माओवादी अन्तरसंघर्षको प्रभाव विद्यार्थी संगठनमा

संस्थापन पक्षको अवरोधपछि प्राविधिक शिक्षा विशेष जिल्ला समितिको सम्मलेन स्थगित

डिसी नेपाल
२७ भदौ २०८१ २०:१३

काठमाडौं। नेकपा(माओवादी केन्द्र)को आन्तरिक विवादको प्रभाव पार्टीको विद्यार्थी संगठनमा समेत देखा परेको छ।

पार्टी निकट विद्याथी संगठन अनेरास्ववियु(क्रान्तिकारी)को आगामी असोज २ देखि ५ गतेसम्म हुने २३ औं राष्ट्रिय सम्मेलन अगावै विभिन्न जिल्ला र प्रदेशस्तरका सम्मेलन भइरहेका छन्। यी सम्मेलनहरुमा आफ्नो पक्षधर जिताउन नेताहरु आफैं सक्रियरुपमा लागेका छन्।

यही क्रममा बिहीबार काठमाडौंको थापाथली इञ्जिनियरिङ क्याम्पसमा हुन लागेको प्राविधिक शिक्षा विशेष जिल्ला समितिको तेस्रो सम्मेलन आपसी विवादले उग्ररुप लिएपछि अन्तिम समयमा स्थगन भएको छ। संस्थापन पक्षधर अखिल(क्रान्तिकारी)का महासचिव दिपेश पुनले आफू इतरका उम्मेदवार सुगम ढकाललाई नियन्त्रणमा लिएर उम्मेदवारी दिन रोक लगाए पछि सम्मेलन स्थगन भएको हो।

थापाथली क्याम्पसमा हुन लागेको सम्मेलनमा आफू इतर पक्षका ढकालको उम्मेदवारी रोक्न पुनले उनलाई एक रेष्टुेरेण्टमा लगेर उम्मेदवारी फिर्ता लिन दबाब दिएको र नमानेपछि हातपात गर्दै मोबाइल समेत जफत गरेको सम्मेलनमा सहभागी एक विद्यार्थी नेताले बताए। ती विद्यार्थी नेताका अनुसार धरपकड गर्दै उम्मेदवारी दिने समयमा अपहरणको शैलीमा रेष्टुरेण्टमा लगेर उम्मेदवारी दिनबाट बञ्चित गरेपछि निर्वाचन प्रक्रिया नै स्थगित गरिएको हो।

अध्यक्षका उम्मेदवार ढकालले अहिलेसम्म खोसिएको मोबाइल प्राप्त गर्न नसकेको उनको परिवारजनले जनाएका छन्। देशभरका विभिन्न जिल्ला र प्रदेशमा नेताहरुको आपसी सहमतिमा सर्वसम्मत र कतिपय स्थानमा निर्वाचन मार्फत अखिल(क्रान्तिकारी)को नेतृत्व चयन भइरहँदा आजको घटनाले निर्वाचन भाँड्न संस्थापन पक्ष लागेको इतर समूहको आरोप छ।

महासचिव पुन मातृ पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव वर्षमान पुन निकट मानिन्छन्। पुनले आजको सम्मेलनमा अराजक तवरले अवरोध सिर्जना गरेर निर्वाचन प्रक्रिया अवरुद्ध गराएको इतर पक्षले आरोप लगाएको छ ।

यसबारेमा पुनसँग प्रतिक्रिया लिने बारम्बार प्रयास गर्दा उनको मोबाइल स्विच अफ रहेकाले सम्पर्क हुन सकेन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *