पाकिस्तानमा इमरान खानको रिहाइको माग गर्दै हिंस्रक प्रदर्शन चर्कियो
काठमाडौं । पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीका नेता र कार्यकर्ताहरूले आइतबार इस्लामाबादको बाहिरी भागमा र्यालीको आयोजना गरेका थिए। कार्यकर्ताहरूले आफ्ना नेता इमरान खानको रिहाइको माग गरिरहेका थिए। भीड तितरबितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।
गत अगस्टदेखि जेलमा रहेका इमरानको रिहाइको पक्षमा समर्थन जुटाउन पीटीआईले आइतबार इस्लामाबादमा र्याली आयोजना गरेको थियो। जिल्ला तथा सत्र अदालतले इद्दत मुद्दामा दोषी ठहर गरेको विरुद्धको पुनरावेदन स्वीकार गरेपछि इमरान जेलबाट रिहा हुने अपेक्षा गरिएको थियो ।
तर, त्यसको केही समयपछि नै राष्ट्रिय जवाफदेहिता ब्यूरो (एनएबी) ले उनलाई नयाँ तोशखाना मुद्दामा पक्राउ गरेको थियो । पछिल्लो दुई तोशाखाना मुद्दामा उनको सजाय पहिले नै निलम्बन गरिएको थियो, जबकि इस्लामाबाद उच्च अदालतले सिफर मुद्दामा पनि उनलाई सफाइ दिएको थियो।
इस्लामावाद प्रहरीले पीटीआई कार्यकर्तालाई तितरबितर पार्न अश्रु ग्यास प्रहार गरेको छ । सो क्रममा इमरानका समर्थकहरुको प्रहरीसँग झडप समेत भएको थियो । र्याली पार्टीका नेता हमाद अजहरले भीडलाई सम्बोधन गरेपछि सुरु भएको थियो। उनले मुलुकमा विधिको शासन र संविधानको सर्वोच्चता कायम गर्नका लागि आज समर्थकहरु भेला भएको बताए ।
उनले आज कुनै पनि अवरोधले कार्यकर्तालाई रोक्न नसक्ने बताए । र्यालीमा बोल्दै, पीटीआई नेता अली मुहम्मद खानले इमरानको रिहाइको माग गरे र कसरी पार्टी नेताहरूलाई सरकारद्वारा ‘साइडलाइन’ गरिएको थियो भनेर दुःख व्यक्त गरे। अली मुहम्मदले भने, ‘मैले कहिल्यै सोचेको थिइनँ कि त्यस्तो दिन आउनेछ जब पाकिस्तान बचाउन हाम्रो पार्टी बनाएका इमरान खानलाई जेल हालिनेछ।’
र्यालीको अन्त्यमा पीटीआई समर्थकहरूलाई तितरबितर पार्न खोज्दा पुलिससँग झडप भएको पाकिस्तानी अखबार डनले रिपोर्ट गरेको छ। सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्विर र भिडियोमा प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको देख्न सकिन्छ ।
प्रहरीका अनुसार स्थानीय प्रशासनले र्यालीका लागि समयसीमा तोकेको थियो तर म्याद सकिएपछि प्रहरीले समर्थकलाई तितरबितर पार्ने प्रयास गर्दा झडप भएको थियो र अन्तत: अश्रुग्यास प्रहार गरेको थियो ।
Facebook Comment