देश र जनताका निम्ति काम गरौंः उपराष्ट्रपति यादव

डिसी नेपाल
२९ भदौ २०८१ १५:४४

नवलपरासी। उपराष्ट्रपति रामसहाय यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताएका छन्।

शनिवार पश्चिम नवलपरासीमा १४९९औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित राष्ट्रिय एकता एवं पैगामे अमन सम्मेलनमा उनले धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गर्नुपर्नेमा जोड दिए।

उपराष्ट्रपतिले भने, “समाजिक कार्य र धार्मिक उत्सवहरुमा सक्रिय सहभागिता र अन्तरघुलन बढाउन जरुरी छ । कुनै पनि धर्मको मूलमन्त्र मानवता, प्रेम, सद्भाव, सहिष्णुता र सहयोग अभिवृद्धि गर्नु हो।”

देशमा शान्ति तथा अमनचयन कायम गर्न दया, करुणा, इमान्दारी, परोपकारी भाव एवं व्यवहार आवश्यक पर्ने उनले बताए। अनेकतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै यो विविधतालाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।

उपराष्ट्रपतिले भने, “देशको चौतर्फी विकासका निम्ति हामीबीच एकता हुन जरुरी छ । एकता नै बल हो भन्ने यथार्थलाई हामी सबैले सधैँ आत्मसात् गर्नुपर्छ।”

विभिन्न धर्मका धर्मगुरुहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा उपराष्ट्रपतिसहित मञ्चासिन सबै धर्मगुरुहरूले शान्तिका प्रतीक परेवाहरू उडाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *