गुणस्तरीय शिक्षाको सुनिश्चितता आजको आवश्यकता होः नगर प्रमुख आचार्य

डिसी नेपाल
२३ भदौ २०८१ २१:५८

पोखरा। पोखरा महानगरपालिका वडा नं.२३ कुद्वी डाँडा स्थित श्री हर्पनकोट माध्यमिक विद्यालयको शैक्षिक अवस्था बारे छलफल तथा अन्तरक्रिया गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा विद्यालयको पछिल्लो शैक्षिक अवस्था र सुधारका पक्षहरू बारे छलफल तथा अन्तरक्रिया गरिएको हो।

सो क्रममा नगर प्रमुख आचार्यले ग्रामीण क्षेत्रमा रहेको उक्त विद्यालयको शैक्षिक अवस्था प्रति सन्तोष व्यक्त गर्दै थप सुधारका लागि आवश्यक पहल गरिने बताए। ग्रामीण क्षेत्रमा रहेका अधिकांश विद्यालयहरूको प्रमुख समस्याका रूपमा विद्यार्थीहरूको न्यून सङ्ख्या रहेको उल्लेख गर्दै उनले विद्यालयहरूलाई सुविधा सम्पन्न र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सके विद्यार्थीहरूको पलायन रोक्न सकिने धारणा राखे।

‘महानगरपालिकाले बर्सेनि ठुलो रकम शिक्षा क्षेत्रमा खर्च गर्दै आइरहेको छ, तर पनि ग्रामीण क्षेत्रका हाम्रा विद्यालयहरू खाली भइरहेका छन्, प्रमुख आचार्यले भने, यसले हाम्रा सामुदायिक विद्यालयहरूमा समस्या छ भन्ने कुरा इङ्गित गर्दछ, यसको समाधानका लागि हाम्रा विद्यालयहरूलाई सबै हिसाबले सुविधायुक्त बनाउँदै गुणस्तर वृद्धि गर्नुको विकल्प छैन।’ उनले महानगरपालिका मातहतका शैक्षिक संस्थाहरूलाई यस तर्फ ध्यान केन्द्रित गर्न शिक्षा अधिकारीहरू मार्फत निर्देशन दिए।

स्थानीय समाजसेवी एवं पूर्व राज्यमन्त्री महादेव गुरुङले ग्रामीण क्षेत्रमा शिक्षाको अवस्था नाजुक रहेको भन्दै त्यसको सुधारका लागि तत्काल आवश्यक कदम चाल्न सुझाव दिए। गाउँ गाउँमा रहेका विद्यालयहरू खाली हुँदै गएको प्रति गहिरो चिन्ता व्यक्त गर्दै उहाँले आवश्यक पूर्वाधार, जनशक्ति र प्रविधिको उचित प्रबन्ध गरिदिन अनुरोध गरे।

श्री हर्पनकोट माध्यमिक विद्यालयका प्रध्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतले गाउँका वस्तिहरू खाली हुँदै जाँदा विद्यालयका अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या कम हुँदै गएको बताए। सहर केन्द्रित सुविधाहरूको विकेन्द्रीकरणका उनीहरूले जोड दिए। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२३ का वडा अध्यक्ष रामकाजी गुरुङ, पोखरा १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगी र पोखरा २२ का अध्यक्ष हिमलाल बराल लगायतको उपस्थिति रहेको थियो।

२०३८ सालमा स्थापना भएको उक्त विद्यालयका बाल शिक्षा देखी कक्षा १० सम्म करिब ६० जना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्। उनीहरू अधिकांश गरिब तथा विपन्न परिवारका बालबालिकाहरू रहेका विद्यालयले जनाएको छ। हाल विद्यालयमा मा।वि ४, निमावि ३ र प्रावि ४ गरी ११ जनाको दरबन्दी रहेको छ भने एक जना लेखापाल निजी स्रोतबाट राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *