पेरूमा माओवादी विद्रोहलाई ‘सफलतापूर्वक’ दबाउने ‘अधिनायकवादी’पूर्व राष्ट्रपति फुजिमोरीको निधन

डिसी नेपाल
२७ भदौ २०८१ १०:४२

काठमाडौं । मानव अधिकार हनन र भ्रष्टाचारमा दोषी ठहरिएका पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको ८६ वर्षको उमेरमा निधन भएको उनकी छोरीले पुष्टि गरेकी छन्। फुजिमोरीले सन् १९९० देखि २००० सम्म पेरुमा शासन गरेका थिए।

उनी भ्रष्टाचारको आरोप लागेपछि पदबाट हट्न बाध्य भएका थिए । राष्ट्रपति हुँदा वामपन्थी छापामार विद्रोहविरुद्ध उनको कडा धारणाले उनीमाथि मानव अधिकार हननको आरोप पनि लागेको थियो । तर उनका समर्थकहरूले भने विद्रोहीहरूले सत्ता कब्जा गर्ने सम्भावना देखिएको समयमा उनीहरूलाई पराजित गरेकोमा उनको प्रशंसा गर्छन्।

उनी देशबाट भागे तर पछि गिरफ्तार गरियो र प्रत्यर्पित गरियो । त्यसपछि उनी दोषी ठहरिएर जेल गएका थिए । उनकी छोरी केइको फुजिमोरीले पूर्व राष्ट्रपतिको “क्यान्सरसँग लामो लडाइँपछि” निधन भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । फुजिमोरीका डाक्टरले उनको “जिब्रोको क्यान्सर” बाट मृत्यु भएको पुष्टि गरे।

पूर्व राष्ट्रपति फुजीमोरीलाई सन् १९९० को दशकको सुरुमा भ्रष्टाचार, शक्तिको दुरुपयोग र दुईवटा डेथ स्क्वाड नरसंहारमा जिम्मेवार रहेको लगायतका धेरै मामिलाहरूमा दोषी ठहर गरिएको थियो। फुजिमोरीलाई २५ वर्षको जेल सजायको १५ वर्ष भन्दा बढी पूरा गरिसकेपछि गत डिसेम्बरमा लिमाको बारबाडिलो जेलबाट रिहा गरिएको थियो।

पेरुको संवैधानिक अदालतले ६ वर्षअघि जारी गरिएको उनको माफी पुनर्स्थापित गरेको थियो। उनकी छोरीले उनको मृत्युको घोषणा गरेपछि फुजिमोरीका समर्थकहरू उनको घर बाहिर भेला हुन थालेका छन् । फुजिमोरीका डाक्टर जोस कार्लोस गुटिरेजले पूर्व राष्ट्रपतिलाई यस वर्षको सुरुमा जिब्रोको क्यान्सर भएको पत्ता लागेको र “रोगका जटिलताहरूका कारण” उनको मृत्यु भएको बताए।

फुजिमोरीका समर्थकहरूका लागि उनी पेरुलाई क्रूर माओवादी विद्रोही समूह सेन्डेरो लुमिनोसो (शाइनिंग पाथ) बाट बचाउने आदर्श पात्र थिए । उनका समर्थकहरू फुजिमोरीले देशलाई आकाश छुने महंगीपछि अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याएको विश्वास गर्छन् ।

तर द्वन्द्वका हजारौं पीडितहरूका लागि फुजिमोरी एक अधिनायकवादी व्यक्तित्व र एक क्रूर नेता थिए। जापानी आप्रवासीका छोरा फुजिमोरीले क्रुर रूपमा शासन गरेको उनीहरू विश्वास गर्छन् । उनी पहिलो पटक सन् १९९० मा राष्ट्रपति निर्वाचित भएका थिए जतिबेला विद्रोह चरम सीमामा थियो।

राष्ट्रपति निर्वाचित भएको दुई वर्षपछि फुजिमोरीले सांसदहरूले आफूलाई देशलाई आवश्यक पर्ने उपायहरू लिनबाट रोकेको आरोप लगाउँदै देशको संसद भंग गरे । उनको सरकारले विद्रोही समूहलाई पराजित गर्न सफल त भयो तर यस क्रममा कैयौं हजार मानिसहरूले ज्यान गुमाए ।

उनको अधिनायकवादी सरकारको दमनको परिणामस्वरूप अनुमानित ६९ हजार मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ । फुजिमोरीलाई अन्ततः मानव अधिकार उल्लङ्घनको आरोपमा दोषी ठहर गरियो । दोषी ठहर गरिँदा उनले मुख्यतया गरिब आदिवासी समुदायहरूलाई लक्षित गरेको आरोप सही ठहर गरिएको थियो ।

फुजिमोरीले भ्रष्टाचारको आरोप लागेर पद छाड्न बाध्य हुनुअघि करिब १० वर्ष पेरुमा शासन गरे । पद छाडेपछि उनले जापानमा शरण मागे । त्यसपछि उनी चिली फर्किएका थिए जहाँ उनलाई गिरफ्तार गरेर पेरुमा सुपुर्दगी गरियो ।

आज उनकी छोरी केइको पेरुको सबैभन्दा ठुलो राजनीतिक दलको नेता हुन्। उनले पछिल्लो राष्ट्रपति चुनाव थोरै अन्तरले हारेकी थिइन् । उनले सन् २०२६ मा फेरि चुनाव लड्ने घोषणा गरिसकेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *