ललितपुरमा प्रहरीले नै फिल्मी शैलीमा ट्याक्सी रोकेर लाखौंका महंगा उपकरण लुटे
काठमाडौं। काठमाडौं उपत्यकामा खटिएका कतिपय प्रहरी कर्मचारीमाथि प्रश्न उठिरहेको छ । काठमाडौ प्रहरी परिसरमा ५० लाख लेनदेन गरी आरोपीलाई छाडेको आरोपमा अनुसन्धान भैरहेका बेला ललितपुरको सातदोबाटोस्थित कृषि अनुसन्धान परिषद् नजिकै भएको लुटपाटमा प्रहरी नै संलग्न भएको खुलेको छ।
काठमाडौंको महाराजगन्जमा कार्यरत प्रहरी जवानले अरू ४ जनासँग मिलेर हस्तकला चलाउनेले विदेशबाट ल्याएको सुन, आईफोन र एप्पल कम्पनीको ल्यापटप लुटपाट गरेका हुन्।
लुटमा संलग्न भएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी जवान डम्मलाल उपाध्याय, खोटाङको दिक्तेल-११ घर भएका विकाश श्रेष्ठ उर्फ प्रकाश र रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ घर भएर बुढानीलकण्ठ बस्ने मनोज भुजेल उर्फ गुन्दासलाई पक्राउ गरेको छ।
आरोपीहरूलाई अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटोमा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए। उनका अनुसार आरोपीहरूले प्रहरी हौँ भनेर लुटेको थिए।
साउन २९ मा आरोपीहरूले आईफोन-१४ दुई वटा, सामसुङ अल्ट्रा-२४ मोबाइल दुईवटा, एपल कम्पनीको ल्यापटप एउटा र गेम बक्स लुटेका थिए। विदेशबाट मणि कुमार राईले मगाएको ४ तोला बराबरको दुईथान सुनको सिक्री पनि उनीहरूले लुटेर भागेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोदावरी जाँदै गरेका हस्तकला सहित दुईजना चढेको ट्याक्सीलाई मोटरसाइकलबाट फलो गरेर सातदोबाटो पुगेपछि लुटपाट भएको एसपी आचार्यले जानकारी दिए।
लुटमा संलग्न ३३ वर्षीय विकाश श्रेष्ठ र मनोज भुजेल बुढानीलकण्ठ बस्दै आएका छन् । बाजुराको त्रिवेणी गाउँपालिका-६ घर भएका डम्मलाल उपत्यका अपराध अनुसन्धान कार्यालयको महाराजगन्ज शाखामा कार्यरत थिए। अहिले उनीहरुविरुद्ध अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Facebook Comment