जिल्ला अस्पतालमा हुम्लामा बिरामीको चाप बढ्यो

डिसी नेपाल
२५ भदौ २०८१ ८:१४

हुम्ला। हुम्ला जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ । मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालमा बिरामीको अत्यधिक चाप भएको अस्पतालले जनाएको छ ।

मौसमी बिरामीको चाप अत्यधिक बढेसँगै अस्पतालमा बिरामी राख्ने श्ययाको पनि अभाव हुन थालेको अस्पतालका डाक्टर सुनिल पुजाराले बताए । १५ श्ययाको क्षमता भएको हुम्ला अस्पतालमा हिजोआज बिरामी बढी भर्ना हुँदा समस्या भएको उनको भनाइ छ ।

अस्पतालमा आइतबार मात्रै एक सय ५० जना विरामीले उपचार गराएका छन् । जसमा सबैभन्दा बढी ज्वरोका विरामी, झाडापखाला, निमोनिया र ग्याष्ट्रिकलगायत बिरामी छन् । सोमबार साँझ ४ बजेसम्म झण्डै ९० जना बिरामीको उपचार गरिएको अस्पताल स्रोतले बताएको छ ।

केही दिनअघि दैनिक ५० जनासम्म उपचारका लागि पुग्ने गरेको भएपछि पछिल्ला दिनमा मौसमी रुघाखोकी, ज्वरोका बिरामी बढ्ने गरेको डा पुजाराले बताए ।

जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम आसपास गाउँका ठेहे, जोदाम, डाँडाफया, धारापोरी, बुराउँसे, बरगाउँ, यांचु, माजा, छिप्रालगायत गाउँबाट पुग्ने गरेका छन् । अहिले जिल्ला अस्पतालमा बिरामीको चाप बढेको भए पनि औषधि अभाव नभएको अस्पतालले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *