‘ममता काफ्ले जीवित छिन् !’ वकिलको दावीले प्रिन्स विलियम काउन्टी कोर्टमा सनसनी

डिसी नेपाल
३० भदौ २०८१ १२:४१

काठमाडौं । अमेरिकाको भर्जिनियाबाट बेपत्ता भएकी नेपाली मूलकी महिला ममता काफ्ले भट्ट जीवितै भएको दावी गरिएपछि त्यहाँको प्रिन्स विलियम काउन्टी कोर्टमा सनसनी फैलिएको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु र अभियोजक वकिलहरुले ममताको हत्या भएको र उनको शव उनका श्रीमानले लुकाएको दावी गरिरहेका बेला अदालतमा श्रीमान नरेशका वकिलले अचानक ममता जीवित भएको दावी गरेपछि केहीबेर सनसनी फैलिएको हो।

अनुसन्धान अधिकारीहरुले अहिलेसम्म ममताको स्पष्ट अवस्था पत्ता लगाउन सकेका छैनन्। उनी जीवित भएको प्रमाण पनि भेटिएको छैन र उनको हत्या गरिएको दावीलाई पुष्टि गर्न उनको शव पनि बरामद भएको छैन।

यस्तो अवस्थामा ममता हराउनुभन्दा केही दिनअघि उनी आफूले काम गर्ने स्वास्थ्य संस्थाबाट बाहिरिँदाको भिडियोका आधारमा नरेशका वकिलले ममता जीवितै भएको दावी गरेका हुन्। शुक्रबार सुनुवाइका क्रममा यो भिडियो अदालतमा पेश गरिएको थियो।

यो भिडियो ममता हराउनुभन्दा ठिक अघि जुलाइ २७ को दिनको भएको बताइएको छ। यो भिडियोमा ममता आफ्नो काम सकेर बाहिरिएपछि एउटा गाडीमा चढेको देखिएको छ।

त्यो गाडी ममताको आफ्नो थिएन र उनका श्रीमानको पनि थिएन। त्यो गाडी कसको थियो र त्यसलाई कसले चलाइरहेको थियो भन्ने स्पष्ट भएको छैन। नरेशका वकिलले अनुसन्धानकर्तासँग यो गाडी र गाडी मालिक तथा चलाउने व्यक्तिको बारेमा जानकारी माग गरेका छन्।

यही भिडियोका आधारमा नरेश भट्टका वकिल शालेव बेल अवरामले ममता जीवितै रहेको र उनी हराउनमा भिडियोमा देखिएको गाडी चलाउने व्यक्ति संलग्न रहेको दावी गरेका छन्।

अदालतले अभियोजन पक्षलाई यो भिडियो नरेशका वकिललाई उपलब्ध गराउन आदेश दिएको छ। नरेशका वकिलले जुलाइ २७ को ममता र नरेश दुवैको जीपीएस रेकर्ड, ममताको फोनको डाटा र उनीहरुको घरमा गएका प्रहरीले शरीरमा लगाएको क्यामेराको रेकर्ड पनि मागेका थिए तर अदालतले यी सबैकुरा दिन नसकिने आदेश दिएको छ।

यो मुद्दामा अर्को सुनुवाइ सोमबार हुनेछ । सोमबार न्यायाधीशले सम्भवतः ट्रायल सुरु हुने मितिको घोषणा गर्न सक्ने बताइएको छ। ट्रायल सुरु हुने मिति आगामी डिसेम्बरदेखि फेब्रुअरीसम्म कुनै पनि समयको दिन सकिने अपेक्षा गरिएको छ।

नरेशका वकिलले हरेक सुनुवाइमा उनलाई धरौटीमा छाड्न माग गरेको भए पनि अदालतले उनलाई हिरासतमै राख्नुपर्ने ठहर गर्दै आएको छ। तर, ममताको शव नभेटिएको अवस्थामा उनको हत्या भएको प्रमाणित गर्न कठिन हुने र अभियोजन पक्षको केस कमजोर हुने तर्क पनि गर्न थालिएको छ ।

यद्यपि शव नभेटिएकै कारण अदालतमा हत्याको आरोपमा ट्रायल सुरु गर्न बाधा नपर्ने यस विषयका विज्ञले बताएका छन्। १२ वर्षसम्म अमेरिकी सरकारमा डिसी क्षेत्रको सहायक महान्यायाधीवक्ताको रुपमा काम गरिसकेका टाड डिबियासेले यो केसमा सरकारी अभियोजन पक्षको केस बलियो भएको बताएका छन्।

डिबियासे आफैंले पनि शव नभेटिएका केसहरुका सरकारी पक्षबाट वकालत गरिसकेका छन् र लामो अध्ययन अनुसन्धानपछि शव नभेटिएका केसहरुको बारेमा किताब समेत लेखिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *