सहकारी पीडितको उद्धारको लागि संसदीय आयोग बनाइएको छ। यो राम्रो काम हो। यो संगै बन्नुपर्ने अपार्टमेन्ट पीडितको लागि पनि आयोग अत्यावश्यक छ। यो पहिला पनि बनिसकेको आयोग हो।

पछि अपार्टमेन्ट पीडित आयोगको अध्यक्षलाई अन्यत्र पठाएपछि खाली भएको आयोगको अध्यक्ष अहिलेसम्म नियुक्ति भएको छैन। सुधिर बस्नेतको प्रख्यात अपार्टमेन्ट बालकुमारीको भेगास हाउजिङ पनि हो।

यो १४ बर्षदेखि अहिलेसम्म निर्माण पूरा नभएर अधुरो छ। उक्त अधुरो भेगासको अपार्टमेन्टमा अहिले उपभोक्ता मध्ये १०० जना भन्दा बढि पीडितले आफ्ना फ्ल्याट आफै बनाएर सुकुम्बासी जस्ता भएर बस्न बाध्य भएका छन्। जोसंग लालपुर्जा छैन।

सुधिरले बैंक र संचयकोषको ऋण अहिलेसम्म भुक्तान नगरेर ऋण चौगुना बढी भइसकेको छ। बैंकको ब्याज जति बढेपनि त्यस्को कुनै लिमिट नहुने भएकाले व्यवसायीलाई अन्याय भइरहेको छ।

यसतर्फ सरकारको ध्यान जाओस्। त्यसकारण अपार्टमेन्ट पीडित तथा प्रमोटरको हितमा पनि शीघ्र आयोग बनाएर राहत दिने कार्य ओली सरकारले गरोस्। अहिले कर्णाली प्रदेशमा विद्युतको कमी भएर कुनैपनि उद्योगहरु राम्रोसँग संचालन हुन सकिरहेका छैनन् भनी समाचारमा आइरहेका छन्।

कर्णाली प्रदेश आफै बिद्युत उत्पादनमा प्रचुर संभाव्यता भएको प्रदेश हो। कर्णालीको विद्युत अहिलेसम्म पर्याप्त मात्रमा उत्पादन र प्रसारण नहुनुले यस क्षेत्रलाई पूरा बेवास्ता गरिएको देखिन्छ।

भारतीय कम्पनी जिएमआरले लामो समयदेखि कर्णालीको विद्युत आयोजना निर्माण नगरी नेपाललाई धोका दिए पनि यसलाई हटाउने कारबाही गरिएको छैन।

सरकारले बिद्युत बेच्नु भन्दा पहिला कर्णाली प्रदेशमा पर्याप्त बिद्युत आपूर्ति गरोस्। भारतबाट काठमाण्डौ जोड्ने प्रशस्त सडक भएको र फास्ट ट्रयाक पनि बन्दै गरेकोले अहिले भारतबाट रेल ल्याउनु भन्दा सरकारले कर्णालीका डाँडाकाँडामा केवल कार र रोपवे संचालन गरोस्।

सुर्खेत, जुम्ला, रारा, हुम्लामा केवलकार चलाओस्। यसलेमात्र विकट गाउँका जनताको उद्धार हुनेछ। अनि विदेशी पर्यटक दुर्गम स्थानमा पुग्नेछन्। कर्णाली प्रदेशबाट चीन जाने नाकाहरु स्तरीय बनाइयोस्।

त्यहाँका जनतालाई चीनसँग ब्यापार गर्न सुविधायुक्त सडक तथा केवलकार निर्माण गरियोस्। यसतर्फ ध्यान दिने हो भने मात्र सरकारप्रति जनताको आस बढ्ने छ र आउँदो निर्वाचनमा जनताले मत दिनेछन्। यसरी विद्युत र खाद्यान्नमा देश आत्मनिर्भर बनाउनेतर्फ सरकार केन्द्रित हुने हो भने सरकारको साख निकै बढ्न सक्छ।

नेपालको जडिबुटीलाई विदेश निकासा गरौं। गाँजाखेतीलाई बैधता दिएर कार्यन्वयनमा ल्याएर गाँजाबाट कपडा, तेल, औषधि बनाएर बेच्ने हो भने अरबौ डलर आउन सक्छ। यसबाट हाम्रा किसान लाभान्वित हुनेछन्। लोकल रक्सी ब्राण्डेड गरी उपयोग गर्ने र बेच्न दिने हो भने गरिब नेपाली सम्पन्न हुनेछन्।

नेपालको हिमाली पानी अरबको देशहरुमा बेच्न सके नेपालले अरबौं कमाउन सक्छ। देशको श्रोत भरपुर उपयोग गरौं। जसरी हुन्छ देशलाई आर्थिक सम्पन्न बनाऔं। अब जनता भाषणमा होइन कार्यन्वयनमा मात्र विश्वास गर्छन्।

लोकप्रिय मेयर बालेन शाहको विरुद्ध आफ्ना वडा सदस्य र पछिल्लो अवस्थामा उपमेयरलाई समेत दुरुपयोग गर्ने हो भने काठमाण्डौबाट एमाले बढारिन सक्छ प्रधानमन्त्री ज्यू। जनताले सरकारका हरेक हर्कतलाई निगरानी गरिरहेका छन्।

देश र जनताहितमा कार्य गर्ने जो कोही भएपनि उनीहरुलाई सहयोग गरौ यसैमा पार्टी र देशको हितमा हुनेछ। त्यस्तै गरेर महाबीर पुन, कुलमानका सही कार्यमा पनि आवश्यक सहयोग पुर्‍याउनमा बढी जोड दिउँ। यसैमा एमाले र प्रधानमन्त्री केपी ओलीको हित हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *