कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा

डिसी नेपाल
२७ भदौ २०८१ १३:२५

विराटनगर। कोशी प्रदेशसभाका संसदीय समितिको निर्वाचन  २१ महिनापछि हुन लागेको छ। भाद्र २८ गते शुक्रबारका लागि तोकिएको निर्वाचनमा उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ।

प्रदेश सभा सचिवालयका अनुसार आजै उम्मेदवारको नामावली प्रकाशन ५ः १५ सम्ममा हुने र दाबी विरोधका लागि ५ः१० देखि ५ः३० सम्म, दाबी विरोधमाथि छान ५ः३० देखि ५ः४५सम्म, उम्मेदवारी फिर्ताको समय ५ः४५ देखि ६ः०० बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन ६ बजेर १५ मिनेटसम्ममा हुने जानकारी दिएको छ । त्यस्तै निर्वाचन भने २८ गते दिउँसो २ बजेदेखि हुने तालिका संसद् सचिवालयले जानकारी दिएको छ।

यसैबीच प्रदेशसभाको ७ वटै विषयगत समितिको सभापतिको उम्मेदवारको टुंगो लागेको छ। कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन्।

प्रदेश सभामा रहेका ७ समितिहरुमा एमाले र काँग्रेसले ३(३ र माओवादी केन्द्रले एक समितिको सभापति पाउने गरि सहमति भएको छ।

जसमा एमालेले आफ्नो भागमा परेका समितिहरूमा होमबहादुर थापा प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नाल न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादव उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तै काँग्रेसले पाउने सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद वान्तवा राई उम्मेदवार बन्ने भएका छन्।

त्यसैगरी माओवादीले पाउने सार्वजनिक लेखा समितिको सभापतिमा भने राजन किराँती उम्मेदवार बन्ने दलका नेता इन्द्र आङ्बोले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *