कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्की अनशन स्थलबाटै प्रहरी नियन्त्रणमा

डिसी नेपाल
२५ भदौ २०८१ २०:३८

विराटनगर। प्रदेश सभा सचिवालयको गेटअगाडि अनशन बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पक्राउ परेका छन्। निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले उनलाई अनशन स्थलबाटै नियन्त्रणमा लिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङले उक्त स्थानमा निषेधाज्ञा जारी गरेपनि त्यसलाई बेवास्ता गर्दै आफ्ना समर्थकका साथमा कार्की ४ बजेदेखि अनशन बसेका थिए। उनको समर्थनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो। उनीहरूको उपस्थितिकैबिच प्रहरीले कार्कीलाई अनशन स्थलबाट नियन्त्रणमा लिएको हो। त्यसक्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबिच झडपसमेत भएको छ।

स्थानीय प्रशासनले कार्कीको अनशनलाई रोक्न आजै ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, र्‍याली, धर्ना, प्रदर्शनीलगायतका विरोधजन्य कार्य गर्न रोक लगाएको थियो।

विराटनगरलाई केन्द्रविन्दु बनाई हुनसक्ने अनशनलगायत विरोधका कार्यक्रमलगायतका गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले उल्लेख गरेको छ।

आफू मुख्यमन्त्री भएका बेला सुरु गरेका महत्वपूर्ण र जनउत्तरदायी कार्यक्रमहरू अहिलेको सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्की अनशन बसेका हुन्। आफू नेतृत्वको सरकार हुँदा सञ्चालन गरिएका यी कार्यक्रम सरकारले कटौती गरेको भन्दै कार्कीले विरोध गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *