सुदूरपश्चिममा बाढी : पहिरोले प्रमुख राजमार्ग अवरुद्ध

डिसी नेपाल
२८ भदौ २०८१ १४:५१

सुदूरपश्चिम। अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। ठाउँ ठाउँमा गएको पहिरोका कारण धनगढी-डडेलधुरा (भीमदत्त) , डडेलुधरा-दिपायल (केआईसिंह), बुडर-जोगबुढा सडक, खोड्पे-बझाङ(जयपृथ्वी) राजमार्गमा आवागमन अवरुद्ध भएको छ।

यसैगरी डोटीको जोरायल सडक,र सहजपुर-बिपीनगर सडकमा पनि गएको पहिरोले बाटो अवरुद्ध भएको छ। राजमार्गमा गएको पहिरोका कारण गन्तव्य तर्फ हिँडेका यातायातका साधन बीचबाटैमै रोकिएका छन्।

कैलालीको अत्तरियास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले वर्षासँगै गएरातिदेखि विभिन्न राजमार्गमा गएको पहिरोले राजमार्गमा आवागमन अवरुद्ध भएको जनाएको छ।

सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका सात जिल्लालाई जोड्ने भीमदत्त राजमार्गको छ-सात ठाउँमा पहिरो जाँदा यातायात आवागमन अवरुद्ध भएको छ। आज मध्यान्हनसम्म यो राजमार्गको कतिपय ठाउँको पहिरो पन्छ्याइएको छ।

अन्य कतिपय ठाउँको पहिरो पन्छ्याएर सडक यातायात सुचारु बनाउने प्रयास भइरहेको कार्यालयका प्रहरी सहायक निरीक्षक गंगादत्त भट्टले जानकारी दिए। अविरल वर्षासँगै सडक डुबानमा परेपछि कञ्चनपुरको डोके बजारदेखि बेलौरी सडक खण्डमा पनि आवागमन अवरुद्ध भएको छ।

वर्षासँगै कैलालीको भजनी, जानकीनगर, पथरैया, कैलारी, जोशीपुरलगायतका कतिपय बस्तीमा डुबान भएको छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अबिरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, शिवगंगा, कटैनीलगायतका नदीमा पानीको बहाब बढेको छ।

कर्णाली नदीमा मध्यान्हसम्म पानीको सतह १० दशमलब ६५ मिटर (खतराको तहमा) पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिए। खुटिया र मोहना नदीमा पनि पानीको बहाव खतरा तह नजिक पुगेको छ।

कैलाली र डोटीका जिल्ला प्रशासन कार्यालयले शनिबारसम्ममा कैलाली र डोटीसहितका जिल्लामा अतिभारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपाउन अनुरोध गरेको छ। वर्षासँगै धनगढी उपमहानगरपालिका क्षेत्र जलमग्न हुँदा कतिपय बस्तीमा दुई-तीन फिटसम्म पानी जमेर आवागमन असहज बनेको छ। हावाहुरीसहित भएको वर्षाले बिजुलीका खम्बा ढल्दा धनगढीका केही टोलमा विद्युत् आपूर्तिसमेत बन्द भएको छ।

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग दुई दिन लगाएर पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ। बुधबार परेको अविरल वर्षाले कर्णाली राजमार्ग सडक खण्ड अन्तर्गत कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोला, हुल्म र एसमोडमा आएको पहिरो पूर्णरुपमा पन्छ्याएपछि सडक खुलेको्रे सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतनकुमार मण्डलले जानकारी दिए।

उक्त क्षेत्र निरन्तर पहिरो आउँदा राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधनदेखि यात्रुलाई सकसहुने गरेको छ। सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले कालीकोट क्षेत्रका विभिन्न ठाउँमा निरन्तर पहिरो आउँदा राजमार्ग अवरुद्ध हुने गरेको छ।

गगनेखोलामा सबैभन्दा बाढी पहिरो जाने गरेको छ। यो आवमा उक्त क्षेत्रमा सडकलाई स्तरोवृद्धि गरिने भएको छ। राज्यले बजेट विनियोजनमा कर्णाली राजमार्गलाई प्रथामिकतामा राखेको छैन। निर्माण कम्पनीले राम्रोसँग काम नगर्दा वर्षाको याममा सडक अरुवद्ध हुने गरेको सडक डिभिजन कार्यालय सूचना अधिकारी जिटीको भनाइ छ।

राजमार्गको स्तरोन्नति नहुँदा हिउँदमा धुलो र वर्षायाम बाढीपहिरोका कारण यात्रुले सास्ती भोग्नुपर्ने अवस्था रहेको छ। राजमार्गको स्तरोन्नति नहुँदा कर्णालीवासी बाह्रैमास निकै सास्ती खेप्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *