देश छाडेर विदेशमा शरण लिनु परेपछि भेनेजुएलाका राष्ट्रपति पदका उम्मेदवार गोन्जालेजले के भने ?

डिसी नेपाल
२४ भदौ २०८१ १०:१७

काठमाडौं । भेनेजुएलाको राष्ट्रपति पदका उम्मेदवार रहेका विपक्षी नेता एडमन्डो गोन्जालेजले आफू लोकतन्त्रका लागि लडिरहने बताएका छन् ।

गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएका छन् । भेनेजुएला छोड्नु अघि, गोन्जालेज धेरै हप्तासम्म कराकसको स्पेनी दूतावासमा लुकेका थिए।

जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक उथलपुथल भएको छ । यस चुनावी नतिजामा निकोलस मदुरो विजयी घोषित भएका छन् ।

गोन्जालेजको अडियो सन्देश पनि भेनेजुएलाको प्रेस टोलीद्वारा जनतामा प्रसारण भइरहेको छ। यस सन्देशमा उनले भनेका छन् – हामी स्वतन्त्रताको लागि हाम्रो लडाइँ जारी राख्नेछौं र छिट्टै भेनेजुएलामा लोकतन्त्रको पुन: स्थापना गर्नेछौं।

स्पेन जानुअघि गोन्जालेजलाई पक्राउ गर्न वारेन्ट पनि जारी गरिएको थियो। उनीमाथि सरकारविरुद्ध षड्यन्त्र र अन्य गम्भीर आरोप लगाइएको थियो।

“दबाब र धम्कीका कारण मैले भेनेजुएला छोड्नुपर्यो,” गोन्जालेजले स्पेन पुगेका आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै भने।

भेनेजुएलाका विपक्षी नेता मारिया कोरिनाले सामाजिक सञ्जालमा आफ्नो ज्यान खतरामा परेकाले गोन्जालेजले देश छाड्नुपरेको लेखेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *