रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ

डिसी नेपाल
२७ भदौ २०८१ १९:२०

काठमाडौं। रक्षामन्त्री मानवीर राईले मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेना राष्ट्र र जनताको सेवामा सदैव क्रियाशील रहेको बताएका छन्।

रक्षा मन्त्रालयद्वारा नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलको स्वागत तथा सेवा निवृत्त प्रधानसेनापति प्रभुराम शर्माको बिदाइ कार्यक्रममा उनले नेपाली सेनाले इतिहासका हरेक कालखण्डमा देश र जनताका हितमा सरकारको निर्देशन पालना गर्दै आएको बताए।

मन्त्री राईले भने, ‘नेपाल राष्ट्रको निर्माणदेखि नै सेनाले सरकारको निर्देशनलाई जहिल्यै शिरोधार्य गर्दै मुलुक र जनताको सेवामा तत्पर रहिआएको छ। सेना राष्ट्रिय सुरक्षाका अतिरिक्त द्रुतमार्गसहित रणनीतिक महत्वका सडक पूर्वाधार निर्माणमा क्रियाशील छ।’

प्रधानसेनापति सिग्देलले नेपाली सेना संविधान, कानुन र स्थापित मूल्यमान्यताको परिधिभित्र रही देश र जनताको हितका काम गर्दै संगठनलाई सुदृढ तुल्याउने कार्यमा निरन्तर सक्रिय रहेको बताए।

रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगालले लामो अभ्यास, उच्च दृढता, आर्थिक अनुशासन, कानुनको परिपालना र अनुभवकै कारण गौरवमय इतिहास बोकेको नेपाली सेनाका संगठन प्रमुख भई दुवै जनाले राष्ट्र र जनताको श्रीवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गरे।

उनले भने, ‘मुलुकको समग्र सुरक्षा एवं प्रतिरक्षा प्रणालीलाई सुदृढ गर्न मन्त्रालयले नीति निर्माण र सेनाले कार्यान्वयन तहमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने हुँदा दुवै निकयबीच सदैव सुमधुर र पारस्परिक सहयोगात्मक सम्बन्ध रहिआएको छ।’

निवर्तमान प्रधानसेनापति शर्माले नेपाली सेनाजस्तो पवित्र संगठनको नेतृत्वमा रही राज्य र जनताको सेवामा राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न हरसम्भव प्रयत्न गरेको बताए।

मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले मन्त्रालय र सेनाबीच अत्यन्त घनिष्ठ, सौहार्दपूर्ण र सुदृढ सम्बन्ध रही आएको बताए। उनले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाधीनताको संरक्षण र सम्वर्द्धनलगायत मुलुकको समग्र सुरक्षा प्रणालीलाई सुदृढ तुल्याउन निवर्तमान प्रधानसेनापति शर्माले नेतृत्वमा रहेर निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गरे।

सेनाको थप संगठन सुदृढीकरण, प्रतिष्ठा वृद्धि तथा क्षमता विकासलगायत काममा प्रधानसेनापति सिग्देलको कार्यकालमा विशिष्ट योगदान भएको र काठमाडौं–तराई–मधेस दु्रतमार्गलगायतका विकास निर्माणलाई उच्च गतिमा अघि बढाउन सहयोग पुग्ने बताइएको छ। त्यस अवसरमा मन्त्री राईले प्रधानसेनापति र पूर्वप्रधानसेनापतिलाई सम्मान गर्दै मन्त्रालयकातर्फबाट मायाको चिनो प्रदान गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *