सहकारी ठगीमा सार्वजनिक लेखा समितिका सभापति पोखरेल मुछिए, भन्छन्- ममाथि न्याय गर्नुस्

डिसी नेपाल
२७ भदौ २०८१ ११:५५

काठमाडौं। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल आफ्नै निर्वाचन क्षेत्रको स्थानीय सहकारीको रकम हिनामिना प्रकणमा मुछिएका छन् ।

उनी मोरङको धनपालथाल गाउँपालिका ४ मा रहेको उमा गौरी सहकारीको रकम अपचलनमा जोडिएको समाचार त्यहाँका स्थानीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन्।

विराटनगरबाट प्रकाशित मिलीजुली खबरले लेखा समितिका सभापति पोखरेल जोडिएको उक्त सहकारीमा सभापति पोखरेल र उनकी श्रीमती संलग्न रहेको उल्लेख गरेको छ।

समाचारका अनुसार १८ करोड ५१ लाख कुल पुँजी रकम रहेको सो सहकारीमा १२ करोड रुपैयाँ अपचलन भएको छ। यो सहकारीका संचालकले ऋण लिन आएका सदस्यहरूले सहकारीमा धितो राखेको सम्पत्तिलाई अन्य बैंकमा धितो राखेर सहकारीको नाममा ऋण लिने गरेको पाइएको छ।

मोरङ २ बाट निर्वाचित सांसद पोखरेलकी श्रीमती सोही सहकारीको सञ्चालक समितिको सदस्य रहेकी छिन्। उनी संचालक समितिको सदस्यमै रहँदा सहकारीको १२ करोड रकम हिनामिना भएको समाचारमा बताइएको छ।

स्थानीय विद्यालयमा शिक्षिका रहेकी उनकी श्रीमती रञ्जला कोइराला सहकारीको सञ्चालक समिति सदस्य रहेर रकम अपचलनमा संलग्न रहेको आरोप लागे पछि उनले सञ्चालक समिति सदस्य छाडेकी छिन्।

यस विषयमा लेखा समितिका सभापति पोखरेलसँग सम्पर्क गर्दा उनले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न गरिएको बताउँदै पञ्छिने प्रयत्न गरे । यद्यपि उनले त्यसको प्रतिवाद गर्ने सामथ्र्य भने देखाएनन्। उनले भने, ‘ममाथि न्याय गर्दिनुस् , चरित्र हत्या गरिएको छ। मेरो कुनै संलग्नता छैन।’

पोखरेललाई तपाईंको श्रीमती सञ्चालक समितिको सदस्य रहेकै बेलामा सहकारीको रकम अपचलन भएको रहेछ नि? भनेर डिसी नेपालले प्रश्न गर्दा कुनै प्रतिक्रिया दिएनन् । विषयान्तर गर्दैै उनले आफ्नो चरित्रहत्या नगरिदिन मात्रै आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *