नेपाल एयरलाइन्समा सुधारका लागि नीतिगत हस्तक्षेप गर्छु: मन्त्री पाण्डे

डिसी नेपाल
२४ भदौ २०८१ २२:०५

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन्।

नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपकराज जोशीको स्वागत तथा पर्यटन क्षेत्र सम्बद्ध संघ संस्थाहरूबीचको परिचयात्मक कार्यक्रममा उनले निगमको नीतिगत सुधारका लागि अब हस्तक्षपकारी योजना अगाडि बढाउने बताए। ‘नेपाल एयरलाइन्स सुधारको बाटोमा जान जरूरी छ। म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन, अब नीतिगत हस्तक्षेपको बाटोमा अगाडि बढ्छु। यथास्थितिलाई भत्काएर सुधारको दिशामा लैजान्छौँ, सुधारिएको नेपाल एयरलाइन्स बनाउन चाहन्छौँ’, उनले भने।

पर्यटनमन्त्री पाण्डेले निगम सुदृढ भएमा हवाई उडानमा निजी क्षेत्रको मनोमानी घट्ने विश्वास व्यक्त गरे। निगमले न्यूनतम शुल्कमा सेवा दिने वातावरण बन्नेबित्तिकै हवाई यात्रा सुलभ र सहज हुने उनको भनाइ थियो। मन्त्री पाण्डेले ठूलो खर्च गरेर बनाइएका विमानस्थल सञ्चालन गरेर जनतालाई सर्वसुलभ सेवा दिइनुपर्नेमा जोड दिए। ‘आन्तरिक उडानलाई सुरक्षित र भरपर्दो बनाइ विमान सेवा बढाएर दुर्गममा बढीभन्दा बढी सेवा दिन जरूरी छ। बन्द अवस्थामा रहेका विमानस्थल सञ्चालन गर्नेतर्फ पनि ध्यानदिनुपर्ने आवश्यकता छ’, उनले भने।

कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले ठूलो लगानीमा बनेका पर्यटकीय पूर्वाधारको उपयोगका लागि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनुपर्नेमा जोड दिए। नेपाल एशोसिएशन अफ टुर एण्ड ट्रावल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको सहकार्यलाई फराकिलो बनाएर लैजानुपर्ने धारणा राखे। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव शोनाम ग्यालजेन शेर्पा र प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्र भट्ट, वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीलगायतले पर्यटन क्षेत्रको विकासका लागि पर्यटनमैत्री नीति बनाउन आग्रह गरे।

नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले बोर्डलाई नयाँ ढंगले अगाडि बढाएर प्रवर्द्धनात्मक कामलाई तीब्रता दिइने बताए। बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बोर्डले सक्षम र जुझारु नेतृत्व पाएकाले आगामी कार्यक्रम परिणाममुखी बन्ने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *