न्युयोर्कमा ओली-मोदी साइडलाइन भेटवार्ता अनिश्चित

डिसी नेपाल
२७ भदौ २०८१ ७:५१

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघ (यूएन)को ७९औं महासभाका दौरान प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ता गराउने गृहकार्य थालिकी छन्। भारतीय प्रधानमन्त्रीलाई भेटाउनका लागि परराष्ट्रमन्त्री राणाले जिम्मेवारी पाए पनि भेट हुने सम्भावना भने कम देखिएको छ।

परराष्ट्रमन्त्री राणाले दुई मुलुकका प्रधानमन्त्रीलाई भेट गराउन दौडथुप गरिरहेको भए पनि यसपटक भारतीय प्रधानमन्त्री मोदी नेपालका प्रधानमन्त्री ओलीसँग भेट्न अनिच्छुक छन्। भारतसँगको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्रीमा राणालाई बनाएका भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका प्रधानमन्त्रीसँग खुसी देखिँदैनन्।

सन् २०१९ मा नेपालले संविधान संशोधन गरेर नेपालको चुच्चेनक्सा बनाएपछि भारतीय प्रधानमन्त्री मोदीसँग ओलीको सम्बन्धमा सुधार आउन सकेको छैन। सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री राणामार्फत न्युयोर्कमा भेटवार्ताका लागि गृहकार्य भए पनि भारतीय पक्षले ग्रिन सिग्नल नदिएको परराष्ट्रका एक अधिकारीले बताए।

महासभा २५ भदौबाट सुरु हुँदै छ। महासभाको उच्चस्तरीय छलफल ८ देखि १२ असोजसम्म चल्ने कार्यक्रम छ। नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गरेर जाने प्रधानमन्त्री ओलीले सो उच्चस्तरीय छलफलमा नेपालका तर्फबाट सम्बोधन गर्नेछन्।

यसपटक ७ र ८ असोजमा भने राष्ट्रसंघकै आयोजनामा ‘समिट अफ द फ्युचर’ कार्यक्रमसमेत हुन लागेको छ। त्यसमा पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। भारतका प्रधानमन्त्री मोदी भने समिट अफ द फ्युचर कार्यक्रममा सहभागी भएर सम्बोधन गर्नका लागि मात्र न्युयोर्क जान लागेका हुन्।

५ असोजमा अमेरिकाको विल्मिङटनमा चार मुलुकको संगठन क्वाड (अमेरिका, भारत, जापान र अस्ट्रेलिया)को बैठक हुँदै छ। सो बैठकमा मोदी सहभागी हुन जाँदै छन् । मोदीले त्यहाँ बसोबास गर्ने भारतीय समुदायलाई सम्बोधन गर्नेछन् । त्यहाँबाट भारतीय प्रधानमन्त्री मोदी न्युयोर्क पुग्नेछन्।

मोदी यस वर्षको संयुक्त राष्ट्रसंघको महासभामा भने सहभागी हुनेछैनन्। भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त राष्ट्रसंघको शिखर सम्मेलनमा भारतको प्रतिनिधित्व गर्ने र सम्मेलनलाई सम्बोधन गर्नेछन्।

७ असोज अर्थात् २३ सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री मोदीले भविष्यको शिखर सम्मेलनमा भाग लिएर नयाँ दिल्ली फर्कनेछन्। मोदी भारत फर्किनुअघि २२ सेप्टेम्बरमा ५ मिनेटका लागि भए पनि ओलीसँग भेट गराउने प्रयासमा परराष्ट्रमन्त्री राणा लागिपरेकी छन् ।

राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि पार्वथनेनी हरिशसँग न्युयोर्कमा छलफल गरी दुई नेताबीचको भेटवार्ताको सम्भावना खोजी गरिरहेका छन्।

‘दुई देश र जनताबीचको गहिरो र पुरानो सम्बन्धलाई रेखांकित गर्दै संयुक्त राष्ट्रसंघमा भारत–नेपाल साझेदारीलाई अगाडि बढाउन दुवै सहमत भएका छन्,’ थापा र हरिशबीचको भेटपछि संयुक्त राष्ट्रसंघका लागि भारतको स्थायी नियोगले सामाजिक सञ्जाल एक्समा लेखेको छ।

यसअघि थाइल्यान्डमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनका क्रममा ओली र मोदीबीच भेटवार्ताको तयारी भइरहेको थियो । थाइल्यान्डको आकस्मिक राजनीतिक फेरबदलका कारण शिखर सम्मेलन स्थगित भएको थियो।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *