टिप्पणी

ओलीपछि प्रधानमन्त्री शेरबहादुर की आरजू ?

विजयप्रसाद मिश्र
३० भदौ २०८१ १०:१७

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आफ्नो प्रधानमन्त्रीको आयू वर्ष, महिना र गतेसमेत भट्टाइरहेका छन्। नेपाली कांग्रेस र एमालेबीचको सहमति अनुसारको त्यो भट्टाई जायज नै होला।

तर नेपाल हो नेपाल? केपी ओली आफैं प्रधानमन्त्री बन्ने माहौल तयार भइराख्दा उता तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई स्वर्गमा पनि सँगै, …. पनि भनेर राउण्ड किक हानेपछि भने त्यो किक आफै तिर ‘बुम्राङ’ होला कि भन्ने त्रास वर्तमान प्रधानमन्त्रीलाई हुनु स्वभाविक हो।

प्रधानमन्त्रीलाई मात्र होइन तीन करोड नागरिकहरु अहिले मंसिरसम्म त जाला यो सरकार भनिरहेका छन्। दशैं भित्रै, कत्तिक, मंसिर वा वि.सं. २०८१ सालभित्रै वा केपी ओलीले नै मनको लड्डू घीउसँग खाएजस्तो गरेर फलाकी रहेको यति वर्ष, यति महिना र यति दिन भन्ने थेगो मध्ये जुनसुकै दिन सरकार परिवर्तन होस्। तर अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि आरजू देउवा भन्नेमा बहस शुरु भएको छ।

नेपालमा महिलालाई प्रधानमन्त्री बनाउने चाहना सर्वप्रथम प्रदीप गिरिले परिकल्पना गरेका थिए। त्यसपछि गिरिजाप्रसाद कोइरालाले। त्यसपछि फेरि प्रदीप गिरिले। तर पछिल्लो समय मिडियाले र अन्त्यमा कसैको प्रश्नको उत्तर दिने क्रममा केपी ओलीले महिला प्रधानमन्त्री हुँदैछन् भनेकाले पनि यो विषय अहिले जोडतोडले उठीरहेको छ।

प्रदीप गिरिले आफू राजनीतिमा आउने कारणको खुलासा गर्दै पूर्वको एउटा साहित्यिक कार्यक्रममा एकजना महिलालाई नेपालको प्रधानमन्त्री बनाउँछु भनेर आफू राजनीतिमा आएको बताएका थिए। उनले नाम त बताएनन्।

तर उनको यूवा अवस्थामा भारतमा निर्वासन जीवन विताउँदा शैलजा आचार्यसँगको राजनीतिक सम्बन्धका कारण उनले परिकल्पना गरेको महिला प्रधानमन्त्री शैलजा आचार्य हुन भन्ने अड्कल त्यसबेलाको मिडियाले उल्लेख गरेको थियो। शैलजा आचार्य त प्रधानमन्त्रीका लागि लायक पनि थिइन। तर उनी षड्यन्त्रको शिकार भइन्।

त्यसपछि गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री भएकै बेला नेपालमा छिट्टै महिला प्रधानमन्त्री पाउनु हुनेछ भनेर भाषण नै गरे। उनले आफ्नी छोरी सुजाता कोइरालालाई प्रधानमन्त्री बनाउने प्रयास पनि गरे।

प्रतिनिधिसभाको अंकगणित विना हुने अवस्था भएमा शेरबहादुर देउवाभन्दा पहिले आरजू समेत प्रधानमन्त्री हुने विकल्प भने राजनीतिमा जहिले पनि रहन्छ। किन भने राजनीति भनेकै सत्ताको खेल हो। तर पश्चिमा, अमेरिका र भारतको एउटा ठूलो तप्का आरजू देउवालाई प्रधानमन्त्री बनाउन कस्सिएर लागेको छ। पहिले नेपाली कांग्रेसको सभापति बनाएर प्रधानमन्त्री बनाउने कि पहिले प्रधानमन्त्री बनाएर सभापति बनाउने भन्ने कुरा भने अझै बहसको विषय छ।

नेपालको तरल राजनीतिमा नयाँ कोर्ष शुरु गर्न चाहेका गिरिजाप्रसाद कोइरालाले आफ्नी छोरीलाई प्रधानमन्त्री बनाउनका लागि परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री र आफ्नै प्रधानमन्त्रीको काम हेर्ने मन्त्रीको रुपमा पनि नियुक्त गरेका थिए।

सुजातालाई नेपाली सेना र चीनसँग राम्रो सम्बन्ध बनाउन लगाएका गिरिजाप्रसाद कोइरालाले भारतलाई अनुरोध गर्दा दक्षिणबाट ‘नो’ भन्ने आदेश आएपछि छटपटाए। यतिसम्म भयो कि गिरिजाप्रसाद कोइराला विरामी पर्दा भारतमा उपचार गर्न नगई अन्यत्र जानु परेको थियो।

सुजाता पछिल्लो अवस्थामा डा. शेखर कोइराला निकट भएर ताल परेमा चीन र रुशको आर्शीवादबाट प्रधानमन्त्री हुन पाइहालिन्छ कि भनेर राजनीतिमा सक्रिय भइरहेकी छिन्। तर नेपाल हो यहाँ जे पनि हुन्छ। यति मात्र भनौं। सुजाताका बारेमा।

गिरिजाप्रसाद कोइराला पछि फेरि प्रदीप गिरिले नै प्रधानमन्त्रीको परिकल्पना विद्यादेवी भण्डारीका लागि गरेका थिए। विद्यादेवी भण्डारी पहिलो पटक राष्ट्रपतिको लागि चर्चामा आउँदा प्रदीप गिरिले फोन गरेर विद्यादेवी भण्डारीलाई भनेका थिए कि ‘तपाईंले किन हतार गरेको? अहिले राष्ट्रपति बन्ने होइन। पहिले प्रधानमन्त्री बन्नुस्।

त्यसपछि राष्ट्रपति बन्नु होला।’ प्रदीप गिरिको कुरा त्यसवेला त एमालेले नमानेको हो या विद्यादेवी भण्डारीले त्यो त उनीहरुलाई थाहा होला। पत्रकार साथीहरुले विद्यादेवी भण्डारीलाई भेटेर सोध्नु भयो भने सत्य कुरा आउने नै छ। तर अहिले फेरि प्रदीप गिरिले भनेजस्तै विद्यादेवी भण्डारी प्रधानमन्त्रीको दौडमा छन्।

जसरी गिरिजाप्रसाद कोइरालाको जोड चलेको भए सुजातालाई प्रधानमन्त्री बनाउन सक्थे। त्यसैगरी केपी ओलीको जोड चल्यो भने विद्यादेवी भण्डारी प्रधानमन्त्री हुन सक्छिन्। चीनको च्वाइसमा केपी ओलीभन्दा विद्यादेवी भण्डारी छन्। रुसले पनि विद्यादेवी भण्डारी ‘ओके’ भनेको छ।

नेपाली सेनालाई रक्षामन्त्री हुँदादेखि नै विद्यावेदी भण्डारीले ठूलो गुन लगाएकी छिन्। त्यही भएर पछिल्लो समय केपी ओलीले महिला प्रधानमन्त्री भनेको पनि मिडियाले आरजू देउवा तिर देखाएर व्याख्या गरेको भएपनि ओलीको भित्री मनमा विद्यादेवी भण्डारी नै हुन्।

एमाले भित्र विद्यादेवी भण्डारीलाई केपी ओली विरोधी गुट तयार गरेको भनेर भ्रम फिजाएको मात्र हो। उहिले उहिले केपी र माधव गुट फरक फरक देखिन्थ्यो तर भारतलाई आवश्यक परेको बेला अर्थात झलनाथ खनाल अध्यक्षमा उठेको बेला केपी र माधवलाई एउटै गुटमा राखिदिएको थियो।

