‘सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता छैन’

डिसी नेपाल
२९ भदौ २०८१ १९:१६

त्रिशूली। पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता नरहेको बताएका छन्।

नुवाकोटको अमरज्योति (प्राविधिक) माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले गुणस्तरीय शिक्षा र कृषिउपजको उत्पादन एवम् बिक्री गरेर स्वदेशमा नै मनग्य आम्दानी गर्नसक्ने वातावरण रहेको दाबी गरे। ‘कृषिखेती, पशुपक्षीपालनलगायत पेसा तथा व्यवसायमा आधुनिकीकरण र व्यावसायिकीकरणले ठूलो परिवर्तन हुँदै आएको छ,’ उनले भने, ‘उत्पादित सामग्री बजारसम्म पुर्‍याउन गाउँघरमा व्यवस्थित सडक संरचनाको निर्माणले बजारीकरणको समस्या समाधान हुँदै आएको छ।’

पछिल्ला वर्षमा युवा वर्ग उच्च शिक्षा अध्ययन र सुरक्षित भविष्यको खोजीका नाममा ठूलो रकम लगानी गरेर विदेश जाने लहर बढेको भन्दै पूर्वमन्त्री डा महतले नेपालमै ‘सुन फलाउन’ सकिने अवसर नगुमाउन आग्रह गरे। युवा अवस्थाको जोस, लगानी र विदेशी भूमिमा जस्तै देशमै मिहेनतले गरेमा राम्रो आर्थिक उपार्जन गर्न सकिने उनको धारणा थियो।

‘कृषि उब्जनीले बजार पाउन समस्या छैन । सरकारी अनुदान र सहयोगका कार्यक्रमहरु पनि क्रमशः वृद्धि हुँदै गएका छन्। गाउँगाउँमा सडक स्तरोन्नति हुँदैछन्। काठमाडौंलाई जोड्न सुरुङमार्ग विस्तारको काम भइरहेको छ। गाउँ, जिल्ला हुँदै देशमा क्रमशः विकासको गतिविधि बढ्दै गएको छ। काठमाडौंबाट नजिकको जिल्ला भएकाले यहीबाट विदेश जाने होइन अब स्वदेश फर्कनुपर्छ भन्ने लहर चलाउन लाग्नुपर्छ’, डा महतले भने।

विदेशी मुद्राका लागि विदेश जाने नभइ विदेशी पर्यटकलाई नेपाल भित्र्याएर आर्थिक उपार्जन र देश विकासको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने उनको भनाइ छ। त्यसका लागि सुरक्षा व्यवस्था र आउजाउ सहज बनाउन सरकारले सडक, अन्य भौतिक संरचना निर्माण तथा स्तरोन्नति गर्दै आएकाले युवाको भविष्य स्वदेशमा नै सुरक्षित रहेकामा आफू विश्वस्त रहेको पूर्वमन्त्री डा महतले स्पष्टोक्ति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *