काठमाडौं इन्द्रजात्रा सुरू (तस्विरसहित)

काठमाडाैं। काठमाडौं उपत्यकामा आइतबारबाट इन्द्रजात्रा सुरु भएको छ। बसन्तपुरस्थित हनुमानढोकामा यःसी अर्थात लिंगाे ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो।
आइतबार बिहान शुभ साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको हो। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिंगो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ।
हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगाे ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ। इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइने गरिएको संस्कृतिका जानकार एवं स्थानीय राजन महर्जनले जानकारी दिए।
काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ। असोज १ गते मंगलबार इन्द्रजात्राको मुख्य दिन हो। उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ। सरकारले उक्त दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
Facebook Comment