अहिले पनि गुट बनाएजस्तै गरेको मात्र हो। केपीका विरोधीहरुलाई भरथेग गरेर राख्न वा भीम रावलजस्तालाई पार्टी भित्रै विद्यादेवी भण्डारीको गुटमा मनको लड्डू घीउसँग खाएर बसिराख्न।

त्यसैले नेपालको राजनीतिमा चीन र भारतबीच भएको ‘टूप्लस वान’ को रणनीति हावी भएमा विद्यादेवी भण्डारी र सुजाता कोइरालामध्ये कोही प्रधानमन्त्री भएमा आश्चर्य मान्नु पर्दैन। तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अबको १६ महिनापछि प्रधानमन्त्रीबाट स्वइच्छाले हट्छन् भन्ने हल्ला चलेको बेला ‘टू प्लस वन’ को रणनीति कार्यान्वयन होला?

अन्त्यमा आरजू देउवा प्रधानमन्त्री हुने कुरा उनी भारतको भ्रमणमा गएपछि चुलिएको हो। भारतमा नेपालका प्रधानमन्त्रीलाई भन्दा बढी सम्मान पाएपछि आरजू देउवा अवको प्रधानमन्त्री भनेर नेपाली मिडियाले विश्लेषण गरे।

आरजू देउवा कै सक्रियतामा अहिलेको एमाले र नेपाली कांग्रेसको गठबन्धन भएको सबैले बुझेका छन्। त्यसमा पनि अमेरिकाको साथ सहयोग रहेकोले यो सरकार सम्भव भएको हो।

पछिल्लो समय परराष्ट्रमन्त्री आरजू देउवाले गरेका सबै गतिविधिहरु सफल भइरहेका छन्। बंगलादेशबाट नेपाली विद्यार्थीलाई ल्याउने कुरा होस् या भारतसँग राख्नु पर्ने माग र पाउने पर्ने सम्मानका कुराहरु हुन् उनी सफल भइरहेकी छन्।

विभिन्न मिडियामा आएका परराष्ट्रमन्त्री आरजू देउवाका अन्तर्वार्ताहरुको विश्लेषण नेपालका दिग्गज मानिसहरुले गरिरहेका छन्। उनको भनाइ र विचारहरु सन्तुलित, वैदेशिक सम्बन्धमा सन्तुलन मिलाउन सक्ने हैसियत बोकेकी परराष्ट्रमन्त्रीको रुपमा सबैले पाएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा भागलिन जाने क्रममा परराष्ट्रमन्त्री आरजू देउवा पलिने क्यानाडामा हुने कार्यक्रममा जाने र उतैबाट अमेरिका जाने कुरा छ। दुबै स्थानमा उनले गर्ने सम्बोधनले वैदेशिक सम्बन्ध बढाउन उनी सफल हुने नै छिन्।

वैदेशिक सम्बन्ध विशेष गरेर भारत र पश्चिमा मुलुकमा विद्यादेवी भण्डारी, सुजाता कोइराला र आरजू देउवामध्ये आरजू देउवा कै पकड राम्रो छ भन्ने प्रभाणित भइसकेको छ। अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभवले पनि आरजू देउवालाई प्रधानमन्त्री हुने योग्यता थपिदिएको छ।

स्वयं शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री हुनुमा आरजू देउवाको क्षमता पनि एउटा महत्वपूर्ण कारण हो भन्ने सबैले बुझेकै छैन। यस्तो अवस्थामा नेपालमा जसजसले महिला प्रधानमन्त्री हुने कुरा गर्दा जसजसलाई परिकल्पना गरेको भएपनि पहिले हुने भनेकै आरजू देउवा नै हुन्।

तर कहिले हुन्छिन् त? भन्ने प्रश्न महत्वपूर्ण हो। संविधानले केपी ओली पछि प्रधानमन्त्री कसैले बन्न पाउने आधार शेरबहादुर देउवालाई दिएको छ। संविधानको धारा ७६ को ३ मा प्रतिनिधिसभाको सबैभन्दा ठूलो संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने व्यवस्था गरेको छ।

अहिलेकै सहमति अगाडि बढेमा देरसवेर शेरवहादुर देउवा प्रधानमन्त्री हुने पालोमा छन्। तर यो समीकरण टुटेर माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीसँग मिलेर नेपाली कांग्रेसले सरकार बनाउन चाहेमा राष्ट्रपतिले धारा ७६ को २ अन्तर्गत नै आह्वान गर्ने र त्यसमा पनि शेरबहादुर देउवाले प्रधानमन्त्री हातपार्ने सम्भावना पनि जीउँदै छ। हतार गरेर अगाडि नै प्रधानमन्त्री हुनेकी केपी ओलीले गनिरहेको वर्ष, महिना र दिनलाई नै स्वीकार गरेर जाने भन्ने कुरा नेपाली कांग्रेसको हातमा छ।

जहाँसम्म शेरबहादुर देउवा पहिले प्रधानमन्त्री हुन्छन् कि आरजू देउवा भन्ने सवाल भने पेचिलो छ। उनीहरु दुबै प्रधानमन्त्री हुने सम्भावना छ। तर शुरुमा शेरबहादुर देउवा नै हुन्छन्।

आरजू देउवा प्रधानमन्त्रीमा भन्दा अहिले नेपाली कांग्रेसको सभापतिको दौडमा बढी लाग्न सक्दछिन् वा कोइराला परिवारको डा. शशांक वा डा. शेखर मध्ये कुनैलाई सभापतिमा समर्थन गरेर आरजू देउवाको लागि प्रधानमन्त्री पदको लागि माग गरिने सम्भावना पनि विकल्पको रुपमा हुन सक्दछ।

नेपालको राजनीतिमा संसदीय अंकगणित भन्दा बाहिर गएर कुनै दुर्घटना भएमा भने शेरबहादुर देउवाभन्दा अगाडि नै आरजू देउवा प्रधानमन्त्री बन्न सक्छिन्। वा अरु कोही हुन सक्दछन्। तर संसदीय अंकगणितलाई हेर्दा शुरुमा शेरबहादुर देउवा र धारा ७६ को ५ मा पुगेको अवस्थामा डा. शेखर कोइराला वा आरजू देउवामध्ये कोही हुन सक्दछन्। संविधानले प्रधानमन्त्री हुनका लागि प्रत्यक्ष निर्वाचन नै जीतेको हुनु पर्दछ भनेको छैन। त्यसैले आरजू देउवा पनि प्रधानमन्त्री हुन सक्छन्।

जहाँसम्म शेरबहादुर देउवा र आरजू देउवा मध्ये पहिले को भन्ने सवालमा भने स्पष्ट छ, पहिले शेरबहादुर र पछि आरजू। प्रतिनिधिसभाको अंकगणित विना हुने अवस्था भएमा शेरबहादुर देउवाभन्दा पहिले आरजू समेत प्रधानमन्त्री हुने विकल्प भने राजनीतिमा जहिले पनि रहन्छ।

किन भने राजनीति भनेकै सत्ताको खेल हो। तर पश्चिमा, अमेरिका र भारतको एउटा ठूलो तप्का आरजू देउवालाई प्रधानमन्त्री बनाउन कस्सिएर लागेको छ। पहिले नेपाली कांग्रेसको सभापति बनाएर प्रधानमन्त्री बनाउने कि पहिले प्रधानमन्त्री बनाएर सभापति बनाउने भन्ने कुरा भने अझै बहसको विषय छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *