पूर्वसभामुख चित्रलेखा यादवलाई अस्ट्रेलियाको लागि नेपाली राजदूत सिफारिस गरिँदै

डिसी नेपाल
२४ भदौ २०८१ १३:१६

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आइतबार बालुवाटारमा भएको भेटको क्रममा यादवको नाम सिफारिस गरिएको यादवनिकट स्रोतले जनाएको छ।

पार्टी सभापति देउवानिकट मानिएकी नेतृ यादव यसअघि उपसभामुख र शिक्षामन्त्री समेत भैसकेकी छिन्। उनी पार्टीको कोषाध्यक्षसमेत भइसकेकी छिन् । ०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिइन्।

त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीको अध्ययन गरेकी उनी विश्वविद्यालयकी गोल्ड मेडलिस्ट समेत हुन्। उनको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग व्यक्तिगत सम्बन्ध पनि राम्रो भएकोले उनले देशको कूटनीतिक सम्बन्ध पनि सुमधुर हुने विश्वास गरिएको छ।

यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिस भएको थियो। तर, उनीमाथि यसअघि इजरायलको राजदूत हुँदा लगेको सहयोगी फिर्ता नगरेको आरोप लागेपछि सरकारले आँफै नाम फिर्ता लिएको थियो। अब बस्ने मन्त्रिपरिषद् बैठकले यादवको नाम राजदूतमा सिफारिश गर्ने बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *